७ वैशाख २०८१ शुक्रबार
समाज

बाघ आक्रमणका पीडित परिवारलाई राहत

बाँकेमा बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरुप रकम प्रदान गरिएको छ। डिभिजन वन कार्यालय बाँके र वन तथा वातावरण संरक्षण समन्वय समिति बाँकेले राहत रकम उपलब्ध गराएका हुन्। बाघले आक्रमण गर्दा राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको गत साता मृत्यु भएको थियो।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले मृतकको घरमै पुगेर प्रतिपरिवार ५० हजारको दरले चेक हस्तान्तरण गरे। सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गणेश खड्का लगायत उपस्थित भएका थिए।

पीडितसँग प्रदेश सरकारअन्र्तगत ‘मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण कार्यक्रममार्फत् दुवै पीडित परिवारलाई ५०/५० हजार हस्तान्तरण गरिएको प्रमुख कँडेलले जानकारी दिए। यस्तै वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी बाँकेले पनि फत्तेपुरका पीडित परिवारलाई किरिया खर्चस्वरुप १० हजार प्रदान गरेको छ।

समन्वय समितिका अध्यक्ष लवराज खरेलले शुक्रबार उक्त रकम हस्तान्तरण गरेका हुन्। समन्वय समितिको कार्यक्षेत्र अन्तरगत पर्ने सामुदायिक वनको उपभोक्ता मृतक चाँदनीका परिवारलाई किरिया खर्च प्रदान गरिएको खरेलले जानकारी दिए।

यसअघि राप्ती सोनारी गाउँपालिकाले पनि बाघको आक्रमणबाट ज्यान गुमाएका लिला र चाँदनीको परिवारलाई किरिया खर्च उपलब्ध गराएको थियो। गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले मृतकका घरमै पुगेर किरिया खर्च वापत २०/२० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए।

अघिल्लो सातासम्म राप्तीपारी आतंक मच्चाउने बाघ अझै नियन्त्रणमा आएको छैन। जिल्लाको राप्तीपारीस्थित फत्तेपुर जंगलमा छाडिएको आहारा खान नआउँदा बाघलाई नियन्त्रणमा लिन नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ।

फत्तेपुरस्थित सदावहार सामुदायिक वनभित्र मंगलबार र बुधबार आहारा स्वरुप दुई स्थानमा ‘पाडो’ लगेर जंगलमै बाँधिएको थियो। तर, बाघले अझैसम्म आहारा नखाएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलले बताए।

बाघ खोज्न राष्ट्रिय प्रकृति संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधी लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा नियमित रुपमा परिचालन हुँदै आएको छ।

प्रकाशित: १ माघ २०७८ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App