६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङ ‘समुदायमा सरकारी वकिल’

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भीमबहादुुर बस्नेतले जिल्ला न्यायाधीस प्रकाश राउत सहितका कानुनविद्हरुसंग दुई वटा जिज्ञासा राखेका छन्।

पहिलो–: सम्बन्ध बिच्छेद पछि पनि श्रीमान् श्रीमति संगै बसे भने सम्बन्ध बिच्छेदको कागज फर्जी हुन्छ की सहि? दोस्रो–: सन्तानको जन्मदर्ता अघि बाबुआमाको बिवाह दर्ता अनिवार्य छ, उमेर नपुगी बिवाह गरेका दम्पतिबाट जन्मेको बच्चाको जन्मदर्ता कसरी गर्ने? वडा नं २ थेचम्बुका वडाध्यक्ष ज्ञानप्रसाद दाहालको जिज्ञासा थियो। 

बाबुको पहिचान नभएको अवस्थामा बच्चाको जन्मदर्ता कसरी गर्ने? थेचम्बुका डम्बरबहादुर विकले सोधे‘ छुवाछुत अन्त्य भएको भनिएपनि अझै उचो र निचो जात भनेर हेला गरिन्छ? यस्ता विषयमा कानुनमा कस्ता कुरा उल्लेख छन्। सधैं न्यायालयमै बसेर न्यायको छिनाफानो र मुद्दा अभियोजन र बहस पैरवी गर्ने न्यायाधीस, सरकारी वकिल र कानुन व्यवसायी सहितका नागरिक समाजका अगुवाको उपस्थितिमा भएको छलफलका केहि बुँदा र पात्रले उठाएका केहि सवाल हुन्।

समुदायस्तरमै पुगेर न्याय र कानुनका प्रावधानहरु बुझाउन र सवालहरु सुन्न उच्च सरकारी वकिल कार्यालय इलाम र जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङले ‘समुदायमा सरकारी वकिल’ कार्यक्रमको आयोजना गरेका हुन्। उच्च सरकारी वकिल कार्यालय इलामका सहन्यायधिवक्ता केशवराज पन्तले न्याय र कानुनका सवालहरुमा मानिसहरुले अझै पनि अभिरुची राख्ने गरेको र त्यसको झल्को पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुमा देखिएको बताए।

 ‘गजवको सवाल–जवाफ चल्यो’ पन्तले प्रसन्तता व्यक्त गर्दै भने। जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधीवक्ता युवराज महतले स्थानीय स्तरमै न्याय र कानुनका प्रावधान र यससंग सम्बन्धित सवालहरु बुझेर सैद्धान्तिक समाधान दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए।

‘अधिकाँस न्याय र कानुनका र त्यसपछि प्रशासनिक तथा भूमी सम्बन्धि सवालहरु पनि उठे’ महतले भने। जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता पुष्पराज बाँस्तोलाका अनुसार ग्रामीण भेगमा अहिले पनि मानिसहरुले कानुन, कानुनी प्रावधान र न्यायका सिद्धान्त बुझ्न चाहिरहेका छन्। त्यहिँ उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको र स्थानीय समुदायले पनि कार्यक्रमको मर्म अनुसार सहभागिता जनाउने र सवालहरु उठाएको बाँस्तोलाले बताए।

यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा नियम,कानुन र त्यस भित्रका परिधिका बारेमा कार्यक्रममार्फत स्थानीय समुदायलाइ लाभ मिलेको बताउँछन्। यस्ता अन्र्तक्रियात्मक कार्यक्रमले न्याय निरुपण र प्राप्तीका सवालमा आफुहरुले अपनाउने भूमिका के हो भनेर जानकारी दिने गरेको उनले बताए। स्थानीय तहमा न्यायिक समिति समेत रहने भएकोले कानुनी प्रावधानका बारेमा जानकारी पाउँदा आफुहरुलाइ न्यायिक कार्य सम्पादनमा सहज हुने पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताइन्।

सोही कार्यक्रममा प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्का, मालपोत अधिकृत लेखा पनेरु महत, अधिवक्ताद्वय देवराज मेन्याङ्वो र ठाकुरसिंह लिम्बू, स्थानीय जनप्रतिनिधिहरु, पालिकाभरिका मेलमिलाप सहजकर्ता, स्थानीय अगुवा र सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो । 

प्रकाशित: २६ माघ २०७८ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App