५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा दिदीभाइकै मृत्यु भएपछि रत्नराजमार्ग अवरुद्ध

नेपाली सेनामा जागिर खाएको तीन वर्षपछि भेरीगंगा नगरपालिका–१२, छिन्चुका रवीन रानामगर दिदीको हातबाट भाइटीका लगाउन गत बिहीबार विहान लक्ष्मीपूजाको दिन रुकुम पश्चिमबाट घर पुगेका थिए। विहानको खाजा–खाना खाएपछि रवीन दिदीलाई स्कुटीमा राखेर भाइटीकाको किनमेलका लागि सदरमुकाम वीरेन्द्रनगरतर्फ लागे।  

दिदी–भाई सवार कर्णाली प्रदेश ०२०० प ७६६९ नम्वरको स्कुटरलाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले वीरेन्द्रनगर–११ को ठूलो व्युरेनी नजिकै मालवाहक ट्रकले ठक्कर दियो। दिदीसँग भाइटीकाको किनमेलमा हिँडेका रवीनको घटनास्थलमै मृत्यु भयो। दिदी रानी गम्भीर घाइते भइन्। कर्णाली प्रदेश अस्पतालको आइसियूमा उपचाररत रानीको पनि आइतबार राति ११ बजे मृत्यु भयो।

अस्पतालमा उपचाररत रानीको पनि मृत्यु भएपछि सिंगो भेरीगंगाको छिन्चु क्षेत्र स्तब्ध छ। पीडितहरु गाडी धनी र समिति सम्पर्कमा नआएको भन्दै निरन्तर आन्दोलित छन्। पीडितहरुको आन्दोलनका कारण रत्न राजमार्ग अवरुद्ध भएको छ।

भेरीगंगा नगरपालिकाका उपमेयर एवम् स्थानीय रेणु आचार्य ढकालका अनुसार २६ वर्षीय रवीनले दसैंमा भागी विवाह गरेका थिए। फुपाजु बितेको एक वर्ष नपुगेकाले घरमा भित्र्याएका थिएनन्। भगाएर ल्याएको श्रीमतीलाई छिन्चुमै कोठा लिएर राखेका थिए। ‘तीन वर्षपछि दिदीको हातबाट टीका लगाउन आएकाले किनमेल गर्नका लागि उनीहरु वीरेन्द्रनगर जाँदै थिए,’ उनले भनिन्, ‘कल्पना नगरेको घटना भयो।’

रवीनको दरबन्दी नवलपुर हो। उनी तालिम सिलसिलामा रूकुम पश्चिम गण आएका थिए। रानी छिन्चुमै रहेको छिन्चु बोर्डिङ स्कुलमा माध्यमिक तहमा पढाउँथिन्। २९ वर्षीया रानीले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी थिइन्। 

प्रकाशित: २२ कार्तिक २०७८ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App