८ वैशाख २०८१ शनिबार
समाज

राजस्वका प्रमुखले तस्कर चिनेर आवेशमा आएपछि....

तस्कर भाग्ने क्रममा समातेर पिट्दा हातमा चोट लागेका राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीका प्रमुख तीर्थराज खनाल। तस्बिर: नागरिक

तस्कर समूह र प्रहरीबीच पूर्वका सीमावर्ती क्षेत्रमा श्रृखलाबद्द रुपमा झडप तथा आक्रमणका घटना बेला बेलामा हुने गरेका छन्। तर, मंगलबार दिउँसो भने राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा फरक घटना हुन पुगेको छ।  

सशस्त्र प्रहरीले नै तस्करी गर्ने समूहका व्यक्तिलाईं लिएर राजस्व अनुसन्धान कार्यालय प्रमुख तीर्थ खनालको कार्यकक्षमा पुगे। प्रमुख खनालको कार्यकक्षमा सशस्त्र प्रहरी बल ४ नं. बाहिनीका सइ गणेश खड्काले टेलिफोन गरि  सशस्त्र प्रहरी सहायक हवल्दार थमबहादुर गिरीमार्फत देवानगञ्ज वडा नं. ५ का सन्तोष यादव लिएर पुगे। गिरीले यादवलाई कार्यालय प्रमुखको कार्यकक्षमा लगेपछि सोधीखोजी सुरु भयो। त्यस क्रममा यादवले भने, ‘म चिनी, सुर्ती र गुट्खा यताको उता गर्छु।’ यादवले त्यसरी खुलामखुल्ला नियमकारी निकायका प्रमुखलाई चुनौती दिएपछि खनाल आवेशमा आएर हप्कीदप्की गरेपछि उनीहरु भाग्न खोजे।

भाग्न खोज्दा समातेर पिट्दा उल्टै कार्यालय प्रमुख खनालको दाहिने हातको बुढी औला फ्याक्चर भएको छ। द्रेवे हातमा चोट लागेको छ। कार्यालय प्रमुखको कार्यकक्षबाट भाग्न सफल भएका यादव र प्रहरी सहायक हवाल्दार गिरी राजस्व अनुसन्धानको कार्यालयमा डियूटी बस्ने प्रहरीको आँखा छलेर तत्काल भाग्न सफल भए। डियूटीमा खटिएका सशस्त्र प्रहरीले घटना भएको सुर्ईको नै नपाएको जानकारी दिए।  

तीन महिनाअघि राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा आएका खनालका अनुसार राजस्वले गस्ती गर्ने क्रममा सवैभन्दा बढी असहयोग सशस्त्र प्रहरीबाट भएको छ। प्रदेश नं. १ का जिल्लामध्ये सुनसरीका विभिन्न नाकाबाट विशेषगरी चिनी, युरिया मल, सख्खर, कपडा, सुर्ती, गुट्खा, रजनीगन्धाजस्ता पदार्थको चोरी पैठारी हुने गरेको छ। यी सामान सुनसरीको विशेषगरी, लौकही, घुस्की, देवानगञ्ज र कप्तानगञ्ज नाकाबाट भित्रिने गरेको छ। राजस्वको गस्ती टोली पुग्दा सशस्त्र प्रहरीले नै अग्रीम सूचना चुहाउने गरेको कार्यालय प्रमुख खनालको दावी छ।

सशस्त्र प्रहरी बल ४ नं. बाहिनीका सइ गणेश खड्काले भने चिनजानकै व्यक्ति आएर राजस्वका प्रमुखसमक्ष चिजान गर्ने भनेपछि टेलिफोन गरी दिएपनि अरु घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। यसैबीच, सुनसरीकै हरिनगर गाउँपालिकाको घुस्कीका नसरुद मिया, जमसेद आलमले आफूहरू चिनीको कारोबार गर्ने र सेटिङ मिलाउनुपर्ने भन्दै राजस्व कार्यालयमै आएकाले उनीहरूलाई समेत नियन्त्रणमा लिएर बयान लिइराखिएको जानकारी दिइयो।

राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीले साउनयता मात्रै २० हजार किलो चिनी १६ लाख मूल्य बराबरको बरामद गरेको तथ्याङ्कमा उल्लेख छ। यस्तै, आठ लाख बराबरको कपडा, सुर्ती तथा लागूऔषधजन्य पदार्थ दुई लाख बराबरको बरामद गरिएको तथ्याङ्क छ। यस्तै, भिसिटीएस जरिवानाबापत ५२ लाख ९५ हजार असुलेको छ भने राजस्व चुहावटसम्बन्धी १४ करोड बिगो दावीसहित मुद्दा पेस गरिएको छ। अन्य ५० हजारभन्दा मुनीका विभिन्न मुद्दामा तीस लाख बराबरको मुद्दा दर्ता गरिएको छ।  

 

(साथमा तस्बिर पनि छ।)

 

 

प्रकाशित: ३ फाल्गुन २०७८ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App