४ वैशाख २०८१ मंगलबार
समाज

शीतलहरले कतै विद्यालय बन्द, कतै सिरक बाँड्दै

नेपालको सुदूरपश्चिम र तराई–मधेसकामा शीतलहरका कारण अधिकांश जिल्लाका स्थानीयले विद्यालय बन्दको घोषणा गरेका छन् भने कतिपय ठाउँमा सर्वसाधारणलाई न्यानो कपडासमेत वितरण सुरु गरेका छन्। चिसोका कारण प्रदेश २ मा तीन जनाको मृत्युसमेत भइसकेको छ। शीतलहरले धेरै प्रभावित भएकाका जिल्लाले भने सम्भावित लहरलाई ध्यानमा राख्दै त्यसको सुरक्षा तयारीसमेत थालेका छन्।

मोरङमा शीतलहरविरुद्ध पूर्व तयारी सुरू गरिएको छ। मोरङमा शीतलहर सुरु भइनसकेको भए पनि चिसो बढ्दै गएका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी थालेको सहायक प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेलले जानकारी दिए।

उनका अनुसार मोरङका स्थारूलाई शीतलहरको पूर्वतयारी थाल्न विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ। मोरङको विराटनगर, रतुवामाई, सुनवर्षी नगारपालिका र जहँदा गाउँपालिकालाई जिल्ला विपद् व्यवस्थापन समितिले ३ सय थानका दरले कम्बल प्रदान गर्ने निर्णय गरेको छ।

यस्तै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार झापामा पनि हालसम्म शीतलहरले समस्या पारेको छैन। झापा जिल्ला विपद् व्यवस्थापन समितिले शीतलहरका विषयमा आकस्मिक तालिका तयार पारेको छ। सम्भावित शीतलहरलाई ध्यानमा राख्दै सबै स्थानीय तहहरूलाई न्यानो लुगा, कम्बल लगायतका सामाग्रीहरू तयार राख्न र शीतलहरबारे पूर्वतयारी थाल्न आग्रह गरेको तिम्सिनाले जानकारी दिए।

विपन्नलाई सिरक

चिसो सुरु हुन थालेपछि समस्या भोग्दै आएका इटहरी वडा नम्बर २ का गरिब तथा विपन्न ९० घर परिवारलाई न्यानो सिरक वितरण गरिएको छ। जयभीमा फाउन्डेशनले न्यानो कपडा प्रदान गरेको हो। फाउन्डेशनले दुई दिनअघि पनि इटहरी–१३ का गरिब तथा विपन्न ९१ घर परिवारलाई न्यानो कपडा प्रदान गरेको थियो। शीतलहरबाट विपन्न समुदाय समस्या पर्ने गरेकाले न्यानो कपडा प्रदान गरिने जयभीमा फाउन्डेशनका अध्यक्ष रोहित प्रसाईंले बताए।

चार पालिकाकामा विद्यालय बन्द

जाडो बढेपछि जिल्लाका चार पालिकाका विद्यालय बन्द गरिएको छ। कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका र यशोधरा गाउँपालिका विद्यालय बिदा दिइएको हो। यहाँ एक सातादेखि शीतलहर चलेको छ। त्यस कारण पठनपाठनमा समस्या आएको भन्दै सरकारी र निजी विद्यालय बन्द गरिएको हो। कपिलवस्तु र महाराजगंज नगरपालिकाले १० दिनका लागि विद्यालय बन्द भएका छन्।

पुस ३० गतेसम्मका लागि विद्यालयमा बिदा दिइएको कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रम्रख हरिप्रसाद ज्ञवालीले बताए। यस्तै यशोधरा गाउपालिकामा चार दिन र कृष्णनगरमा ३ दिनका लागि बिदा दिइएको छ। जाडोले गर्दा आधारभूत तहमा पढ्ने साना विद्यार्थी बढी प्रभावित हुने भएकाले विद्यालय बन्द गरिएको बताइएको छ।

उता सुदूरपश्चिम प्रदेशमा चिसो बढ्दा जनजीवन कष्टकर भएको छ। पछिल्लो केही दिनदेखि बदली, कुहिरो र शीतलहरले गर्दा सुदूरपश्चिमको जनजीवन कष्टकर बनेको हो। सुदूर पश्चिम प्रदेशका ९ वटै जिल्लामा चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो। मंगलबार बिहानैदेखि सुदूरपश्चिममा बदली हुँदा यहाँको जनजीवन प्रभावित बनेको हो। अहिले दार्चुलाको तिंकर क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यस्तै बझाङका हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको छ। हिमाली क्षेत्रमा परेको हिमपातले बेंशी क्षेत्रमा चिसो बढेको स्थानीय बताउँछन्। बझाङका हिमाली क्षेत्रमा हिमपातले अत्यधिक चिसो बढेपछि त्यस क्षेत्रका विद्यालयहरू एक सातादेखि बन्द छन्। मानिसलाई चिसोले घरबाहिर निस्कन पनि समस्या भएको छ।

एक्कासि चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाएका छन्। चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरूको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। यो समयमा बालबालिकाहरूमा निमोनिय र वृद्धवृद्धाहरूमा दम, श्वासप्रश्वास सम्बन्धि समस्या देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

हिमालमा हिउँ, तराईमा चिसो

यसैगरी तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा पनि अत्यधिक चिसो बढ्दा यहाँको जनजीवन कष्टकर बनेको छ। मंगलबार बिहानैदेखि कैलाली र कञ्चनपुरमा बदली हुनुका साथै बाक्लो कुहिरो र शीतलहर चलेको छ।

शीत लहरले गर्दा ग्रामीण क्षेत्रका बासिन्दा न्यानो बनाउन आगोको सहारा लिन थालेका छन्। कठ्यांग्रीने जाडो बढ्दा वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू बढी प्रभावित बनेका छन्।

शीतलहर र कुहिरोका कारण किसानको बालीनालीमा पनि प्रभाव पर्न थालेको छ। शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, टमाटर, तोरी लगायतका बालीनाली जोगाउन किसानलाई मुस्किल भइरहेको छ। रातिको तापक्रम ३ डिग्री सेल्सियस भन्दा तल झर्ने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको सुषुप्त अवस्थामा रहने भएकाले ढुसी सक्रिय भई किसानका बालीनालीमा डढुवा रोगको संक्रमण देखिन थालेको हो।

परीक्षाले केही खुले, केही बन्द

नेपालगन्जमा पनि केही दिन यता राम्ररी घाम लाग्न सकेको छैन। बिहानदेखि बेलुकीसम्म हुस्सु लाग्न थालेपछि जनजीवन कष्टकर बनेको हो। दैनिक काम गर्ने मजदुर, विद्यालय जाने साना बालबालिका तथा बृद्धबृद्धाहरू चिसोबाट बढी प्रभावित भएका छन्। चिसोबाट जोगिन ठाउँ ठाउँमा सर्वसाधारणले आगोको सहारा लिइरहेका छन्। चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले आधारभूत तहसम्मका कक्षा बन्द गर्न निर्देशन दिएको छ।

पुस २४ गतेसम्मका लागि उपमहानगरपालिकाभित्र रहेका कक्षा ५ सम्मका विद्यालयको पठनपाठन बन्द गर्न निर्देशन दिइएको उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले बताए।

उपमहानगरपालिकाले निर्णय गरेपनि कतिपय संस्थागत विद्यालयले परीक्षाको कारण देखाउँदै सञ्चालन गरिरहेका छन्। जसले गर्दा साना बालबालिकाहरू कठ्यांग्रिदै विद्यालय जान बाध्य भएका छन्। नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले चिसोलाई मध्यनजर गर्दै कक्षा ५ सम्मको पठन पाठन बन्द गर्ने निर्णय गरेको बताइन्।

पुष्पराज जोशी/कैलाली, विनोद सुवेदी/विराटनगर, अर्जनु ओली/नेपालगन्ज,  किरणमान बज्राचार्य/कपिलवस्तु, अमर खड्का/सुनस

प्रकाशित: २३ पुस २०७८ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App