२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पाको जंगलमा द्वन्द्वकालीन मानव चिहान

रोल्पा समदमुकामनजिकै भेटिएको मानव चिहान। तस्बिरः दिनेश/नागरिक

रोल्पा सदरमुकामनजिकै मानव चिहान भेटिएको छ। उक्त चिहान तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका समयमा सेनाद्वारा मारिएकाहरूको हुनसक्ने स्थानीयले दाबी गरेका छन्। कुनै समय ठूलो खाडल रहेको रोल्पा नगरपालिका–४ कालिमाटी गाउँको कालिपोखरा जंगलमा ठूलाठूला ढुंगाले पुरिएको अवस्थामा मानव कंकाल, हाडखोर र कपडा प्रष्ट देख्न सकिन्छ।

स्थानीयका अनुसार २०५९ सालको फाल्गुन–चैतताका उक्त क्षेत्रमा सेनाले गोली चलाएको थियो। सोही दिनदेखि बेपत्ता भएका रोल्पा नगरपालिका–१ हरिगातिनाका ३ जनाको हत्या गरी खाडलमा पुरेको उनीहरूको दाबी छ। एक स्थानीयका अनुसार चिहान भेटिएको स्थानभन्दा अलि पर पनि अर्को एकजनाको चिहान रहेको स्थानीय बताउँछन्।

केही समयअघि घाँसदाउरा गएका स्थानीयले खाडलमा मानव चिहान देखेका थिए। उनीहरूले घरगाउँमा चिहानका बारेमा बताएपछि हल्ला फैलिएको हो। एक प्रहरी अधिकारीका अनुसार द्वन्द्वकालीन चिहानको आशंका गरिएमा बेपत्ता आयोगसँगको समन्वयमा कानुनी प्रक्रिया पूरा गरी उत्खननको काम हुनेछ। 

रोल्पामा द्वन्द्वका समयमा ९ सय ६९ जनाको मृत्यु र ३३ जना बेपत्ता भएको सरकारी तथ्यांक भए पनि बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगमा १ सय २६ जनाले उजुरी दिएका छन्।

शान्ति स्थापना भएपछि गठित शान्ति तथा पुनर्निर्माण मन्त्रालयले मृतकलाई १० लाख राहत दिने भनेपछि रोल्पाका धेरै बेपत्ता परिवारले मृत्यु दर्ता गराएका कारण सरकारी तथ्यांकमा ३३ जनाको मात्र नाम रहेको हो।

परिवर्तनका लागि भन्दै २०५२ सालमा सुरु भएको माओवादी द्वन्द्वका घाउ आज पनि समय समयमा प्रष्ट देख्न सकिन्छ। सदरमुकामनजिकै माओवादीका नाममा मारेर गाडिएका आम सर्वसाधारणको अवस्थाका बारेमा स्थानीयलाई पर्याप्त जानकारी छ। तर त्यसको अनुसन्धानका बारेमा कोही कसैले चासोसमेत दिने गरेका छैनन्।

बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगका आयुक्त डा. गंगाधर अधिकारीले नागरिकसँग कुरा गर्दै भने, ‘द्वन्द्वकालीन चिहान भएको भए आयोगका तर्फबाट अनुसन्धान थालिनेछ।’  

माओवादी कमाण्डर प्रचण्ड पटकपटक प्रधानमन्त्री बने, जनसेनाका कमाण्डर रोल्पाली नेता नन्दबहादुर पुन दोस्रोपटक उपराष्ट्रपति छन्। युद्धमा योगदान दिएका भनिएका रोल्पाली कृष्णबहादुर महरा पटकपटक मन्त्री हुँदै सभामुखसम्म पुगे भने नेतृ ओनसरी घर्ती पनि मन्त्री हुँदै सभामुख बनिन्।

रोल्पाकै नेता वर्षमान पुन पटकपटक मन्त्री भए भने कुलप्रसाद केसी अहिले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री छन्। तर उनीहरू सबैले द्वन्द्वका घाउ भुलेको देखिन्छ।

युद्ध लडाएकाहरूले पदमा पुगेपछि उनिहरूकै कारण वर्षौंदेखि चिहानमा पुरिएकाहरूका बारेमा कहिल्यै सोधखोजसमेत गरेका छैनन्। एक स्थानीय भन्छन्, ‘तिनै बेपत्ताका घरमा पटकपटक चुनावका लागि भोट माग्न जाने नेता कार्यकर्ता फेरि पनि भोटको भिख माग्न जानेछन् तर चिहानका बारेमा कुनै चासो दिने छैनन्।’ उनका अनुसार ‘चिहानमा गाडिएकाहरूका परिवार आज पनि आफन्त फर्केर आउने आशामा छन्। समय समयमा त्यो परिवारमा चुह्लोसमेत जल्न हम्मेहम्मे पर्छ तर रगतको मूल्य मतदान गर्नु मात्र भएको छ।’ 

आज पनि द्वन्द्वकालीन बमहरू समयसमयमा बिस्फोट हुने, ठाउँठाउँमा मानव चिहान भेटिनु पनि रोल्पाका गाउँहरू असुरक्षित छन् भन्ने प्रमाण हो। चुनाव सकिएर घर छेउमा आएका भनिएका स्थानीय सरकार, अलि परको प्रदेश सरकार अनि आम सर्वसाधारणले छुनै नसक्ने केन्द्र सरकारले द्वन्द्वका मुद्दा र द्वन्द्वपीडितसँगको दुरी बढाउँदै लगेको द्वन्द्व पीडितहरूको गुनासो छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App