१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सप्तकोसी बैंक घोटला: सिइओसहित ३ थुनामा १ जना धरौटीमा रिहा

सप्तकोसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित ३ जना कर्मचारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले शुक्रबार आदेश दिएको छ। उनीहरुसँगै पक्राउ परेका १ जना कर्मचारीलाई धरौटीमा छाड्ने आदेश भएको हो।

बैंकमा भएको घोटलाको अनुसन्धानका क्रममा बैंकका सिइओ नवीन सुवेदी, लेखा प्रमुख देवीप्रसाद भण्डारी, जनरल सर्भिस डिपार्टमेन्ट (जिएसडी)प्रमुख हिमाल भट्टराई र अपरेसन प्रमुख अमित थापा मगरलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकाहरुविरुद्ध प्रहरीले ‘बैंकिङ कसुर’मा उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको थियो।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त वाणिज्य इजालसले सुवेदी, भण्डारी र भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने मगरलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो। अदालतका सुपरिटेन्डेन्ट ओमराज सुवेदीका अनुसार अदालतको आदेशपछि सुवेदी, भण्डारी र भट्टराई पुर्पक्षका लागि मोरङ कारागार चलान भए भने मगर धरौटीमा छुटेका छन्।

बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरी १२ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो। बैंकको रकम घोटाला गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता भए पनि ५ जना पक्राउ परेको र ४ जनाको हकमा अदालतबाट आदेश भइ सकेको छ। पक्राउ परेकामध्ये होमप्रसाद पौडेललाई कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा रहेको र कोरोना नेगेटिभ भएपछि अदालतमा हाजिर गराउने मोरङ प्रहरीले जनाएको छ।

घोटाला काण्डमा अन्य ७ जना फरार रहेका छन्। बैंकको कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकको कार्यालय सहयाक पदबाट राजीना दिएका निश्चल सुवेदी, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराई फरार रहेको प्रहरीले जनाएको छ।

बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो। अपचलन भए बराबरको रकम प्रतिवादीहरुबाट बैंककलाई भराइ दिनुपर्ने र सोही बराबरको जरिमाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय माग दाबी गरी मुद्दा दायर गरिएको छ।

अनुसन्धानका क्रममा उनीहरुले २०७२ देखि २०७८ मंसिरसम्म १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला गरेको देखिएकोमध्ये रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९ सय ७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५ सय ९८ रुपैयाँ देखिएको छ।

काबेली विकास बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक एकीकृत भएपछि सप्तकोसी डेभलपमेन्ट बैंक लि नामबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रुपमा कारोबार हुँदै आएको छ। दुबै बैंक एकीकृत भएपछि नयाँ व्यवस्थापनले मंसिरदेखि बैंकका सम्पूर्ण कारोबार हेर्न थालेपछि बैंकमा लामो समयदेखि भइरहेको घोटाल बाहिएको हो। प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालयबाट सेवा प्रवाह भइरहेको छ।

प्रकाशित: १४ फाल्गुन २०७८ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App