५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

छड्के चेकमा गएका कर्मचारीमाथि आक्रमण भएपछि विद्युत कर्मचारी आन्दोलनमा

विद्युत चोरी गरिरहेको सूचनाको आधारमा छड्के गर्न गएका कर्मचारीमाथि नै आक्रमण भएपछि नेपाल विद्युत प्राधिकरण रौतहट शाखाका कर्मचारीहरू आन्दोलनमा उत्रेका छन्।

नेविप्रा गौर वितरण केन्द्रबाट विद्युत चुहावट एवं मिटर छड्के चेकिंगमा गएका कर्मचारीमाथि रौतहटको राजदेवीमा आक्रमण भएको हो। गत मंगलवार चेकिंगमा गएका कर्मचारीहरूले राजदेवी नगरपालिका ७ मुडबलवामा एक हाँस पालन फार्ममा विद्युत चुहावट भइरहेको फेला पारेको थियो।

स्थानीय लालबाबु साहले संचालन गरेको हाँस फार्ममा हुकिंग गरेर विद्युत चुहावट गरिरहेको देखेपछि चेकजाँच गर्न जाँदा कर्मचारीहरुमाथि आक्रमण भएको हो। हाँस फार्म संचालक साहसहित दश जनाको समूहले लाठी र भाठाले आक्रमण गरेको विद्युत प्राधिकरणका कर्मचारीहरूले जानकारी गराएका छन्। करिब एक दर्जनको समूहले नियोजित रूपमा आक्रमण गरेपछि विद्युत कर्मचारीहरू घाइते भएका छन्।

विद्युत कर्मचारी प्रभुनाथ बैठाको दाहिने हात भाँचिएको छ। यसैगरी चालक शैलेन्द्रको दाहिने हत्केला भाँचिएको छ। अन्य केही कर्मचारीहरू सामान्य घाइते भएका छन् भने गोदाइ खाएका छन्।

हात र हत्केला भाँचिएका दुवै कर्मचारीको उपचार वीरगंज र गौरस्थित अस्पतालमा भइरहेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन एकाइ अध्यक्ष संदीपकुमार सिंहले जानकारी गराएका छन्।

डिउटीमा खटिएका कर्मचारीमाथि आक्रमण गर्नेहरूमाथि कारबाहीको माग गर्दै नेविप्रा गौरका सबै कर्मचारी युनियनहरुले कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। कर्मचारीहरूको संयुक्त टोलीले विहीवार जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा आक्रमकारीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा जाने चेतावनी दिएका छन्।

आक्रमण गर्नेहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने माग कर्मचारीहरुको रहेको छ। कर्मचारीहरुको मागको सम्बोधन नभएमा माघ २१ देखि आन्दोलनमा उत्रने चेतावनी कर्मचारीको संयुक्त प्यानलले दिएको छ।

नेविप्रा कर्मचारीहरूले शुक्रबार एक घन्टा हातमा कालोपटी बाँधेर महसुल काउन्टरबाहेक अन्य सेवा ठप्प पार्ने, आइतबार दुई घन्टा कालोपटी बाँधेर पेन डाउन गर्ने र माघ २४ गते सोमवारदेखि इमरजेन्सी सेवाबाहेक  वितरण केन्दू र प्रशासनिक कोठामा ताला लगाएर अनिश्चितकालका लागि सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

नेपाल विद्युत कर्मचारी परिषद, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ, नेपाल विद्युत कर्मचारी युनियन, नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी संघर्ष समितिसहितले कडा आन्दोलनको चेतावनी दिँदै ब्लेकआउटसमेत गर्ने चेतावनी दिएका छन्।

नेविप्राका कर्मचारीमाथि भएको अन्यायपूर्ण आक्रमण तथा कारबाहीको मागसहित आन्दोलनको बारेमा जानकारी दिन जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रमुख जिल्ला अधिकारीसित भेट हुन नसकेको तर जिल्ला प्रशासन कार्यालयमा आफ्नो समस्या पुर्‍याएको विद्युतका कर्मचारीहरूले जानकारी गराएका छन्।

प्रकाशित: २० माघ २०७८ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App