२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

‘मानव र पृथ्वीका लागि जलवायु परिवर्तन खतरनाक’

जलवायु परिवर्तनले मानवकल्याण र पृथ्वीको स्वास्थ्यमा खतरा निम्ताएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले देखाएको छ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आइपिसिसी) ले जलवायु परिवर्तनले पारेका प्रभाव, निम्त्याएको जोखिम तथा अनुकूलन सम्बन्धमा केन्द्रित रहेर सोमबार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो।

यो प्रतिवेदनलाई आइपिसिसीका १९५ सदस्य राष्ट्रले दुई साताको छलफलपछि आइतबार भर्चुअल माध्यमबाट अनुमोदन गरेका थिए। यो प्रतिवेदन आइपिसिसीको छैटौं प्रतिवेदनको दोस्रो भाग हो। आइपिसिसीले सन् १९९८ देखि नियमित रूपमा यस्ता समीक्षात्मक प्रतिवेदन प्रकाशन गर्दै आएको छ।

पहिलो भागअन्तर्गत गत असोजमा वैज्ञानिक प्रतिवेदन सार्वजनिक भएको थियो, जसले पृथ्वीको तापमान अनपेक्षित रूपमा बढेको देखाएको थियो। तेस्रो तथा अन्तिम भाग यो वर्षको अन्तिमतिर प्रकाशन गर्ने तयारी छ।

आइपिसिसीका तीनमध्ये दोस्रो कार्य समूह (वर्किङ ग्रुप) ले तयार गरेको र सोमबार सार्वजनिक गरिएको प्रतिवेदनले मानवीय कारणले सिर्जना भएको जलवायु परिवर्तनले पृथ्वीको प्राकृतिक सन्तुलनलाई बिगारेको तथा जोखिम न्यूनीकरणका प्रयास हुँदाहँुदै पनि विश्वका लाखौं मानिसलाई प्रभावित पारेको औंल्याएको छ।

‘जलवायुजन्य विपद्सँग जुध्न सक्षम नरहेका समुदाय र पारिस्थिकीय प्रणाली सबैभन्दा बढी प्रभावित बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ। ‘यो प्रतिवेदनले हाम्रो निष्क्रियताको परिणाम कति खतरनाक हुन सक्छ भन्ने चेतावनी दिएको छ। मानवकल्याण र पृथ्वीको स्वास्थ्यका लागि जलवायु परिवर्तन कति खतरनाक छ भन्ने यसले देखाएको छ।

अनुकूलन र जोखिम सम्बोधनको क्षेत्रमा तत्काल पहल गर्न आवश्यक देखिएको छ,’ प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आइपिसिसीका अध्यक्ष होइसुङ लीले बताए। अगस्टमा सार्वजनिक गरिएको वैज्ञानिक प्रतिवेदनमा औद्योगिक क्रान्तिअघिको अवधिको तुलनामा पृथ्वीको तापमान १.१ प्रतिशतले बढेको उल्लेख गरिएको छ। वैज्ञानिकले आकलन गरेअनुसार आगामी दुई दशकमा पृथ्वीको तापमान १.५ प्रतिशतले बढेको खण्डमा विश्वमा विविध जलवायुजन्य संकट निम्तिने देखिएको छ।

प्रतिवेदनले तातो हावा, खडेरी तथा बाढीजस्ता जलवायुजन्य विपद्ले वनस्पति र प्राणीको विपद थेग्न सक्ने क्षमताको सीमालाई नाघेको देखाएको छ। ठुलो स्तरमा रूख तथा सामुद्रिक जीवका प्रजाति विलुप्त हुन पुगेको प्रतिवेदनले औंल्याएको छ। ‘विषम मौसमका घटनाले अफ्रिका, एसिया, मध्य तथा दक्षिण अमेरिका साना द्वीप तथा आर्कटिक क्षेत्रका करोडौं मानिसलाई खाद्य तथा पिउने पानीको असुरक्षा बढाएको छ,’ प्रतिवेदनमा भनिएको छ।

जलवायु परिवर्तनका कारण जीवन, जैविक विविधता र भौतिक संरचनामा पर्न जाने नकारात्मक प्रभावलाई रोक्न तत्काल द्रुतस्तरमा पहलको आवश्यकतालाई प्रतिवेदनले जोड दिएको छ। विशेषगरी कम आय भएका देशमा जलवायुजन्य विपद्सँग अनुकूलित हुने क्षेत्रमा आवश्यक पहल हुन नसकेको देखिएको छ। ‘यो प्रतिवेदनले जलवायु, जैविक विविधता र मानिस एकअर्कामा अन्योन्याश्रित रहेको देखाएको छ।

यसमा प्राकृतिक, सामाजिक तथा आर्थिक विज्ञान जोडिएका छन्। जलवायुको जोखिम र अनुकूलनको क्षेत्रमा कमजोर प्रतिकार्य स्वीकारयोग्य छैन,’ आइपिसिसीका अध्यक्ष होइसुङ लीले भनेका छन्। प्रतिवेदनले जलवायु परिवर्तनको नकारात्मक प्रभावसँग अनुकूलित हुन विभिन्न उपायसमेत सुझाएको छ। पृथ्वीको ३० देखि ५० प्रतिशत जमिन, स्वस्थ पानी तथा सामुद्रिक वासस्थानको संरक्षण गर्न सके प्रकृति आफैँले कार्बन सोस्ने र भण्डारण गर्ने तथा दिगो विकासका प्रयासलाई तीव्रता दिन सके संकटसँग जुध्न सहयोग पुग्ने देखिएको छ। प्रतिवेदनमा वैज्ञानिकले प्राकृतिक संसाधनको दिगो उपयोगको अभाव, बढ्दो सहरीकरण, सामाजिक असमानताजस्ता विषय जलवायु परिवर्तनसँग प्रत्यक्ष जोडिएको बताएका छन्। यसैगरी विषम मौसमले निम्त्याउने हानिनोक्सानीको विषय उत्तिकै महत्वपूर्ण रहेको ठम्याइ प्रतिवेदनको छ।

‘सरकार, निजी क्षेत्र र नागरिक समाज सबै मिलेर यी चुनौतीको सामना गर्नु आवश्यक छ,’ आइपिसिसीको सहअध्यक्ष डेब्रा रोबर्टसले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भनिन्। वैज्ञानिक तथा प्रविधिगत समाधान सँगसँगै स्थानीय तथा परम्परागत ज्ञानको उपयोगमा उनले जोड दिइन्।

विश्वका सहरहरूमा ठुलो जनसंख्या रहेको परिप्रेक्ष्यमा जलवायुजन्य जोखिम पनि सहरमा बढ्दै गएको हुँदा यसलाई योजनाबद्ध हिसाबमा सम्बोधन गर्नुपर्ने आवश्यकतालाई पनि प्रतिवेदनले औंल्याएको छ। यसैगरी जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई थेग्न सक्ने क्षमता बढाउन प्रतिवेदनको जोड छ। ‘वैज्ञानिक प्रमाण प्रस्ट छन्, मानव हित र पृथ्वीका लागि जलवायु परिवर्तनले ठुलो चुनौती ल्याएको छ। तत्काल पहल नगर्दा भविष्यमा यो झन् कठिन बन्नेछ,’ आइपिसिसीका अर्का सहअध्यक्ष हान्स ओटो पोर्टनरले भने।

प्रकाशित: १८ फाल्गुन २०७८ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App