२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सेताम्य भए सुदूरका पहाड

पश्चिमी वायुको प्रभावका कारण देशकै तुलनामा सुदूरपश्चिममा सबैभन्दा बढी हिउँदे वर्षा र हिमपात भएको छ। मंगलबार बेलुकीदेखि डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलाका लेकाली भू–भाग हिमपातले सेताम्य भएका छन्।

हिमपातका कारण बैतडीको सतबाँझ, खोड्पे, श्रीभावर, सिगासधुरा, रौलाकेदार, ग्वाल्लेकधुरालगायतका उच्च भू–भागमा हिमपात भएको छ। डोटीको तेलेलेक, बडीकेदारको ठूलाकेदार, बर्छैन, खडेउली, अत्तरकाँडा, खप्तड क्षेत्रमा भारी हिमपात भएको छ। दार्चुलाको व्याँस गाउँपालिका व्याँस, छाङरु, तिंकर, राप्ला, दुम्लिङ, दुहूँ गाउँपालिकाका उच्च भागमा पनि हिमपात भएको छ।

यस्तै अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी, घुसा, मार्मा गाउँपालिकाको घोल्जर ताकु, सितोला शेरीको उच्च भू–भाग, नौगाडको इयरकोट, सिप्टी, दल्लेक, मालिकार्जुनको बलशिखर, न्वालपानी, ऐरिछाना, शिखरलगायतका क्षेत्रमा भारी हिमपात भएको बताइएको छ।  यस्तै अछामको लेकाली क्षेत्र पनि हिउँले ढाकेको छ। अछाम मेल्लेखको ऋषिदह, षोड्शा, विन्देवासिनी तथा नन्देगडामा हिमपात भएको छ। बाजुराका हिमाली गाउँपालिका, बुढीन्नदा नगरपालिका, छेडेदह, स्वामीकार्तिक र पाण्डव गुफा गाउँपालिकाका उच्च लेकाली  भागमा हिमपात  भएको छ।

हिमपातकै कारण बझाङको जनजीवन पनि कष्टकर बनेको छ। जिल्लाको काँडा, दौलिचौर, सुर्मा, गडरालगायतका क्षेत्रमा भारी हिमपात भएको हो। डडेल्धुराको भीमदत्त राजमार्गको शाहूखर्क, हगुल्टे लेक लगायतका स्थानमा पनि हिमपात भएको छ। हिमपातपछिको चिसोका कारण लेकाली क्षेत्रमा बसोबास गर्ने स्थानीयको जनजीवन प्रभावित हुनुका साथै चिसोले जंगली जनावर पनि बेंसी क्षेत्रमा झर्न थालेका छन्।

यतिखेर सुदूरपश्चिमका सात पहाडी जिल्लाका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन्। मंगलबार दिउँसो घारम लागे पनि बेलुकीदेखि एकाएक मौसम बदली भएर हिमपात भएको हो। हिमपात भएसँगै  चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको हो। मानिसलाई चिसोले घरबाहिर निस्कन पनि समस्या भएको छ। हिमपातका कारण चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाएका छन्। चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्। यो समयमा बालबालिकाहरुमा निमोनिय र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने स्वास्थ्यकर्मी बताउँछन्।

सबैभन्दा बढी वर्षा सुदूरपश्चिमा  

यस वर्षकै पहिलो हिउँदे वर्षामा देशभरमै सबैभन्दा बढी पानी कैलालीमा परेको छ। मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार कैलालीको चिसापानी केन्द्रमा ४२ दशमलव १ मिली लिटर वर्षाको मापन भएको छ। देशभरका २ सय २३ वटा वर्षा मापन केन्द्र मापन गरिएको रेकर्ड अनुसार देशभरमै सबैभन्दा बढी वर्षा कैलाली जिल्लाको चिसापानी केन्द्रमा भएको देखिएको हो।

किसानलाई अमृत वर्षा  

सिँचाइका लागि ठिक्क भएको हिउँदे बालीका रुपमा रहेको गहुँ खेतीका लागि किसानलाई अमृत वर्षा भएको छ। हिउँ र वर्षात भएपछि जाडो बढेर जनजीवन कष्टकर भए पनि किसानलाई भने राहत मिलेको छ। गहुँबाली तथा तरकारी बालीका लागि हिउँदे वर्षा र हिमपात निकै लाभदायक हुने प्रदेश कृषि निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले बताए। उनले भने, ‘अहिलेसम्म परेको हिमपात र वर्षातले भने बालीनालीलाई राम्रो भएको छ, तर यो भन्दा बढी परेमा मसुरो तथा तरकारी खेतीलाई केही असर पुग्न सक्छ।’

हिमपात र वर्षातले गहुँ, मसुरो, तोरी, फलफुल तथा तरकारी बाली सप्रिने उनले बताए। हिमपातले हिउँदे फलफूलका विरुवा रोप्ने तयारीमा रहेका किसानलाई समेत फाइदा भएको छ।

सुदूरको मौसममा क्रमिक सुधार  

पश्चिमी वायुको प्रभावका कारण देशकै तुलनामा सुदूरपश्चिममा मंगलबार बेलुकी र बुधबार दिनभरको मौसम खराब रह्यो। अफगानिस्तान र उत्तर पाकिस्तानमा अवस्थित पश्चिमी वायुको प्रभावले दुई वटा न्युन चापीय अवस्था सिर्जना गरेको हो।

भारतको जम्बुकस्मिरमा रहेको न्युन चापीय अवस्था र अर्को भारतकै उत्तर प्रदेशमा रहेको न्युन चापीय अवस्थाको प्रभावले नेपालको मौसममा परिवर्तन गरिदिएको हो। जलवायु विज्ञ धर्मराज उप्रेतीका अनुसार भारतको उत्तरप्रदेशमा देखिएको न्युन चापीय अवस्थाले सुदूरपश्चिममा सबैभन्दा पहिले मौसममा परिवर्तन देखिएको हो। सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा तथा हिमपात क्रमशः पूर्वी नेपालतर्फ देखिएको छ।

सुदूरपश्चिममा भने विहीबारदेखि मौसममा क्रमिक सुधार आउने उनले बताए। ‘यो मौसमको अवस्था हेर्दा सुदूरपश्चिममा विहीबारदेखि नै क्रमिकरुपमा सुधार आए पनि पूर्वी नेपालमा भने पुस १७ गतेसम्म मौसम खराब रहन सक्छ,’ उनले भने।  

प्रकाशित: १४ पुस २०७८ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App