२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बालविवाहको अर्काे रुपः भारतमै बालविवाह गरेर फर्किन्छन् घर

जानकी–३, इन्द्रपुरकी १६ वर्षकी पासीले घर नजिकैका केटासँग बालविवाह गरिन्। गाउँमा बालविवाह गर्दा कारबाही हुन्छ भन्ने डरले उनीहरु भारतमा रहेका आफन्त कहाँ पुगेर विवाह गरेका थिए। बाँकेमा बालविवाह फरक ढंगले हुने गरेको यो एउटा उदाहरण मात्र हो। पछिल्लो समयमा गाउँगाउँमा बाल क्लबहरु सक्रिय हुन थालेपछि भारतमा गएर बालविवाह गर्ने र घर फर्किने क्रम बढ्न थालेको छ।

यस घटनाले ‘बाँकेमा बालविवाह न्यूनीकरणभन्दा बालविवाह गर्ने तरिका फेरिँदो छ’ भन्ने देखाएको छ। यति मात्र होइन, बालविवाहकै लागि केटा र केटी दुवैजनालाई जन्मदर्तासमेत फेर्ने गरेका छन्। बालविवाह गर्दा कानुनी दायरामा आउने डरले उनीहरु आफ्नो जन्ममिति बढाएर जन्मदर्ता गराउने गरेको पाइएको छ।

बालविवाहसम्बन्धी काम गर्दै आएको जनजागरण नेपालका अनुसार बालविवाहको अवस्था फेरिन थालेको छ। अहिले बाल क्लबहरु सक्रिय हुँदा बालविवाह गरेपछि हुने कारबाहीबाट बच्न उनीहरु त्यस्तो गर्ने गरेको जनजागरण समाजका व्यवस्थापन रामबहादुर पुनले जनाए। ‘यहाँ कहीँकतै प्रहरी वा बालविवाह न्यूनीकरणमा लागेकाहरुसम्म पुगे विवाह रोकिन्छ भनेर भारतमा रहेका आफन्तहरुसम्म पुग्छन्,’ उनले भने, ‘त्यहाँ विवाह सम्पन्न गरेर घर फर्किने चलन बढ्दो छ।’

स्याक नेपालकी सुपरभाइजर कल्पना आचार्यले पनि बालविवाह घट्दो भए पनि रुप पनि बलिँदो भएको बताइन्। ‘पहिलाभन्दा अहिले बालविवाह घट्दो छ,’ उनले भनिन्, ‘जो भारतीय आफन्त कहाँ गएर विवाह गर्ने चलन छ यसले चुनौती दिएको छ।’

पाहुनाका रुपमा भारत जाने र विवाह गरेर उनीहरु फर्किने गरेको उनी बताउँछिन्। बाँकेमा अहिले करिब ३५ देखि ४० प्रतिशतसम्म बालविवाह हुने गर्छ। ‘बालविवाह हुँदै गर्दा प्रहरी तथा बाल क्लबका र बालअधिकारकर्मीहरु पुग्छन् भन्ने डर हुन्छ,’ उनले भनिन्, ‘बालविवाह गर्नुहुन्न। कारबाहीमा परिन्छ भन्ने गाउँमा छ।’ अशिक्षितभन्दा पनि शिक्षित परिवारमा बालविवाह हुनु दुःखद् भएको उनको भनाइ छ। ‘पहुँच र शक्तिको आँडमा कतिपय शिक्षित व्यक्तिले पनि बालविवाह स्वीकार्ने चलन छ,’ उनी भन्छिन्, ‘कानुनलाई प्रभावमा पार्न सकिन्छ भन्ने उनीहरुमा दम्भ हुन्छ।’

पहुँचवाला व्यक्तिहरुले सहजै बालविवाह ढाकछोप गर्दा पनि बालविवाह न्यूनीकरणमा थप चुनौति देखिएको बालअधिकारकर्मीहरुको भनाइ छ।

प्रकाशित: १८ पुस २०७८ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App