१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले जाहेरी दिइनन्

बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी कर्मचारी महिलाले जाहेरी दिइनन्। महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भनि प्रहरीलाई जानकारी गराएको एक दिन वितिसक्दा पनि जाहेरी नदिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) एवम् प्रवक्ता मधुसुदन न्यौपानेले पीडित भनिएकी महिलाले बुधबार बेलुकासम्म जाहेरी दिन आउँदैछु भनेको तर, बिहीबार बेलुकासम्म पनि नआएको बताए। ‘जाहेरी दिन आउँदैछु भनेको पीडितले २४ घण्टा वितिसक्दा पनि जाहेरी नदिँदा सायद दुबै पक्ष मिल्नु भयो होला,’ उनले नागरिकसँग भने।

महिलाले यौन दुर्व्यवहार भएको आरोप लगाएपछि इलाका प्रहरी कार्यालय धनौली खजुराले बुधबार नै प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारलाई आफ्नो नियन्त्रणमा राखेको थियो। महिलाको जाहेरी नआएपछि दुबै जनालाई छाडिने प्रवक्ता न्यौपानेले बताए। महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि खजुराका युवाहरुको एक समूहले प्रमुख प्रशासकीय अधिकृत खरालमाथि बुधबार कार्यालयमै पुगेर हातपात समेत गरेको थियो।

घटना यस्तो छ  

उक्त गाउँपालिकाका कर्मचारीहरु गत शुक्रबार कैलालीको टिकापुरमा आवासीय वनभोजमा गएका थिए। उक्त दिन उनीहरु टिकापुरको होटलमै बास बसेका थिए। ति महिला कर्मचारीसहित अधिकांशले मदिरा सेवन गरेका थिए। वनभोजपछि नियमित काममा फर्केकी कर्मचारीले बुधबार एक्कासी यौन दुर्व्यवहारको आरोप लगाएपछि गाउँपालिकामा खैलाबैला मच्चिएको कर्मचारी बताउँछन्।

स्रोतका अनुसार ति महिलालाई जाहेरी नदिन गाउँपालिकाकै जनप्रतिनिधीले दवाव र प्रलोभन देखाएका थिए। उक्त घटना प्रहरीसम्म पुग्दा अन्य २/३ जना कर्मचारीको पनि संलग्नता खुल्ने भएपछि गाउँपालिकाले आन्तरिक रुपमा मिलाएको स्रोतले जनाएको छ। ‘यो घटनामा हाकिम दोषी छन् कि छैनन् त्यो त प्रहरी अनुसन्धानबाट नै खुल्ने थियो, प्रहरीले यो घटनाको अनुसन्धान गरेको भए अरु २÷३ जना कर्मचारीको पनि संलग्नता पुष्टी हुन्थ्यो,’ ती कर्मचारीले भने, ‘घटनामा संलग्न मुख्य व्यक्तिलाई जोगाउनकै लागि दोष जति हाकिम र लेखा अधिकृतमाथि थुपार्ने काम भयो र पीडितलाई पनि मिल्न दवाव दिइयो।’ स्रोतका अनुसार उक्त घटनामा गाउँपालिका स्वास्थ्य शाखाका एक कर्मचारीको पनि संलग्नता रहेको कर्मचारीले बताएका छन्।

प्रमुख प्रशासकीय अधिकृत खरालमाथि हातपात, कुटपिट, गाली गलौच तथा दुर्व्यवहार भएको भन्दै गाउँपालिकाका कर्मचारी आन्दोलित बनेका थिए। कर्मचारीले कुटपिटमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेपछि यौन दुर्व्यवहारको घटनाले फरक मोड लिएको हो। प्रहरीका अनुसार प्रमुख प्रशासकीय अधिकृत खरालमाथि बुधबार कार्यालयको हाताभित्रै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिकै छोरा विज्ञान कक्षपतिसहित आएका १२/१५ जना युवाको समूहले कुटपिट तथा हातपात गरेको थियो। गाउँपालिका अध्यक्षकै छोरा कुटपिटको घटनामा मुछिएपछि दुबै घटनालाई साम्य पार्न अध्यक्ष कक्षपतिले सक्रियता देखाएको बताइएको छ। ‘यौन दुर्व्यवहारको केशमा महिला कर्मचारीलाई जाहेरी नदिन लगाउने र कुटपिटमा संलग्न युवाहरुलाई पनि प्रशासकीय अधिकृतले माफी दिने गरी दुबै केशलाई मिलाउने सहमति भएको छ,’ कर्मचारी स्रोतले भन्यो।

उता  खजुरा गाउँपालिकाले गरेको आवासीय पिकनिक, महिला कर्मचारी माथी भएको भनिएको यौन दुर्व्यवहार तथा प्रमुख प्रशासकीय अधिकृतमाथि भएको घटनामा संलग्न व्यक्तिलाई यथासक्य चाडो कानुनी दायरामा ल्याउन खजुरास्थित राजनीतिक दलले पनि माग गरेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकृकीत समाजवादी) खजुराले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्। उक्त विज्ञप्तीमा कांग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिंजाली, नेकपा (माओवादी केन्द्र) खजुराका सचिव धनराम ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जितबहादुर खत्रीले हस्ताक्षर गरेका छन्।

गाउँपालिकाको बजेटबाट पिकनिक गएको, पिकनिकमा महिला कर्मचारीमाथी यौन दुर्व्यवहार गरिएको भनि लगाइएको आरोप र केही अराजक व्यक्तिले कार्यालय समयमै कार्यालयमा कार्यरत राष्ट्र सेवक कर्मचारीमाथि गरिएको हातपातको घटनामा संलग्न व्यक्तिलाई यथासक्य चाँडो कानुनी दायरामा ल्याउने गरि सम्बन्धित निकायबाट चाँडो छानबिनको प्रक्रिया अगाडि बढाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न उनीहरुको माग छ।

‘यस बिषयलाई गम्भीरतापूर्वक नलिइएमा हामी राजनीतिक दलहरुका तर्फबाट आवश्यक कदम चालिने र उक्त कदमबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवार स्वयं स्थानीय प्रशासन हुने व्यहोरा समेत जानकारी गराउँदछौं,’ उक्त विज्ञप्तीमा भनिएको छ। यही मंसिर १७ गते पिकनिक गएकै दिन एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार भएको भन्ने बिषयका साथै मंसिर २२ गते का दिन कार्यालय समयमा केही ‘अराजक’ व्यक्तिहरुले कानुन आफ्नो हातमा लिने धृष्टता गरी प्रशासकीय अधिकृतलाई गाउँपालिका प्रमुखको कार्यकक्षमा लगी कुटपिट गर्दा समेत गाउँपालिकाको तर्फबाट कुनैपनि किसिमको प्रतिक्रिया नआएकोमा राजनीतिक दलले आपत्ति जनाएका छन्।

‘स्थानीय युवाहरुले कुटपिट गरेको अवस्थामा समेत स्वयं कुटाई खाने कर्मचारी र अन्य कर्मचारीहरु मात्र नभई सुरक्षामा खटिएका सुरक्षा गार्डले समेत कुटपिट गर्ने व्यक्तिहरुलाई चिनेका छैनौ भन्नु, केही सञ्चारकर्मी मित्रहरुलाई कुटपिट सम्बन्धीको घटनाका बिषयमा समाचार नबनाउन भनि फोनमा धम्की दिने लगायतका कार्यको घोर भत्सर्ना गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।

जुनसुकै व्यक्तिलाई जतिसुकै जघन्य आरोप लागेको भएतापनि त्यो आरोप लगाउने व्यक्ति पीडित भनिएकोले सम्बन्धित निकायमा न्यायका निम्ती जाहेरी दिने र घटेको भनिएको घटना उपर सत्य तथ्य भए/नभएको बिषयमा छानबिन गरि दोषी उपर कारबाही गर्ने अधिकार प्राप्त राज्यका विभिन्न निकाय हुँदाहुँदै सो तर्फको कुनैपनि प्रक्रिया नअपनाई कुटपिट गर्नु निन्दनीय रहेको राजनीतिक दलले बताएका छन्।

प्रकाशित: २३ मंसिर २०७८ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App