२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चराको हुलले ४५ मिनेटसम्म जहाज धावनमार्गमै रोकियो

तीनमिनेट ढिला भएको भए जहाज पोखरामै रोकिन्थ्यो

चराका कारण बुधबार बेलुकी पोखरा विमानस्थलमा अबेरसम्म रोकिएको बुद्ध एयरको जहाज। तस्बिरः नागरिक

चराका कारण हवाई उडान कतिसम्म प्रभावित हुन्छ भन्ने बुधबार पोखरा विमानस्थलको घटनाले देखाएको छ। पोखरा विमानस्थलको धावनमार्गमा आएका चराको हुलको अवरोधका कारण उड्ने अन्तिम तयारीमा रहेको जहाज झन्डै ४५ मिनेट विमानस्थलमै रोकिएको छ। केहीगरि थप तीनमिनेट उडान रोकिएको भए जहाजको बासै पोखरामा हुन्थ्यो।  

पोखरा विमानस्थल श्रोतका अनुसार बुद्ध एयरको ‘९एन एएमवाइ’ कलसाइनको उडान नम्बर ६१८ को एटिआर–७२ जहाजको पोखरा विमानस्थलबाट उड्ने समय बेलुकी ५ बजेर १५ मिनेटमा थियो। त्यसका लागि सबै यात्रु चढाएर जहाज स्टार्ट गरेर उडान भर्नका लागि रनवे २२ (भरतपोखरी हुँदै उड्ने) को अन्तिम बिन्दुमा पुगेको थियो। जहाजले गति लिनै थाल्दा एकाएक धावनमार्गमा चराको बथान आएपछि जहाजले केही समय पर्खियो। त्यसपछि चरा उड्ने प्रतिक्षामा जहाज धावनमार्गमै रोकियो । त्यो बीचमा चरा धपाउने प्रयास भयो।

तरपनि लामो समय चरा नभागेपछि जहाज पुन पार्किङमा फर्कियो। पार्किङमा फर्केको जहाजले यात्रुलाई भने झर्न रोक्यो। त्यो बीचमा चरा धपाउने प्रयाप्त प्रयास भयो। तर, चील र कागको बथान एकातिरबाट धपाउँदा अर्काेतिर गएर बस्ने गरेर चराले अटेर गरिरहे। त्यति गरिहँदा झन्डै ४५ मिनेट बित्दै थालेको थियो। जहाजले पोखराको धावनमार्ग बेलुकी ६ बजेर ३ मिनेट अघि नै छाड्नुपर्ने अवस्था थियो। किनकी त्यो भन्दा ढिला भए जहाज पोखरामै रोकिन्थ्यो । यात्रु पनि गन्तव्यमा जान पाउने थिएनन। उडान रद्द गर्ने की के गर्ने भन्ने दोधार भईरहेको थियो।

समय घर्किदै जाँदा रनवे २२ मा चरा कम भएको देखेपछि क्याप्टेनले रनवे ०४ (काहुँ पर्खेर) उडन खोज्ने प्रयास पनि गरे। तर ०४ बाट उड्न खोज्दा भार घटाउनु पर्ने बारे छलफल पनि भयो। तरपनि ५५ जना यात्रु बोकेको जहाजले यात्रु भने झारेन। सकेसम्म चरा धपाउने प्रयास त्यो बीचमा चलिरहँदा बल्लतल्ल चरा भागे। दुईवटा गाडीमा सुरक्षाकर्मी र बुद्धका कर्मचारी, विमानस्थलका कर्मचारी खटिएपछि बल्लतल्ल चरा उडेपछि रनवे २२ बाट ५५ जना यात्रु बोकेर जहाज काठमाडौं उडेको थियो। ५ बजेर ५९ मिनेटमा जहाजले भूइँ छाडेको थियो। ‘तीनमिनेट मात्र ढिला भएको भए जहाजको बास पोखरामा हुने थियो,’श्रोतले भन्यो।  

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार यसैपनि यो जहाजको उडान तोकिएको समय भन्दा पहिल्यै आधा घण्टा डिले भएको थियो। उडान ढिला हुँदै जाँदा बेलुकी सवा ५ बजेको उडान समय तय भएको थियो। ‘झन्डै४५ मिनेट ढिला गरि उडान भएको हो। चराका कारण उडान समय केही पछाडि सरेको हो,’ सुवेदीले भने, ‘सुरक्षित उडानका लागि यी सबै प्रयास भएका हुन । हवाई उडानमा जोखिम मोल्ने अवस्था आउनु भएन।’

उनका अनुसार गुण एयरको बीचक्राफ्ट र बुद्धको जहाजले एकैपटक स्टार्टअप लिएका थिए। तर, गुणको जहाज रनवे ०४ बाट उडान भरे लगत्तै बुद्धको पालो आएको थियो। बुद्धको जहाज उड्ने तयारी गर्दैगर्दा एकाएक चरा आएको उनले बताए। ‘एकाएक सयौंको संख्यामा चरा आएर धावनमार्गमा बसेका कारण उडान केही समय रोकिएको हो,’ सुवेदीले भने।‘  

सुवेदीका अनुसार विमानस्थलका चरा धपाउने गरि डिभाइस राखेको भएपनि चराले अटेर गरेका थिए। अहिले विमानस्थलमा चरालाई त्रसाउने गरि राखिएको उपकरण रनवे २२ तिर मात्र छ। ती उपकरण धावनमार्गकै दुईतिरको बिन्दुमा हुनुपर्छ। ‘पोखरा विमानस्थलमा चराको समस्या सधैं हो । पानी परेपछि धावनमार्गमा किरा देखिन थालेपछि चराको मुभमेन्ट बढी हुन्छ। साँझको समयमा खुला ठाउँमा रमाउने भएकोले चरा आएका हुन,’ सु्वेदीले भने।

बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पनि चराका कारण उडानमा समस्या भएको बताए। चराका कारण ४५ मिनेट जति जहाज रोकिएको बरालले बताए। ‘उड्नै लागेको जहाजलाई रोक्नेगरि चराको बथान धावनमार्गमा आए,’ बरालले भने, ‘एकातिर धपाउँदा अर्काेतिर गएर बस्ने गर्दा सकस भयो। झन्डै ४५ मिनेट रोकिएर जहाज उड्यो।’  

केही बेर थप रोकिनुपरेको भए जहाजको पोखरामै बास हुने अवस्था आउने उनले बताए। ‘गाडीमा दौडेको भरमा चरा धापाउने प्रयास निकै नै सकसपूर्ण बन्यो,’ उनले भने। यो समस्या निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पर्ने भएकोले अहिले नै सचेत हुनुपर्ने उनले सुनाए। उनका अनुसार बुधबार धावनमार्गमा पुतलीजस्ता किरा उडेका थिए। तिनै किरा खान चरा आएका थिए।  

प्रकाशित: ११ फाल्गुन २०७८ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App