८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

६७ वर्षे जंग गिरीको सक्रिय जीवन: ७७५ रुपैयाँको बिचारी जागिरदेखि कृषि उद्यमीसम्म

कुनै बेला जिल्ला अदालतमा बिचारीको जागिर गर्दा जंग गिरीको मासिक तलब ७ सय ७५ रुपैयाँ थियो। अदालतमा आउने झैझगडा मिलाउने र विवाद समाधान नभए मुचुल्का तयार गरी न्यायाधीशसमक्ष पेस गर्नु उनको जिम्मेवारी थियो। 

अहिले ६७ वर्षका गिरीको दैनिकी भने होटल व्यवसाय, फलफूल खेती र पशुपालनमा बित्छ। जीवनको लामो यात्रामा पेसा र परिवेश बदलिए, तर श्रम गरेर आत्मनिर्भर बन्ने उनको बानी फेरिएको छैन। यद्यपि, आर्थिक संघर्षसँगै परिवारका सदस्य गुमाउनुको पीडाले उनको जीवनलाई उत्तिकै गाँजेको छ।

चन्दननाथ नगरपालिका–९ बयालकाटिया गाउँका गिरीले २०२९ देखि २०३६ सालसम्म जिल्ला अदालतमा बिचारीका रूपमा काम गरे। त्यतिबेला विष्णुबहादुर मगर जिल्ला न्यायाधीश रहेको सम्झँदै उनले आफ्नो कार्यक्षेत्र कालिकोट, मुगु र डोल्पासम्म फैलिएको बताए। विवाद समाधानका लागि दुवै पक्षलाई मिलाउने प्रयास गर्ने र त्यसो हुन नसके मुचुल्का तयार गरी न्यायाधीशलाई बुझाउने चलन रहेको उनी सुनाउँछन्।

‘त्यो बेला मेरो मासिक तलब ७ सय ७५ रुपैयाँ थियो,’ गिरीले विगत सम्झिए।

अदालतको जागिर छाडेपछि उनले २०३७ सालदेखि चन्दननाथ नगरपालिका–८ झुमखोला सरयापानीमा होटल व्यवसाय सुरु गरे। त्यही व्यवसायलाई निरन्तरता दिँदै उनले विस्तारै फलफूल खेती र पशुपालन पनि अँगाले। अहिले होटल सञ्चालनदेखि बगैंचाको रेखदेख र पशुपालनसम्मका काममा उनी आफैँ सक्रिय छन्। उमेरले ६७ वर्ष पुगे पनि कामप्रतिको उनको लगाव घटेको छैन।

झुमखोला सरयापानीमा ३ हजार ६ सय १० वर्गमिटर क्षेत्रफलमा फैलिएको उनको बगैंचामा १ सय ६० वटा स्याउका बिरुवा छन्। स्याउ खेती उनको आम्दानीको प्रमुख आधारमध्ये एक हो। यस वर्ष प्रतिकेजी ७० रुपैयाँका दरले स्याउ बिक्री गरेर ५८ हजार ८ सय रुपैयाँ आम्दानी गरेको उनले बताए। गत वर्ष भने स्याउबाट १ लाख ४२ हजार ८ सय रुपैयाँ कमाइ भएको थियो। स्याउ खेतीबाट सामान्यतया वार्षिक ९० हजार रुपैयाँ आम्दानी हुने उनको भनाइ छ।

स्याउमा मात्र सीमित नभई उनले बगैंचामा ओखर र कालो अंगुर पनि लगाएका छन्। बगैंचामा २० वटा दाँते ओखरका बोट छन्। ओखर प्रतिदाना आठ रुपैयाँका दरले बिक्री गर्ने उनले यसबाट २५ हजार रुपैयाँ आम्दानी गरेको बताए। ओखरबाट वार्षिक ४० हजार र कालो अंगुरबाट ३० हजार रुपैयाँ कमाइ हुने उनको भनाइ छ। एउटै बगैंचामा विभिन्न जातका फलफूल लगाएर उनले आम्दानीका स्रोत बढाएका छन्।

फलफूल खेतीसँगै पशुपालन पनि गिरीको आम्दानीको अर्को आधार हो। उनले ९५ हजार रुपैयाँमा भैँसी खरिद गरेका थिए। भैँसीको दूध प्रतिलिटर दुई सय रुपैयाँका दरले बिक्री गर्छन्। दूधसँगै दही बेचेर वार्षिक ४० हजार रुपैयाँ आम्दानी हुने उनले बताए।

पशुपालनलाई आवश्यक पर्ने घाँस उत्पादन र बिक्रीबाट पनि उनले आम्दानी गर्दै आएका छन्। घाँसको एक बिटा ६ सय रुपैयाँका दरले बिक्री गर्दा वार्षिक ५० हजार रुपैयाँ कमाइ हुने उनको भनाइ छ। यसरी होटल व्यवसाय, स्याउ, ओखर, कालो अंगुर, दूध, दही र घाँस बिक्रीबाट हुने आम्दानीले उनको दैनिकी चलिरहेको छ।

साविकको तलिउम गाविस र शनिगाउँ गाविस जाने सडकछेउमा रहेको उनको होटल स्थानीय बासिन्दाको आवतजावतसँगै जोडिएको छ। उक्त बाटो हुँदै सिंजा गाउँपालिका–५ र ६ का बासिन्दा ओहोरदोहोर गर्छन्। सडकछेउको होटल सञ्चालन गर्दै आएका गिरीले त्यससँगै कृषि र पशुपालनलाई पनि अघि बढाएर आफ्नो कामको दायरा फराकिलो बनाएका छन्।

तर, उनको जीवनको कथा व्यवसाय र आम्दानीमा मात्रै सीमित छैन। गत वैशाख १२ गते ६० वर्षको उमेरमा श्रीमती पाना गिरीको निधन भएपछि उनी एक्लिएका छन्। दुई छोरीको विवाह भइसकेको छ भने दुई छोरा अलग्गै बस्छन्। अर्का एक छोराको यसअघि ढुंगा खानीमा तोपिएर मृत्यु भएको उनले बताए। परिवारका सदस्यबाट टाढिँदै र प्रियजन गुमाउँदै आएका गिरीका लागि काम अहिले पनि जीवनलाई निरन्तरता दिने एउटा आधार बनेको छ।

चन्दननाथ स्कुलमा कक्षा ८ उत्तीर्ण गरेका गिरीले २६ वर्षको उमेरमा विवाह गरेका थिए। अदालतको जागिरदेखि होटल व्यवसाय र कृषि उद्यमसम्म आइपुग्दा उनको जीवनमा धेरै उतारचढाव आए। कुनै बेला अरूका विवाद मिलाउने जिम्मेवारीमा रहेका उनी अहिले आफ्नै होटल, बगैंचा र पशुपालनको स्याहारमा व्यस्त छन्।

६७ वर्षको उमेरमा पनि श्रम गर्न नथाकेका गिरीको जीवनयात्राले पेसा परिवर्तन गर्दै आत्मनिर्भर बन्ने प्रयासको कथा भन्छ। बगैंचाका फलफूल, भैँसीको दूध र सडकछेउको होटल उनका आम्दानीका आधार हुन्। तर, यी सबैका बीच श्रीमती र छोरा गुमाउनुको पीडा पनि उनीसँगै छ। संघर्ष, श्रम र पारिवारिक वियोगको यही संगमले उनको जीवनकथालाई फरक बनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App