छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ।चारदिने छठ पर्वको तेस्रो दिन ब्रतालुले जलाशय किनारमा बनाइएको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।यो वर्ष कोरोना भाइरस संक्रमण जोखिम कम भएकाले गत वर्षको तुलनामा छठी घाटमा भक्तजन बढी भेला भएका थिए।
आस्थाको पर्व छठअन्तर्गत मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई पूजाअर्चनासहित अर्घ दिई यो पर्वको समापन गर्ने परम्परा छ। अर्घ दिँदा ठकुवा,कसार,केरा,उखु,गेडागुडी र विभिन्न वनस्पति,भुसवा,माटोको हात्ती,सुप,कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ। सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य,केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।
छठ पर्वको मूल सन्देश भनेको समन्वय, समावेशी र सादगीपन हो। छठ पर्वमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ,जो यसको महत्वपूर्ण पक्ष हो।अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा लिनुपर्छ भन्ने हो।
धनी,गरिब,कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादन प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो,जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ।सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन्। वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
ऋग्वेदमा सूर्य नै बल,यश,चक्षुस्रोत,आत्मा र मन भएको कुरालाई ध्यानमा राखी ब्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ।
प्रकाशित: २५ कार्तिक २०७८ ००:१७ बिहीबार