२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘ल्याण्डफिल साइट’ पोखरालाई टाउको दुखाई

विमानस्थल तयार भइसक्दा ल्याण्डफिल साइट सार्ने टुंगो लागेन

पोखरा–१४ को बाच्छेबुडुवामा सहरको फोहर व्यवस्थापन गरिरहेको ल्याण्डफिल साइट। तस्बिरः नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। तर, विमानस्थल संचालनमा बाधक मानिएको वर्षाैदेखिको एउटा समस्या भने ज्यूँ का त्यूँ छ। त्यो हो–विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन। पोखरा महानगरले वर्षाैदेखि सहरको फोहर व्यवस्थापन गरिरहेको बाच्छेबुडुवास्थित ल्याण्डफिल साइट अझ व्यवस्थापन गर्न सकेको छैन।  

विमानस्थल संचालनका लागि तयारी भइरहँदा फोहर व्यवस्थापनको टुंगो भने अझै लागेको छैन। ‘ल्याण्डफिल साइट’ पोखराका लागि टाउको दुखाईको विषय बनेको छ। महानगरले नयाँ ठाउँमा ल्याण्डफिल साइट सार्न खोजेपनि स्थानीयको विरोध भएपछि सहजीकरण गर्न समिति बनाएपनि त्यसले पनि निर्णय गर्न सकेको छैन। महानगरले अहिले पोखरा–१४ को बाच्छेबुडुवामा सहरको फोहर व्यवस्थापन गरिरहेको छ।  

अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्याण्डफिल साइट करिब दुईकिलोमिटर दूरीमा पर्छ। विमानस्थल नजिक फोहर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरुले बताईरहेका छन। त्यसले गर्दा ल्याण्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ।  

महानगरले गरेको अध्ययनले विभिन्न तीनवटा ठाउँ नयाँ ल्याण्डफिल साइटका लागि प्रस्तावित गरेको थियो। ती मध्ये पहिलो प्राथमिकतामा पोखरा–२० र १६ को सिमानामा पर्ने पस्मराङ परेको थियो। दोश्रो प्राथमिकतामा पोखरा–३३ को पुणिटार र तेश्रो विकल्पमा पोखरा–१३ को काहुखोला र विजयपुर बीचको खण्डमा पर्ने ढाँडबेसी प्रस्तावित थियो।

तर, पहिलो प्राथमिकताम परेको पस्मराङमा ल्याण्डफिल साइट सार्ने निर्णय भएपनि स्थानीयको विरोधपछि रोकिएको थियो। त्यसपछि महानगरले विरोधमा उत्रिएका स्थानीयसँग छलफल गर्न सहजीकरण समिति बनाएपनि त्यसले पनि समाधान निकाल्न नसकेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए। उनका अनुसार पोखरा महानगरपालिका–१९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा सहजीकरण समिति बनाएको थियो।  

‘स्थानीयसँग छलफल गरेर निकास निकाल्ने गरि सहजीकरण समिति बनाएका छौ। तर, छलफलले उत्तिसारो निकास निकाल्न सकेको छैन,’ नेपालीले भने, ‘अझैपनि छलफल त जारी छ। तर, उत्तिसारो सहज छैन।’ पस्मराङका स्थानीयले विरोध गरेपछि विमानस्थल नजिकैको ल्याण्डफिल साइट कता व्यवस्थापन गर्ने भनेर टुंगो लागिसकेको छैन।’ विमानस्थल तयार भएर उडान र अवतरण सुरु हुनैलाग्दा पनि ल्याण्डफिल साइट सार्न नसक्दा समग्र महानगर र प्रदेश सरकारप्रति नै प्रश्न उठ्ने अवस्था आएको उनले बताए। उनले पस्मराङको विकल्पमा अन्यत्रका लागि पनि योजना बनाउनुपर्ने अवस्था आएको बताए।  

सहजीकरण गर्न बनेको समितिका संयोजक शोभामोहन पौडेलले पनि सहजीकरण सहज नभएको बताए। उनका अनुसार महानगरस्तरीय राजनीतिक दलसँग र स्थानीयसँग यसबारेमा बारम्बार छलफल भईसकेको छ। तर, त्यसको निकास निस्केको छैन। उनका अनुसार पस्मराङको विकल्पमा जानेबारेमा पनि एकतहमा छलफल भईरहेको छ। ‘पोखराको ल्याण्डफाइल साइट सार्नका लागि तीनठाउँ उपयुक्त ठहर गरिएको हो। तर, पहिलो प्राथमिकतामा परेको पस्मराङको विरोध भएपछि त्यहाँ सम्भव हुन सकेको छैन,’ पौडेलले भने, ‘त्यसपछि विकल्पमा के गर्ने भन्ने बारेमा अझै निर्णय भएको छैन।’

उनले पनि ल्याण्डफिल साइट सार्ने काम उत्ति सहज नभएको बताए। ‘ल्याण्डफिल साइट सबैको टाउको दुखाइएको विषय बनेको छ,’ उनले भने, ‘जतिसक्दो छिटो व्यवस्थापन गर्न जरुरी छ। तर, त्यसको निकास निस्केको छैन।’ उनका अनुसार बाच्छेबुडुवाको हालको ल्याण्डफिल साइटमाथि छाना हालेर प्रयोगमा ल्याउन सकिने वा नसकिने भन्नेमा पनि छलफल गर्दा त्यो सम्भव नभएको उनले बताए। ‘छाना हालेर हालको ल्याण्डफिल साइटको प्रयोग गर्ने अवस्था रहेन,’ उनले भने, ‘त्यसैले विकल्पमा खोज्नैपर्छ। कुनै हालतमा पनि ल्याण्डफिल साइटको व्यवस्थापन जरुरी छ।’

महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साइट सार्नु घातक हुने भन्दै स्थानीयले लामो समयदेखि विरोध गर्दै आएका छन। आन्दोलित स्थानियले पस्मराङमा कुनैपनि हालतमा ल्याण्डफिल साइट सार्न नदिने अडान राखेका छन्। ल्याण्डफिल साइटका कारण पानीको मुहान दुषित हुने र स्थानीयले सोहि पानी पिउन बाध्य हुने स्थिति आउने उनीहरुको भनाई छ। त्यति मात्र होइन स्थानियले पस्मराङबाट नजिकका क्षेत्र अर्मला, मौजा, आँटीघर लगायतका क्षेत्र पर्यटकीय गन्तव्य भएको भन्दै ल्याण्डफिल साइटको दुर्गन्ध त्यहाँ पुग्दा पर्यटन क्षेत्र ध्वस्त हुने उनीहरुको बुझाई छ। पस्मराङ काहुँ र कालिखोलाको मुहान क्षेत्र पनि हो। त्यहाँको पानी अहिले करिब पाँचसय परिवारले पिउँदै आएका छन्।  

पोखरा–२० का अध्यक्ष सीम गुरुङ पस्मराङमा ल्याण्डफिल साइट सम्भव नभएको बताउँछन। उनका अनुसार पस्मराङमा ल्याण्डफिल साइट सार्नका लागि छुटयाइएको नौ करोड रुपैयाँ रकमान्तर भईसकेको छ। ‘पस्मराङमा स्थानीयको सहमति हुन सकेन। हरेक हिसाबले पस्मराङ उपयुक्त देखिएन,’ उनले भने, ‘त्यसपछि विकल्पमा जाने तयारी भएको छ। पस्मराङका लागि छुटयाइएको रकम रकमान्तर भईसकेको छ।’ उनका अनुसार पोखरा–३३ को पुणिटारमा ल्याण्डफिल साइट सार्ने सम्भावना बढेको छ।  

‘पस्मराङमा त सम्भव नै हुँदैन। खानेपानीको मुहान भएकोले सम्भव भएन, यहाँ पहिरोको पनि उत्तिकै जोखिम छ,’ उनले भने, ‘स्थानीयसँग पनि समन्वय भएन। यहाँ आएर छलफल समेत हुन सकेन। विकल्पमा अन्यत्र ठाउँ पहिचान भएपनि ती ठाउँको बारेमा छलफल नै नगरि एकाएक पस्मराङमा आउँदा विरोध भएको हो। अन्यत्र पनि सार्न सकिन्छ। विकल्पको रुपमा अन्यत्र पनि हेर्नुपर्छ।’  

अर्बाै रुपैयाँ लगानी गरेर बनाएको विमानस्थल संचालन गर्ने बेलामा ल्याण्डफिल साइटका कारण अवरोध हुनु दुखद भएको उनले बताए। ‘विमानस्थल बनाउन थालिएको झन्डै चारवर्ष समय कानमा तेल हालेर बसेर अन्तिम समयमा ल्याडफिल साइट सार्न जर्बजस्ती गर्नु राम्रो होईन,’ उनले भने, ‘गौरबको आयोजना तयार हुँदा पनि हचुवाको भरमा काम गर्न खोजिएको छ। हमीले दिगो समाधानका लागि दवाव दिएका हौ।  

महानगरपालिकाको गत कात्तिकको पहिलो साता बसेको कार्यपालिका बैठकले हालको पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णय गरेको थियो। हालको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय हवाई उडान रुटमा पर्ने भएपछि त्यसलाई सार्न महानगरले पोखरा–१६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ११ का अध्यक्ष मोहन बास्तोला र प्राविधिक सम्मिलित अध्ययन समिति बनाएको थियो। सोहि सिफारिस समितिको सिफारिस अनुसार ल्याण्डफिल साइट सार्ने निर्णय भएको थियो। 

प्रकाशित: २ फाल्गुन २०७८ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App