धावनमार्ग मर्मतका लागि सुर्खेत विमानस्थलमा उडान बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन्। धावनमार्ग विस्तार, मर्मत र ओभर–ले गर्नका लागि मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको छ। सुर्खेत नागरिक उड्डयन प्राधिकरणका अनुसार पुस ५ गतेसम्मका लागि विमानस्थल बन्द हुनेछ।
धावनमार्ग मर्मतका लागि उडान नहुँदा सुर्खेत–काठमाडौं र साविकको कर्णालीका हुम्ला, जुम्ला, मुगु र डोल्पामा हुने उडानहरु ठप्प भएका छन्। प्राधिकरणका वरिष्ठ अधिकृत ध्रुव पाण्डेले धावनमार्ग मर्मतको काम द्रूतगतिमा भइरहेको बताए। ‘तोकिएको समय अगावै धावनमार्ग मर्मत, विस्तार र ओभर–लेको काम सक्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘प्रदेशबाट राजधानी जोड्ने एक मात्रै विमानस्थल भएकाले पनि द्रूतगतिले काम भइराखेको छ।’
सुर्खेतबाट बुद्ध एयरले दैनिक एक उडान भर्दै आएको थियो भने सीता एयर, समीट एयर र तारा एयरले दैनिक १० भन्दाबढी उडानहरु हुम्ला, जुम्ला, डोल्पा र मुगुमा भर्दै आएका थिए। ‘हिमाली तथा पहाडी जिल्लाहरुका नागरिकहरु तराई झर्ने समयमा उडान रोकिदाँ यो क्षेत्रका नागरिकहरु मारमा परेका छन्।
नागरिक उड्ययन प्राधिकरणले धावनमार्गभित्र पाँच–छ ठाउँमा खाल्डा परेकाले विमान उडान तथा अवतरणका बेला जोखिम थियो। प्राधिकरणले धावनमार्गमा खाल्डा परेको ठाउँमा भत्काएर कालोपत्रे गर्नुका साथै बाँकी ठाउँमा ओभर–लेको काम गर्नेछ। सँगै धावनमार्गको दायाँ र बायाँतर्फ २.५ मिटर थप कालोपत्रे गर्नेछ। ‘सेन्टरलाइन ओभर–ले र खाल्डा परेको ठाउँ कालोपत्रे हुने वित्तिकै दिउँसोको समयमा विमानस्थल सुचारु गर्ने तयारी हामीले गरेका छौं,’ पाण्डेले भने, ‘दायाँ–बायाँतर्फको कालोपत्रेको काम विमानस्थल सुचारु भएपछि पनि गर्न सकिन्छ।’
सुर्खेत विमानस्थलको धावनमार्गको लम्वाई १२ सय ५५ मिटर हो। विमानस्थलमा हवाईजहाज नचले पनि हेलिकोप्टरमार्फत उद्दार उडान भने भइरहेको छ। ‘विरामीको उद्दार तथा कर्णालीमा खाद्यान्न ढुवानीका लागि हेलिकोप्टर सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘तोकिएको समय अगावै विमानस्थल खुलाउने लक्ष्य अनुसार काम गरिरहेका छौं।’
काम चाँडो सक्न मुख्यमन्त्रीको निर्देशन
मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल मर्मतको काम जति सक्दो चाँडो सक्न निर्देशन दिएका छन्। विमानस्थल मर्मत सुरु भएको चार दिनको अवधिमा दुई पटक कामको निरीक्षण गरेका मुख्यमन्त्री शाहीले तोकिएको समय अगावै धावनमार्ग मर्मत, विस्तार र ओभर–लेको काम सक्न निर्माण व्यवसायी र प्राधिकरणलाई दिर्नेशन दिए। ‘कर्णाली हिमाली तथा पहाडी जिल्लाहरुका नागरिकहरु प्रदेश राजधानी र तराईका जिल्लाहरुमा झर्ने समय हो,’ उनले भने, ‘त्यसैले तोकिएको समयभन्दा पहिल्यै काम सम्पन्न गरेर विमानस्थल सुचारु गर्नेतर्फ लाग्नुहोस्।’
मुख्यमन्त्री शाहीले प्रदेश सरकारकातर्फबाट आवश्यक सममन्वय र सहयोग हुने बताए। मर्मतका लागि सुर्खेत विमानस्थल बन्द हुँदा कर्णालीबाट राजधानी जानुपर्ने यात्रुहरु बाँकेको राझा विमानस्थल पुग्नुपर्ने बाध्यता छ। यस्तै साविकको कर्णालीबाट प्रदेश राजधानी आउनुपर्ने यात्रुहरु पनि नेपालगञ्ज झरेर वीरेन्द्रनगर आउनुपर्ने बाध्यतामा छन्।
प्रकाशित: १३ मंसिर २०७८ १०:०२ सोमबार