१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पन्ध्र वर्षदेखि ओढारमा बास

जुम्ला चन्दननाथ नगरपालिका १ स्थित कुलालबाडाका ४६ वर्षीय चैते कुलाल पन्ध्र वर्षदेखि ओढारमा बस्छन्। अत्यधिक चिसोमा समेत उनी ओढारमा कठयांग्रिएर दिन कटाउँछन्।  दिउँसो त जेनतेन उनी घुमफिर गरेर दिन बिताउँछन्। रातिको समयमा उनलाई कसरी तातोसँग बस्ने भन्ने पिरलोले सताउँछ। ‘राति चिसोको चिन्ता, दिउँसो भोकको चिन्ता’, चैतेले भने, ‘हामी जस्ता गरिबको मर्का बुझिदिने कोही छैन। न हाम्रो साथमा राज्य छ, न त राज्यका संयन्त्र नै। एक पटक आउने जुनी कटाउन मुस्किल छ।’

उनीसँग सम्पतीको नाममा एउटा च्यातिएको कम्मलमात्र छ। दिउँसो एक छाक टार्नका लागि भौतारिन्छन्। राति एक न्यानो कटाउनको लागि बर्बराउँछन्। आँगनको सरकारको रुपमा रहेको स्थानीय सरकार गरिब विपन्नमैत्री कार्यक्रम ल्याउँदैन। प्रदेश र केन्द्र सरकारसम्म आवाज पुर्याइदिने हुलाकी छैन। मनभरी पीडा लुकाउनु परिरहेको छ।

नियमित रुपमा ओढारमा बस्दै आएको सबैले देख्छन्। भोको पेट भर्नको लागि सडकमा माग्दै हिँडिरहेको सबैले भेटाउँछन्। तर राहत र उद्धारको काममा कोही लाग्दैनन्। उनले थपे, ‘म दुखीलाई काल पनि आउँदैन।’

चैते कुलाल एकाबिहानै खाना जोहो गर्न सदरमुकाम पुग्छन्। ओढारमा एक फाटो कम्बल र एक दुई खाली भाडाबाहेक केही छैन। कोरोना महामारीमा प्रभावित र विपन्न व्यक्तिलाई वितरण गरिने राहत पाउनेको सूचीमा उनी परेनन्। उनको व्यवस्थापनको लागि सर्वसाधारणले माग गरेका छन्।

चैते जस्ता ओढारमा बस्ने व्यक्तिहरुले राहत नपाउनु निकै दुःखको बिषय भएको बताउँदै स्थानीयले चैतेलाई ओढारदेखि घरसम्म ल्याइदिन सरकारसँग माग गरेका छन्।

चैतेले भने, ‘हामी भोको पेट लिएर भौतारिरहेका छौँ। सरकार गरिब, बिपन्न खोज्दै हुनेखानेको घरमा पुग्छ। राहत पाउनेमा पनि पहुँचवालाकै हालीमुहाली छ।’ पटकपटक राहतको कार्यक्रम आए पनि उनी नपर्नु आश्चर्यजनक भएको स्थानीय बताउँछन्।

चन्दननाथ नगरपालिकाको कार्यपालिका सदस्य गोविन्द आचार्य राहत वास्तविक गरिबसम्म नपुग्ने गरेको बताए। उनले भने, ‘वडा कार्यालयले पटकपटक चैतेलाई राहत दिने गरेको छ। तर उसले जति पाउनु पर्ने हो त्यो सहयोग हुन सकेको छैन।’ उनी दैनिक चामल र दाल माग्न बजार आइपुग्छन्।

उनी बस्ने ओढार पुग्न सदरमुकाम खलंगादेखि १५ मिनेट समय लाग्छ। उनले आँशु चुहाउँदै भने, ‘मसँग खाने र ओढ्ने केही छैन। राति चिसोमा कटाउँछु। दिनमा भोको पेट बिताउँछु। पटक पटक सहयोग दिन गाउँमा आउँछन्। मलाई दिँदैनन्।’

चैतेको श्रीमतिले छोडेर गइसकेकी छिन्। स्थानीयका अनुसार चैतेको एक छोरो छ। त्यो छोरा आमासँगै बस्छ। चैते साहराविहिन छन्। चैते कुलालले ओढारमा बसेर कष्टकर जीवन काटिरहेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाको टोली पुगेर राहत दिइएको छ। उनलाई तत्कालका लागि न्यानो कपडा र आवश्यक खाद्यन्न दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिए।

निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, आईएनएफ नेपाल, अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धिताल लगायतको टोली स्थलगत रुपमै पुगेर राहत दिएपछि थोरै भएपनि चैतेको मुहारमा खुसी पलाएको छ।  

सिविएम नेपालको आर्थिक सहयोगमा आईएनएफ नेपालले चामल, खाद्यन्न, कम्बल, दाल, तेल लगायतका सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक फालुराम चौधरीले बताए। चैते कुलालसँग नेपाली नागरिकता पनि छैन। निमित्त प्रमुख जिल्ला अधिकारी चौलागाईंले भने, ‘तत्काल नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउँछौं। वडा सरकारले नागरिकताको लागि तत्काल प्रक्रिया थालोस्।’

चैतेलाई तत्कालिन राहत मात्रै आवश्यक छैन, उनलाई दिर्घकालिन आवासको पनि खाँचो छ। उनले भने, ‘तत्काल सरोकारवालाको बैठक बसेर घर निर्माणका लागि पहल थाल्ने वातावरण बनाउँदैछौँ।’ वडाध्यक्ष जयबहादुर रावलले चैते कुलालको दिगो व्यवस्थापनको लागि वडा सरकार तयार भएको बताए। उनले भने, ‘हालसम्म नागरिकता नभएका कारण समस्या आएको हो, प्रशासन कार्यालयले नागरिकता दिने भएपछि राहत तथा उद्धारका लागि निकै सहज हुने भयो।’

प्रकाशित: ९ पुस २०७८ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App