४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाका सबै स्थानीयतहमा स्याउ सुपरजोन कार्यक्रम

जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ। यसअघि जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो। सुपरजोन कार्यक्रम सुरु भएको पाँच वर्षपछि सिँजा क्षेत्रमा लागू भएको हो।  

सुपरजोन कार्यक्रम निमित्त प्रमुख गंगा पोखरेलले सिँजा क्षेत्रको हिमा, सिँजा, कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागू भएको बताइन्। उनका अनुसार पातारासी गाउँपालिकाका १,२, र ३ र गुठिचौरका १ र २ वडामा लागु गर्न समेत प्रत्र प्राप्त भएको छ। धेरै वर्ष प्रयास भयो। बल्ल पत्र प्राप्त भएको छ। उनले भनिन्,‘अब प्रदेश (ख) का चार स्थानीय तहमा कार्यक्रम लागु गर्ने कानूनी बाटो खुलेको छ। सबै तिर कार्यक्रम लागु भएपछि किसान उत्साहित छन्।’

प्रधानमन्त्री कृषि आधुकिकरण परियाजना कार्यान्वयन ईकाई खुमलाटारका निर्देशक बैकुण्ठ अधिकारीद्धारा हस्ताक्षरित पत्र जुम्ला पुगेको छ। जिल्लामा सञ्चालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको पत्र र  जिल्ला परियोजना कार्यन्वयन तथा अनुगमन समितिले कार्यक्षेत्र विस्तारको लागि सिफारीस गरेको थियो।    

 निर्देशक अधिकारीले स्थानीयस्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिञ्जा, कनकासुन्दरी र छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको बताए। उनले भने,‘ निर्णय गर्न केही ढिला भयो। यो वर्ष थोरै क्रियाकलाप हुनेछन्। अर्को आर्थिक वर्षबाट पूर्णरुपमा कार्यक्रम कार्यन्वयन हुनेछ।’

परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित गर्नु हो। आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने हो, उनले भने,‘जसअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यन्वयन ईकाइ स्थापना गरी काम भईरहेको छ। ’

प्रमुख कृषि क्षेत्रहरुको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्यात योग्य कृषि वस्तुहरुको मुल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक बजारमा लैजाने ध्यायले सुपरजोन कार्यक्रमले किसानलाई प्रविधि सिकाउने, अनुदान कार्यक्रम दिने काम गर्दै आएको छ। सुपरजोन कार्यालयका निमित्त प्रमुख पोखरेलले स्याउसँगै आर्थिक समृद्धि जोडिएको जुम्लामा परियोजनाले विस्तृत अध्ययन गरेर पिछडिएको सिञ्जा क्षेत्रमा कार्यक्रम लागु गर्ने बताइन्।

कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागु समेत गरिएको छ। सिमीको उत्पादन वृद्धि तथा बजारीकरणका लागि कार्यक्रम तिला  १ र २ मा कार्यक्रम लागु गरिएको हो। सुपरजोन स्थापना भएपछि कृषि प्रविधि, हाईटेक नर्सरी, घेरावार, सिचाई, विरुवा अनुदान लगायतका कामहरु भईरहेका छन्।

राज्यको लगानीमा संचालित परियोजनामा भने प्रयाप्त जनशक्ति नहुनु, बजेट पनि वास्तविक व्यवसायीकरणका लागि अपुग हुने गरेको किसान अगुवाको गुनासो छ। सिँजा क्षेत्रका किसान गोपाल रोकायाले सुपरजोन परियोजनामा प्राप्त बजेट र जनशक्ति हुनुपर्ने आवश्यक रहेको र सरकारले प्रथामिकता दिनुपर्ने बताए। 

प्रकाशित: ५ फाल्गुन २०७८ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App