२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मतदान स्थलहरु अपांगमैत्री हुन आवश्यक

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटून भन्नेमा सचेत रहेको बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले कोही पनि मतदाता निर्वाचनमा मतदान गर्न नछुटून भन्नेमा सचेत रहेको बताएका हुन्।

उनले सबै मतदान स्थलहरु अपांगमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको र त्यो भए/नभएको परीक्षण गर्नका लागि अनुगमन गर्ने व्यवस्था पनि गरिएको बताए। नेपाल अपांग महिला संघका पदाधिकारीहरुसँग आइतबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी स्थानीय तहको निर्वाचनको मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई सहज हुने व्यवस्था गर्ने, सुत्केरी तथा गर्भवती महिलाहरुका लागि पनि विशेष व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘मतदानको विषय भनेको मानव अधिकारको विषय हो। हामी चाहन्छौं–मतदानमा कोही छुट्नु हुन्न। मतदातामा नामावलीमा कोही छुट्नु हुन्न। यो नछुटनका निम्ति हामीले कसरी हाम्रो क्रियाकलापहरु संचालन गर्नुपर्छ? त्यसका लागि सरोकारवाला संस्थाहरुसँगको सहयोगमा काम गर्ने हो। त्यो काममा लागि अहिले हामीले सबै मतदान स्थलहरु करिव ११ हजार रहेका छन्। ती सबै मतदान स्थलहरु अपांगमैत्री हुनुपर्दछ। महिलामैत्री हुनुपर्दछ। ज्येष्ठ नागरिकलाई सहज हुने हुनुपर्दछ। सुत्केरी र गर्भवती महिलाका लागि विशेष व्यवस्था गरिनु पर्दछ भनेर नीतिगत रुपमा व्यवस्था गरेका छौं। त्यसलाई कार्यान्वयन हुने गरी अनुगमनको व्यवस्था मिलाउने प्रबन्ध गरेका छौं।’

त्यस अवसरमा नेपाल अपांग महिला संघका पदाधिकारीहरुले सबै मतदान केन्द्र अपांगमैंत्री हुने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेको थियो। निर्वाचन आयोगसँग अपांगमैत्री मतदान केन्द्र र उनीहरुको प्रतिनिधित्व सबै स्थानीय तहमा सुनिश्चित हुने गरी आगामी निर्वाचनमा आवश्यक व्यवस्था मिलाउन माग गरिएको संघकी अध्यक्ष टीका दाहालले जानकारी दिए। संघले अपांगता भएका व्यक्तिहरुका लागि सहज हुने खालको निर्वाचन सम्बन्धि सामग्रीहरु बनाउन पनि आयोगको ध्यानाकर्षण गराएको छ। 

प्रकाशित: ८ फाल्गुन २०७८ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App