२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विश्वकै लामो रेडियो अन्तर्वार्ता लिएको पत्रकार निरौलाको दावी

विश्व रेडियो इतिहासमा नेपालबाट नयाँ विश्व किर्तिमान कायम गर्न दावी पेश भएको छ। ‘पर्यटन प्रर्वद्धन र जलवायु परिवर्तनको असर’ विषयमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार एवं हिमाल एफ.एम. सोलुखुम्बुका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले विश्वकै लामो रेडियो अन्तर्वार्ता लिएर गिनिज बुक अफ वल्ड रेकर्डस्का लागि दावी पेश गरेका हुन्।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत महत्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले उक्त अन्तरवार्ताको आयोजना गरिएको थियो। पर्यटन र जलवायु परिवर्तन जस्तो महत्वपूर्ण विषयमा विश्वमा सन्देश दिँदै नेपाली रेडियो प्रसारणको इतिहासमा विश्व किर्तिमान कायम गर्ने लक्ष्यसहित आयोजना गरिएको उक्त अन्तरवार्ता कार्यक्रम पर्यटनविद् आङफिन्जो शेर्पासँग भएको थियो।

कार्यक्रम यही कात्तिक २२ गते सोमबार विहान ७ः३५ बजे सुरु भई कात्तिक २३ गते मंगलबार बिहान ९ः०२ बजेसम्म लगातार २५ घण्टा २७ मिनेट लामो अन्तरवार्ता हिमाल एफएमको काठमाडौँस्थित स्टुडियोबाट लिइएर प्रसारण गरिएको थियो। यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरले खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड छ।

अष्ट्रेलियाको उक्त २४ घण्टा लामो अन्तवार्ताको रेकर्ड पत्रकार निरौला र पर्यटनविद शेर्पाले २५ घण्टा २७ मिनेट अन्तर्वार्ता लिएको दावी गर्दै उक्त अभिलेख गिनिज बुक अफ वल्र्ड रेकर्डमा कायम गर्नका लागि दावी पेश गरिएको हिमाल एफएमका अध्यक्ष निमा शेर्पाले जानकारी दिए।

सोलुखुम्बुका पत्रकार निरौलासँग पुर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह पूरा गरी रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरेको अनुभव छ। त्यस्तै, पर्यटनविद् आङफिन्जो शेर्पाले पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ।

प्रकाशित: २४ कार्तिक २०७८ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App