५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

आठ वर्षपछि भरियो कुपिण्डेताल

सल्यानको पर्यटकीयस्थलको रूपमा रहेको कुपिण्डेताल आठ वर्षपछि पानीले भरिएको छ। विसं २०७० पछि पानीको सतह घट्दै गएको कुपिण्डेताल पानीले भरिएपछि मन्दिरसम्म पुग्न डुङ्गा चढ्नुपर्ने अवस्थामा पुगेको छ।

बनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेतालमा पानीको सतह बढेपछि तालमा घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको छ। सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत यस तालमा पानी भरिएपछि ताल आकर्षक र सुन्दर देखिएको छ।

ताल वरपरका खोलाबाट आउने बालुवा तथा सडक ताल वरिपरि निर्माण गरिएको सडकबाट निस्केको माटोले बर्सेनि ताल पुरिँदै गएकोमा यस वर्ष भने पानी पुरानै अवस्थामा भरिएको स्थानीयवासीको भनाइ छ। आजभन्दा करिब २१ वर्ष पहिले तालमा पानी भरिएर किनारमा रहेको मन्दिरसम्म पानी भरिएको भए पनि त्यसपछिका वर्षमा पानी घट्दै गइरहेको स्थानीयवासी तिलक गोसाईंले जानकारी दिए।

“तालमा पानीको सतह घट्दै जाँदा यसको सुन्दरता पनि हराउँदै गएको थियो, अहिले भने पानी पहिलेकै अवस्थामा आइपुगेको छ, पानी भरिएपपछि भक्तजन डुङ्गा चढेर मन्दिर आउने गर्न थालेको छन्”, गोसाईंले भने।

तालमा भरिएपछि तालको किनारमा निर्माण गरिएका प्रतीक्षालयलगायत रचना तालमा डुबेका छन्। सल्यानलाई कर्णाली प्रदेशको राजधानीसँग जोड्ने एक मात्र खलङ्गा बालुवा सङ्ग्रही सडकदेखि दुई किमी दूरीमा पर्ने कुपिण्डेतालमा पानी भरिएपछि ताल घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको स्थानीयवासी हरिहर कवर बताउँछन्। “मैले थाहा पाउने बेला जहाँसम्म पानी थियो यो वर्ष पनि त्यहीँसम्म पानीको सतह पुगेको छ, पानी कसरी भरियो भन्ने कुरा त खोजी होला तर अहिले भने ताल यति सुन्दर देखिएको छ कि यसले जसलाई पनि मोहित पार्न सक्छ”, उनले भने।

मन्दिरका पुजारी मानबहादुर गोसाईंले तालमा पानी भरिएपछि आकर्षक भएको र घुम्न आउनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन्। अहिले ताल घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको गोसाईंले जानकारी दिए। “तालमा पानी बढ्नुको खास कारण थाहा छैन, यही बेमौसमी वर्षाले नै तालमा पानी भरिएको हो भने पनि तालको पानी घटेर पुरानै अवस्थामा फर्किन करिब तीन महिना लाग्छ”, गोसाईंले भने।

ताल संरक्षणका लागि बर्सेनि लाखौँ रकम खर्च गरिएको भए पनि स्थानीयवासीमा सचेतना फैलाउन नसक्दा तालवरपरको सुन्दरता भने घटेको छ। वरिपरिका क्षेत्रमा चरिचरनका रूपमा प्रयोग गरिनु, डालेघाँसका रूपमा वनमा घाँस काट्नुले सुन्दरता घटन थालेको सरोकारवालाको भनाइ छ।

धार्मिक किंवन्दतीसँग जोडिएको यस तालमा सधैँ पानी स्वच्छ र सफा हुने भएकाले पनि यहाँ घुम्न आउनेको भीडभाड हुन थालेको छ। यस तालको छेउमा रहेको मन्दिरमा पूजाआजा गरेर वर मागेमा पूरा हुने जनविश्वास रहेकाले पनि यस क्षेत्रको धार्मिक महत्व पनि बढेको मन्दिरका पुजारी गोसाईंले बताए।

खलङ्गा–बालुवासङ्ग्रही सडकखण्डको स्तरोन्नतिको काम भइरहेकाले पनि तालमा घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको छ। ताल घुम्नको लागि झण्डै दुई दर्जन डुङ्गा सञ्चालनमा रहेका छन्। कुपिण्डेतालमा आन्तरिक र बाह्य गरी वार्षिक लगभग २५ हजार पर्यटक पुग्ने गरेका छन्। ताल घुम्नका लागि सुर्खेत, जाजरकोट, दैलेख, बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, रुकुमलगायत देशका विभिन्न जिल्लाबाट आउने गर्दछन्।

वर्षमा तीन पटक रङ फेर्ने कुपिण्डेताल २३ दशमलव ५३ हेक्टर क्षेत्रमा फैलिएको छ। तालको लम्बाइ ८३४ मिटर, चौडाइ २५० मिटर र गहिराइ ३४ मिटर रहेको छ। समुद्री सतहदेखि एक हजार १२० मिटर उचाइको तालमा पानीको भाग ५४ लाख ८२ हजार मिलिलिटर रहेको अनुमान छ।

प्रकाशित: २५ कार्तिक २०७८ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App