१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

छैन चहलपहल, थारू गाउँमा माघी अलमल

माघ लहैली सुरिक सिकार खैली रे हाँ,

सखियै हो माघ्क पिली गुरीगुरी जाँर...

थारू समुदायमा जाँडलाई एक विशेष प्रकारको खान्कीकै रुपमा लिइन्छ। थारू समुदायले जाँड कूल देउतालाई प्रशादका रुपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन्। हो त्यही जाँडलाई मुख्य लयका रुपमा ढालिएको गीतले अहिले कैलाली कञ्चनपुरका थारू बस्ती गुञ्जायमान बनिसक्थे। तर, नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको जखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा मेला, महोत्सव तथा भिडभाड नगर्न सूचना जारी गरेपछि भने माघीमा रमाउने थारू बस्ती चहलपहल नहुँदा सुनसान बनेका छन्।

सरकारले जारी गरेको सूचनाअनुसार भिडभाड गर्न नहुने भनेपछि आफ्नो पुर्खौदेखि मनाउँदै आएको माघी पर्व मनाउने कि नमनाउने भन्नेमा अलमलिएको गौरीगंगा नगरपालिका–७, कैलाशपुरका पूर्व भलमन्सा तुलाराम जोगी थारूले बताए। ‘अहिलेसम्म त थारू गाउँमा चहलपहल बढिसक्थ्यो,’ उनले भने,‘यसपालि भने कोरोनाको नयाँ भेरियन्ट आएको हल्ला सुन्ने वित्तिकै माघी मनाउने कि नमनाउने भन्ने अलमलमा छौँ।’ पुस मसान्तका दिन गाउँमा भलमन्सा, चौकीदार, शाहू महार्जनको बैठक बसाएर माघी मनाउने कि नमनाउने भन्ने निर्णय गर्ने उनले बताए। ‘आफ्नो पुर्खौदेखिको चलन मनाऔँ भने प्रशासनको डर छ,’ उनले भने,‘नमनाऔँ भने वर्षदिनको चाडपर्व पनि सुनसानमै वित्ने भयो।’

थारू समुदाय माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन्। पुसको अन्तिम दिनलाई थारू समुदायले पुरानो वर्षको अन्तिम दिनका रूपमा मनाउने गर्छन्। पुरानो वर्षको बिदाईका रुपमा पुसको अन्तिम दिन (जीता) बङ्गुर मार्ने प्रचलन छ। ‘जीता’ को प्रशादसँगै रातभर जाग्राम बस्दै मघौटा धमार, झुमा नाच नाच्ने गर्दछन्।

माघी मान्न आफ्ना आफन्तलाई उनीहरुले सातादिन अघि नै निम्तो दिइसक्छन्। माघी मान्न आउनेको लिष्ट तयार भएर सोही अनुसार आफ्नो घरमा खान्की तथा बङ्गुरको मासु (जीता) अर्डर गर्छन्। यसपालि पनि धेरैले जीता (बंगुरको मासु) अर्डर गरिसकेको भए पनि अहिले आएर प्रशासनले धेरै जमघट गर्न नपाइने सूचना जारी गरेकोले पाहुनालाई बोलाउने या नबोलाउने भन्नेमा थारू समुदाय अलमलिएका हुन्।

माघीका लागि भन्दै सालीले आफूलाई एक साता अघि नै निम्तो दिएर जीताको अर्डर गरिसकेको बताउँदै धनगढी–५, हसनपुरका भीम चौधरीले भने,‘भजनीमा रहेकी साली सोना चौधरीले माघीमा आउनु भनेर एक साता अघि निम्तो पठाइन्, मैले पनि स्वीकारेसँगै सालीले जीता अर्डर गरिन्। तर, अहिले आएर प्रशासनले जमघट नगर्न सूचना जारी गरेपछि माघी मान्न सालीको घरमा जाने कि नजाने भन्ने अलमलमा छु।’ उनी मात्रै हैनन् एक साता अघि निम्तो पठाएर आउने ‘फिक्स’ भएका आफन्तहरुका लागि अर्डर गरिएको जीता खेर जाने चिन्तामा छन् धनगढीकै भुखाली थारू। ‘बङ्गुरको मासु (जीता)का लागि मैले गाउँमा नाम टिपाइसकेको थिएँ,’ उनले भने,‘कोरोनाका कारण आफन्त नआउने भएपछि अर्डर गरेको मासु खेर जाने भयो।’

कोरोनाका कारण माघी मनाउने या नमनाउने भन्नेमा अलमलिएको बताउँदै उनले भने,‘गाउँमा जीता मार्ने दिन (पुस मसान्तको दिन) मा भलमन्साले जे भन्छन् त्यही गर्छौ।’ भलमन्सा पनि गाउँका भद्र भलाद्मीको सल्लाह बमोजिम आफ्ना रैतीहरुलाई खबर दिने उनी बताउँछन्। ‘भलमन्साले पनि भद्र भलाद्मीको छलफलपछि माघी धुमधामसँग मनाउने या आ–आफ्नै तरिकार आ–आफ्नै घरमा मनाउने भन्ने थाहा हुन्छ,’ उनले भने,‘नाचगान र चहलपहल हुने या नहुने भन्ने भलमन्साकै हातमा निर्णय छ।’

माघी आउनु एक साता अघिदेखि नै थारू गाउँमा मघौटा, धमार झुम्रा नाचले चहलपहल बढी सक्थ्यो। यस्तै थारूहरू माघ महिनामा भलमन्सा, चौकीदार र गुरुवाको चयनका लागि पनि तयारी गर्ने हुँदा गाउँगाउँमा नयाँ गुरुवा र भलमन्सा चुन्नका लागि चहलपहल भइरहेको हुन्थ्यो। तर, यसपालि भने अहिलेसम्म चहलपहल बढेको छैन। कोरोनाका कारण जमघट हुन नपाउने र मनोरन्जनमा सरकारी रोकले गर्दा माघी मनाउने कि नमनाउने भन्नेमा अलमलिएका थारू गाउँमा अहिलेसम्म चहलपहल बढेको छैन।

प्रकाशित: २९ पुस २०७८ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App