coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिउँमा फसेका १४ जनाको उद्धार

फाइलतस्बिर

जोकप्रसाद बुढा गोरेटो बाटो निर्माणका लागि पुथा उत्तरगंगा गाउँपालिका–२, पेल्मा पुगे। खाद्यान्न र आढ्ने ओछ्याउने व्यवस्थासहित गएका उनी १३ र १४ गते बाक्लो हिमपात हुँदा काम गर्ने ठाउँमै अलपत्र परे। उनी र उनीसँगै गएका अन्य १३ जना हिमपताका कारण घर फर्किन पाएनन्। एक हप्तासम्म उनीहरु ओढारमै अलपत्र परे।

सोमबार मात्र हिमपातले अलपत्र परेका १४ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ। उनीहरुको अवस्था सामान्य भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जनाए। पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा उनीहरु गोरेटो बाटो निर्माणका लागि त्यहाँ गएका थिए। ‘उनीहरु खाने कुरा, आढ्ने, ओछ्याउने सबै व्यवस्था गरेर गएका थिए,’ उनले भने, ‘बाक्लो हिउँ परेपछि उनीहरु घर तथा नजिककैको गाउँ जानै सकेनन्। आढोरमा बसेर एक हप्ता बिताए।’ स्थानीय चलिचलनको बाटो भएकाले पनि वडाले गोरेटो बाटो निर्माण गर्न लागेको थियो।

बहुमूल्य यार्सा गुम्बा संकलनका लागि कयौं सर्वसाधारण यही बाटो प्रयोग गरेर पाटनसम्म पुग्छन्। १४जनामध्ये एकजना बागलुङ पुगेर आफन्तलाई साथीहरु हिउँमै फसेको खबर दिएका थिए। उक्त खबर आइतबार आएको र सोमबार उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेबहादुर श्रेष्ठले जनाए। उनका अनुसार चार महिला र १० पुरुषको सकुसल उद्दार गरिएको छ।

जोकप्रसाद बुढा, औसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पे्रमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डिएसपी श्रेष्ठले जनाए।

साथै बाक्लो हिमपातका कारण रुकुम पूर्वदेखि बागलुङसम्म जाने सडक अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जनाए। हिउँ पन्छ्याउने काम भइरहेकाले एक/दुई दिनमा उक्त बाटो सुचारु हुने उनको भनाइ छ।

प्रकाशित: १९ पुस २०७८ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App