१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर

पछिल्लो एक सातादेखि सुदूरपश्चिमको मौसममा आएको बदलावसँगै जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले जनजीवनमा प्रतिकूल असर पर्दै गएको हो।

बिहानैदेखि कुहिरो र शीतलहरले दैनिक कामकाज गर्न गाह्रो भइरहेको धनगढीका राजेश चौधरी बताउँछन्। ‘एक सातादेखि कुहिरो छ। त्यसमाथि शीतलहर चलेको छ। यसले गर्दा अत्यधिक चिसो बढेको छ,’ उनले भने, ‘चिसो बढेसँगै दैनिक कामकाज गर्न बाहिर निस्कनै गाह्रो भएको छ, जनजीवन कष्टकर बन्दै गएको छ।’ चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन्।

अत्यधिक चिसोले पहाडी क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ। चिसोबाट बच्न सर्वसाधारणले दिनभर आगो ताप्नुका साथै न्यायो लुगाको जोहो गर्न थालेका छन्। केही सामुदायिक वनले आफ्ना उपभोक्तालाई आगो बाल्न दाउरा वितरण गर्न थालेका छन्। गौरीगंगा नगरपालिकाका सुनपाल, सिंहासनलगायतका सामुदायिक वनले चोक, चौतारो, चिया पसल तथा सडक किनारमा आगो बाल्न दाउरा वितरण गरेका छन्। 

सामाजिक उत्तरदायित्व बहन गर्दै सामुदायिक वनले सर्वसाधारणलाई चिसोबाट बच्न दाउरा वितरण गरिरहेको जनाएका छन्। ग्रामीण क्षेत्रमा पनि अत्यधिक चिसो बढेसँगै सर्वसाधारणको दैनिकी कष्टकर बनेकाले ठाउँठाउँमा वडा कार्यालयबाटै दाउरा वितरण गरिरहेको गौरीगंगा नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद तिवारीले बताए।  

उनले भने, ‘हामीले साझा बजार क्षेत्रमा र ग्रामीण क्षेत्रका चोक, चौतारामा आगो बाल्न दाउरा संकलन गरेर वितरण गरिरहेका छौं।’ दाउरा वितरण गरेपछि सर्वसाधारणले राहत महसुस गरिरहेको उनले बताए। ‘सबैसँग पर्याप्त बाक्ला लुगाकपडा हुँदैनन्,’ उनले भने, ‘रातभरि जसोतसो कटाए पनि दिउँसो दाउरा बालेर शरीर न्यायो बनाउने धेरै छन्।’ कठ्यांग्रिने जाडाले वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने बढी प्रभावित बनेको उनी बताउँछन्।

चिसोसँगै बजारमा गएर बाक्ला लुगा किन्नेको संख्या पनि बढ्दो छ। ऊनीका कपडा, ज्याकेट, गलबन्दी, टोपी, पन्जा, मोजा, सिरक, डस्ना अन्य समयको भन्दा बढी बिक्री भएको व्यापारी बताउँछन्। केही दिनयता बाक्ला र ताता लुगा किन्न आउनेको संख्या बढेको व्यापारी गोपाल भट्टले बताए। उनले भने, ‘यसपालि पसलमा पहिलो लटमा ल्याइएका बाक्ला र ताता लुगा बिक्री भएका छन्।’

केही दिनदेखि सुदूरपश्चिममा तापक्रम घट्दै जाँदा चिसो बढेको मौसम पूर्वानुमान महाशाखा काठमाडौंका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। उनका अनुसार सुदूरपश्चिममा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियससम्म झरेकाले चिसो अत्यधिक महसुस भएको हो। यो साता पनि सुदूरपश्चिम प्रदेशको मौसममा सुधार हुने छाँटकाँट देखिएको छैन। ‘सुदूरपश्चिम प्रदेशमा बिहीबार र शुक्रबारसम्म बदली भई पानी पर्न सक्ने सम्भावना छ,’ उनले भने।

एक्कासि चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका छन्। चिसोमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने उनीहरूले बताएका छन्। चिसोले बालबालिकामा निमोनिया र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन्। शीतलहर र कुहिरोका कारण किसानको बालीनालीमा पनि प्रभाव पर्न थालेको छ। डढुवा रोगको प्रकोपले आलु, गोलभेंडा, तोरीलगायतका बालीनाली जोगाउन किसानलाई मुस्किल भइरहेको छ। चिसोले ढुसी सक्रिय भई बालीनालीमा डढुवा रोगको संक्रमण देखिन थालेको हो।

प्रकाशित: ६ माघ २०७८ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App