१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

मोरङ कारागारमा झडप: ६ घाइते, १४ कैदीबन्दीको स्थानान्तरण

मोरङ जिल्ला कारागारभित्र मंगलबार दुई समूहको कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। दोहोरो झडप भएपछि कारागार तनावग्रस्त भएको थियो।

झडपमा घाइते भएका ६ जनालाई विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराएपछि पुनः कारागार लगिएको छ। दोहोरो झडप भएपछि तनावग्रस्त भएको कारागारबाट घाइते भएको कैदीबन्दीसहित १४ जनालाई स्थानान्तरण गरिएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए।

उनका अनुसार मंगलबार नै सुनसरी र झापा कारागारमा स्थानान्तरण गरिएको हो। घाइते कैदीबन्दीह?को अवस्था सामान्य रहेको बताइएको छ।‘मंगलबार भएको झडपपछि अवस्था सामान्य बनाउनका लागि घाइते भएका कैदीबन्दीसहित १७ जनालाई स्थानान्तरण गरिएको छ,’ निमित्त प्रमुख पोखरेलले भने, ‘स्थानान्तरण गरिएकामध्ये ५ जनालाई सुनसरीको झुम्का र ९ जनालाई झापा जिल्ला कारागार लगिएको छ।’

मोरङ कारागारका चौकीदार किरण गुरुङ तथा अरु कैदबन्दीहरु शेखर राई, सूर्यदीप गुप्ता, पदमकुमार लिम्बू र निर्मल ढकाललाई झुम्का कारागार लगिएको छ भने रामकुमार लिम्बू, रमेश मण्डल, विशाल मोक्तान तामाङ, डिल्ली देवान, रोशन दाहाल, कपिलकुमार साह, एलएस नेपाली, राजु राई र मुस्कान भनिने बविहाङ राईलाई झापा लगिएको पोखरेलले बताए।

चौकीदार गुरुङको समूहमा रहेका नाइके र भाइनाइकेको समूहले अत्याचार गर्ने गरेको भन्दै अन्य असन्तुष्ट कैदीबन्दी झडपमा उत्रिएको स्रोतले बताएको छ। स्थानान्तरण गरिएकामध्ये चौकीदार गुरुङसहित शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता झडपमा घाइते भएका थिए।

मोरङ कारागारका चौकीदारलाई झुम्का लगेपछि उनको ठाउँमा कैदीबन्दी कार्तिक कामतलाई काम चलाउ चौकीदारको जिम्मेवारी दिइएको छ। कामत ज्यान मार्ने उद्योग मुद्दामा कैद साजय भुक्तान गरिरहेका छन्।

मुढा बनाउने बाँसका भाटालगायतको प्रयोग झडपमा भएको पाइएको छ। घाइतेहरुको टाउको र जिउमा चोट लागेको छ। गुरुङ समूहवि?द्ध अन्य कैदीबन्दी आन्दोलनमा उत्रिएपछि झडप भएको निमित्त प्रमुख पोखरेलले भने, ‘आन्दोलनमा उत्रिएका कैदीबन्दीले चौकीदार गुरुङसहित १४ जना कैदीबन्दीलाई भित्रै एउटा कोठामा थुनेरसमेत राखेका थिए। १४ जनालाई स्थानान्तरण गरेपछि अवस्था सामान्य बन्यो,’ निमित्त प्रमुख पोखरेलले भने, ‘कारागारमा उत्पन्न तनाव अन्त्यका लागि विवादित कैदीबन्दीको स्थानान्तरण गर्नु परेको हो।’ काठमाडौंस्थित डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभिषेक गिरीलाई मोरङ ल्याउने चर्चासँगै भदौयता मोरङ कारागारमा तनाव हुँदै आएको छ।

गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन्। गिरीलाई पुनः मोरङ कारागारको चौकीदार बनाएर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेसँगै चलखेल सुरु भएको थियो। डिल्ली बजार लैजानुअघि गिरी मोरङ कारागारमै चौकीदार थिए।

गिरीलाई काठमाडौं लगेपछि चौकीदारको जिम्मेवारी नवीन राईले पाएका थिए। पुनः गिरीलाई मोरङ ल्याइने भएपछि जिम्मेवारीमुक्त गर्दै राईलाई गत असोज १८ गते सुनसरीको झुम्का कारागार स्थानान्तरण गरियो। राईले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका छन्। राईलाई झुम्का लगेपछि किरण गुरुङलाई मोरङ कारागारमा चौकीदारको जिम्मा दिइएको थियो।

कारागारभित्रको टेलिफोन, पसल र खानाबाट मात्रै चौकीदारको राम्रो आम्दानीको स्रोत रहेको बताइन्छ। भदौ १७ गते डिल्ली बजारबाट मोरङ स?वा गरिएका अभिषेक गिरीलाई कात्तिक १६ गते मोरङ ल्याइएको थियो। तर, कैदीबन्दीका आफन्त र कारागारभित्र कैदीबन्दीसमेत आन्दोलन गरेपछि गिरीलाई सप्तरी कारागारमा लगेर राखिएको छ। २ सय ५० जना क्षमताको मोरङ कारागारमा ८ सय ९७ जना कैदीबन्दी छन्।

प्रकाशित: २३ कार्तिक २०७८ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App