८ वैशाख २०८१ शनिबार
समाज

महानगरद्वारा पूर्वकुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पूर्वकुमारी, गणेश र भैरवहरूलाई मंगलबार एक कार्यक्रमबीच श्रीपद भत्ता हस्तान्तरण गरेका छन्।

मेयर शाक्यले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमद्वारा आयोजित कार्यक्रमा निवर्तमान कुमारी मतिना शाक्य, गणेश संवेग शाक्य र भैरव रुजन शाक्यलाई श्रीपद भत्तासहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

कार्यक्रमा मेयर शाक्यले जीवित देवदेवी भएर नेपालको संस्कृति बचाउन योगदान दिने पूर्वकुमारी, गणेश र भैरवहरूलाई भविष्यमा थोरै भए पनि सहयोग पुगोस् भनेर भत्ता व्यवस्था गरिएको र वृद्धि गरेको पनि जानकारी दिए। उनले भने, ‘भत्ता हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले व्यवस्था गर्ने भए पनि दुई वर्षयता कोभिड महामारीका कारण पर्यटकहरू नआएका र हनुमाढोकाको आम्दानी घटेकाले काठमाडौं महानगरले नै २६ करोड रकम सापटी दिएको बताए।

महानगरले पूर्वकुमारीलाई मासिक १५ हजार तथा गणेश र भैरवलाई १२ हजार रूपैयाँ श्रीपद भत्ता दिएको छ। तर पहिला पूर्वकुमारीलाई १२ हजार तथा गणेश र भैरवलाई मासिक ८ हजार दिने गरेको थियो। त्यसैगरी बहालवाला श्री कुमारीलाई मासिक ५० हजार रूपैयाँ तथा गणेश र भैरवलाई मासिक ३० हजार रूपैयाँ भत्ता दिँदै आएको छ।

कार्यक्रममा उपमेयर खड्गी श्रेष्ठले कुमारी, गणेश र भैरवलाई प्रदान गरिने भत्तालाई ठूलो नबनाउन अनुरोध गर्दै महानगरपालिकाको दायित्व भएको बताइन्। उनले जीवित कुमारीलाई गरिने सम्मानले संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्। कार्यक्रममा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशन श्रेष्ठले आ–आफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित: १४ पुस २०७८ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App