२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

योनीमा च्यापेर लागूऔषध ओसारपसार

नेपाल–भारत सीमा रुपैडियाबाट एक युवती जमुनाह नाका पुग्छिन्। असाधारण क्रियाकलाप प्रस्तुत गरेकी ती युवतीलाई प्रहरीले शंकाको घरामा राख्छ र पछ्याउँछ। नसाले लठ्ठ उनलाई लागू औषध ओसारपसार पारेको शंकामा खोजतलास गर्दा चरेस भेटियो। गोजी तथा झोलामा चरेस भेटिएको होइन, उनले आफ्नो योनीमा राखेर चरेस नेपाल ल्याउँदै थिइन्।

सीमा क्षेत्रका सुरक्षाकर्मीलाई झुक्याउन उनले योनीमा राखेको चरेस प्रहरीले भेटायो। युवतीले योनीमा च्यापेर भारतीय बजार रुपैडियाबाट ल्याएको यो एउटा उदाहरण मात्र हो, पछिल्लो समय नेपाल–भारत सीमाबाट चरेस ल्याउन युवती परिचालन भएका छन्। युवतीले पनि सहजै लागूऔषध नेपाल भित्र्याउन विभिन्न उपाय लगाउँछन्।

हालै उनीहरुले नयाँ उपाय लगाए पनि प्रहरीले उक्त उपाय पत्ता लगाएको छ। सोहीअनुसार प्रहरीले युवतीलाई थप निगरानी बढाएको छ। महिला सुरक्षाकर्मीहरुले नै ति महिलाहरुलाई खोजतलास गर्ने गरेका छन्। ‘पछिल्लो समय युवती बढी प्रयोग भएको पाइएको छ,’ सीमा क्षेत्रका प्रहरी नायब निरीक्षक (सइ) मिनबहादुर बिष्टले भने, ‘पैसाको प्रलोभनमा युवतीहरु प्रयोग भइरहेका छन्।’

धेरै युवतीहरुले सुरक्षाकर्मीलाई छल्न योनीमा च्यापेर लागूऔषध नेपाल भित्र्याउने गरेको उनी बताउँन्। पुरुषभन्दा महिलालाई सजिलो हुँदा पनि लागूऔषध कारोबारीले उनीहरुलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ।

१७ देखि २२ वर्ष समूहकी युवतीहरु लागूऔषध ओसारपसारमा बढी प्रयोग हुने गरेको प्रहरीले जनाएको छ। माध्यमिक तह पूरा गरेका र अध्ययन गर्दै गरेका युवतीहरु यसको कूलतमा फस्दै गएका छन्। थोरै पैसाको प्रलोभनमा बेरोजगार युवतीहरु नकारात्मक बाटोमा हिँडेको प्रहरीले जनाएको छ।

‘पुरुष सुरक्षाकर्मीले महिलालाई खोजतलास गर्न मिल्दैन,’ उनी भन्छन्, ‘पछिल्लो समय महिलाहरु यस ओसारपसारमा प्रयोग हुन थालेपछि महिला सुरक्षाकर्मीहरु पनि बढाएका छौं।’ अहिले नेपाल–भारत सीमा क्षेत्र चारजना महिला सुरक्षाकर्मी थपिएका छन्। महिला सुरक्षाकर्मी सीमा क्षेत्रमा खटिएपछि महिलाहरुलाई खोजतलास गर्न सजिलो भएको प्रहरीले जनाएको छ। ‘सबै महिलालाई खोजतलास गर्दैनौं,’ सीमा सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षक (असइ) रुद्रा ओलीले भनिन्, ‘शंकास्पद अवस्था र सुराकी आयो भने खोजतलास गर्छाैं।’

नेपाल–भारत खुला सीमा कारण बाँकेमा लागूऔषधको कारोबार बढ्दो छ। सीमामा सुरक्षाकर्मीहरु परिचालन भए पनि चोरबाटोबाट लागूऔषध कारोबारीले लागूऔषध भित्र्याउने गरेका छन्। 

प्रकाशित: ४ मंसिर २०७८ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App