१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चाँगुनारायण नगरपालिकाको दशौँ नगरसभा सुरु

भक्तपुरको चाँगुनारायण नगरपालिकाको दशौं नगरसभा सुरु भएको छ। ‘कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार’ नारा तय गरी अघि बढिरहेको नगरपालिकाको दशौं नगर सभा आइतबार सुरु भएको हो।

नगरसभामा चालू आर्थिक वर्ष २०७८/८९ को समीक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगर उपप्रमुख विना बास्तोलाले नगरपालिकाको कूल १ अर्ब ९० करोड ६४ लाख ८४ हजार २५४ रुपैयाँ विनियोजन भएको जानकारी दिइन्।

उनले सो अवधिमा २८ करोड ८४ लाख ५ हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ६ करोड ९६ लाख ४७ हजार ७९० रुपैयाँ मात्र संकलन भएको बताइन्। ‘यो कूल राजस्व संकलन लक्ष्यको २४ दशमलब १५ प्रतिशत मात्र हो’ उनले भनिन्।

सभामा उनले नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७ जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताइन्।  

यसैगरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् १२ जना महिलाहरुलाई ५ दिने आधारभूत साबुन बनाउने तालिम, १८ जना महिलाहरुलाई अचार बनाउने तालिम दिइएको उल्लेख गर्दै नगर उपप्रमुख बास्तोलाले भौतिक पूर्वाधार विकास अन्तर्गत कूल ४८६ वटा योजना रहेकोमा १५७ वटा योजना गत आर्थिक वर्षबाट दायित्व सरेर आएको बताइन्।

उनले चालू आर्थिक वर्षमा २० लाख भन्दा बढीका ३९ वटा योजनाहरुको ठेक्का आह्वान हुनुपर्नेमा २३ वटा योजनाको ठेक्का सम्झौता भएको उल्लेख गरिन्। उनले उपप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत मखमली जुत्ता बनाउने तालिम, कम्प्युटर तालिम, आधारभूत मन्टेश्वरी तालिम र एडभान्स मन्टेश्वरी तालिम सम्पन्न भएको जानकारी दिँदै सिलाई, कटाए तालिम र बेतबाँसको सामग्री तालिम चालू रहेको उल्लेख गरिन्।

यसैगरी बालमैत्री स्थानीय शासनअन्तर्गत नीतिगत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखकीरण, बालमैत्री वडा सहजकर्ताहरुको नियुक्ति, बालमैलै सहजकर्ताहरुलाई क्षमता विकास प्रशिक्षण भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि २६२ वटा बाल समूह गठन, १० वटा बाल सञ्जाल गठन भएको जनाइन्।

उनका अनुसार नगरपालिकाको ९ वटै वडामा बालमैत्री कक्ष व्यवस्थापन गरी ३०० सार्वजसनक स्थालहरुमा बालमैत्री आचारसंहिता, साबधान बोर्ड, बालश्रमविरुद्धको पम्प्लेट राखिएका छन्। सो कार्यक्रमका लागि ९८ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म २२ लाख ६८ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ।

सभामा चाँगुनारायण नगरपालिकाको कर्मचारी समायोजन ऐन २०७८, विनियोजन ऐन २०७८ पेश भएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए। 

प्रकाशित: १८ पुस २०७८ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App