१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दरबारमार्गमा एउटा फरक ‘ब्राण्ड’

काठमाडौँको दरबारमार्गमा जुत्ता चप्पल मर्मत गर्दै जनकपुर, जलेश्वरका सुजित महरा। तस्बिरः नागरिक

काठमाडौँको दरबारमार्ग भन्नासाथ सम्पन्न व्यक्तिको कारोबार हुने स्थानको जस्तो लाग्छ। बजारको मुटु मानिने यस मार्गमा के.एफ.सी, पिजा हट, ओमेगा, लिभाइस लगायत दर्जनौ महंगा ब्राण्डहरु छन्।

यसै लहरमा सुजित महराको एउटा फरक ब्राण्ड विगत एक दशकदेखि संंचालनमा रहेको छ। जनकपुर, जलेश्वरका सुजित महरा विगत १० वर्षदेखि दरबारमार्गमा जुत्ता चप्पल मर्मतको काम गर्दै आएका छन्।  

यो उनको बाबुले रोजेको पेशा थियो तर पिताको निधनपछि आफूले यस कामलाई निरन्तरता दिएको सुजितले सुनाए। ‘परिवारमा थुप्रै समस्या आए,’ उनले भने, ‘मागेर अगाडि बढ्नु भन्दा मैले बुबाकै पेशालाई निरन्तरता दिन थालेँ।’  

 ‘यहि मेरो सोरुम हो, यहि मेरो घर हो,’ उनले हास्दै भने, ‘घाम पानीमा छाता ओढ्छु मन लगाएर काम गर्छु।’

सुजित महरा २०६८ सालमा काठमाडौँ आएका हुन्। उनले पिताको कामलाई अगाडि बढाउन उनी त्यहीँ स्थानमा जुत्ता चप्पल मर्मत गर्न थाले जहाँ उनका पिताले गर्थे। सुजितको परिवारमा उनको भाइ, तीन दिदीबहिनी र आमा छन्।

कक्षा ८ मा अध्ययनरत सुजित काठमाडौं आउँदा उनको सपना परिवारलाई पाल्ने थियो र उनी आजसम्म यो काममा सफल बनिरहेका छन्।

आफ्नो कामप्रति उनलाई कुनै गुनासो छैन। उनका कतिपय साथीभाइहरु कमाउनको लागि खाडी मुलुकमा गएका छन्। तर उनी आफ्नै काममा मग्न छन्।

सुरुमा काम थाल्दा नयाँ ठाउँमा केही असहज महशुस गरेको उनले बताए। तर दरबारमार्गको स्थानीय पसलेहरुका मानिसले उनलाई साथ, सहयोग र प्रेरणासमेत दिएको उनी बताउँछन्। उनका प्रायः ग्राहकहरु जुत्ता पोलिस गर्न आउँछन्।

उनले त्यसबापत ५० देखि ६० रुपैयाँ र जुत्ता अथवा चप्पलको मर्मतअनुसार एक सय रुपैयाँदेखि एक सय ३० रुपैयाँसम्म लिने  गरेको बताए।

जसबाट सुजितले दैनिक ६ सयदेखि १ हजारको हाराहारीमा कमाउने गर्छन्।

उनी हप्ताको सातै दिन काममा आउँछन्। उनी भुइमा बसेर काम गर्छन् भने आकाश नै उनको छानो हो। उनी दरबारमार्गबाट राजदरबार जाने बाटोको बायाँपटिको पैदलमार्गमा स्याम्स वान ट्रि क्याफे अगाडि बसेर काम गर्छन्।

उनी अहिले काठमाडौंको बागबजारमा आफ्नी आमा र भाइसंगै बस्दै आएका छन्। उनको सपना आफ्नो भाइलाई स्नातक तहसम्म पढाउने छ। आफूले पढाई नगरेता पनि भाइलाई भने पढाउने आफ्नो सपना रहेको उनले सुनाए। त्यस पश्चात मात्र उनी आफू वैवाहिक जीवनमा बाधिने उनले बताए।

उनी रमाएर काम गर्छन्। काम गर्न उनी विहान खाना खाएर ९ बजे आउँछन् र बेलुका काम अनुसार अवेर साँझसम्म बस्ने गर्छन्। उनले मर्मत गर्दा प्रयोग गर्ने पालिस, धागो, लेदर आदि भारत र चीनबाट मगाउने गरेको बताए। उनले प्रयोग गर्ने सामान क्वालिटीको होस् भन्ने चाहाना रहेको बताए। ग्राहकहरुको जुत्ता महँगो भएकोले राम्रो सामानको प्रयोग गर्ने गरेको उनले बताए।

यसरी बाटोमा काम गर्ने अनुमति छैन तर यहाँका स्थानीयहरुको सल्लाहमा त्यहाँ काम गर्न उनलाई सजिलो भएको उनले सुनाए। ‘यहि मेरो सोरुम हो, यहि मेरो घर हो,’ उनले हास्दै भने, ‘घाम पानीमा छाता ओढ्छु मन लगाएर काम गर्छु।’

प्रकाशित: १६ कार्तिक २०७८ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App