उदपुरको कटारीमा सञ्चालित ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’का विद्यार्थीहरुले नेपालमा लोप हुँदै गएको वन्यजन्तु ‘सालक’ संरक्षण गर्न अभियान थालेका छन्। सालक संरक्षणका लागि ‘बन्यजन्तु संरक्षण समाज कटारी उदयपुर’मा आवद्ध विद्यार्थीहरुले अभियान थालेका हुन्।
शनिबार अर्थात १९ फेब्रुअरीका दिन परेको ‘अन्र्तराष्ट्रिय सालक दिवश’को अवसरमा विद्याथीहरुले कटारी बजारमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेर अभियान चलाउने निधो गरेका हुन्। डिभिजन वन कार्यालय त्रिवेणी, कटारीको सहयोगमा समाजले सालकसम्बन्धी जनचेतनामूलक गतिबिधि गर्दै संरक्षण अभियानको थालनी गरेको हो।
कार्यक्रममा समाजले लोपोन्मुख वन्यजन्तु सालको संरक्षण गर्ने सन्देशमूलक गतिबिधि गरेर देखाएको थियो। जस अनुसार जनचेतनामूलक सन्देशसहितको र्याली, पर्चा पम्प्लेट टाँस्ने तथा सालक बचाउबारे बृत्तचित्र प्रदर्शनी गरिएको थियो। समाजले उदयपुमा पाइने सालकबारे र संरक्षणका उपायबारे अध्ययन अनुसन्धान गरिरहेको अध्यक्ष विशाल भण्डारीले बताए। उनका अनुसार विश्वमा ८ प्रजातिका सालक पाईने गरेकोमध्ये नेपालमा तामे र कालो २ प्रजातिका पाइने गरको छ।
डिभिजन वन त्रिवेणीका प्रमुख (डिएफओ) फडिन्द्रप्रसाद पोखरेलका अनुसार केही दशकअघिसम्म जताततै पाइने सालक अहिले चोरी सिकारी र वासस्थान अभावले लोपोन्मुख अवस्थामा पुगवेको बताए। उनले डिभिवन वन कार्यालयसँग यसको संरक्षणका लागि बजेट नभएकाले ठोस गतिबिधि गर्न नपाइएको बताए। सालकको चोरी सिकारी, किनबेच वा कुनै पनि हानी हुने खालका काम गरेमा ५ देखि १० लाख रुपैयाँसमम जरिवाना ५ देखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको डिएफओ पोखरेलले बताए।
नेपालको चुरे पहाड, खोँच तथा महाभारत श्रृङ्खलाका बेँसी र भित्री खोंच क्षेत्रमा सालक पाइने गरेको छ। सुरुङ खनेर धमिरा (एक प्रकारको कमिला) लाई आहारा बनाउने र सुरुङभित्रै वास बस्ने यो वन्यजन्तु किसानको साथी मानिने भए पनि चेतना अभावका कारण किसानले नै मारेर खाने गर्दा लोप हुँदै गएको हो। आगामी दिनमा बजेट व्यवस्थापन गरेर यसको संरक्षण अभियानमा साथ दिने डिएफओ पोखरेलले प्रतिबद्धता जनाएका छन्।
नेपालको संरक्षित वन्यजन्तुमा सूचिकृत सालकको खुलेआम चोरी सिकारी हुने गरेको हुनाले दिनदिनै लोप हुँदै गएको स्थानीय बताउँछन्। कटारी २ स्थित सीतापोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद गौतमले चोरी सिकारीसँगै वन विनाश, बाढी पहिरो र डढेलोजस्ता प्राकृतिक बिपत्तीले पनि सालक लोप हुँदै गएको बताए। यसको संरक्षणमा वन कार्यालयसँगै, सामुदायिक वनहरु, विद्यार्थी, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवाला निकाय र व्यक्तिको सामुहिक प्रयास हुनुपर्ने गौतमले बताए।
समाजका अनु्सार सालक उदयपुरको चुरेक्षेत्रका वनहरुमा पनि रहेको अध्ययनले देखाएको छ। त्यस्तै धादिङ, काभ्रेपलाञ्चोक, गोर्खा, रामेछाप, संखुवासभा र सिन्धुलीमा पनि सालक पाइने अध्ययनमा संलगन विद्यार्थीहरु बताउँछन्। अध्ययन अनुसन्धानबाट जिल्लामा सालक पाइने निश्कर्ष निकाल्दै विद्यार्थीहरुले यसको संरक्षणमा जुट्न सबैसँग आग्रह गरेका छन्। तर, सरोकारवाला निकाय र व्यक्तिहरुको सहयोग नभए यसको संरक्षण गर्न चुनौति देखिएको समाजले जनाएको छ।
प्रकाशित: ८ फाल्गुन २०७८ ०६:३६ आइतबार