२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मानवीय त्रुटीले जलवायुमा हलचल

झण्डै एक दशकअघिसम्म जुम्लाका वनजंगलमा चराहरुको चिरबिर निकै सुनिन्थ्यो। जताततै पानीका मुहान थिए। बाली पाक्ने र लगाउने चक्र एकैनासको थियो। मौसम एकैनासको हुँदा अन्नबाली सप्रिन्थ्यो। तर पछिल्लो समयमा मानव स्वास्थ्यमा नयाँ प्रकारका रोगको संक्रमण हुने गरेको छ। बेमौसमी बस्तुको विकास भइरहेको छ।

चराहरुले जेठ असारमा गुँड बनाउँथे। अहिले कार्तिक असोजमा पनि चराहरुले गुँड बनाएको देखिन्छ। तिला गाउँपालिका ७ का रत्नलाल रोकाया कहिले निकै खडेरी पर्ने र कहिले धेरै पानी पर्ने समस्याले आजित बनाउन थालेको बताउँछन्। उनले भने, ‘अतिबृष्टि र अनाबृष्टिले जनजीवन प्रभावित हुने गरेको छ। हिउँदमा हिउँ पर्दैन। यो वर्ष कात्तिकमा भारी वर्षा भयो। कहिले पनि कात्तिकमा वर्षा भएको थिएन।’

उनले जुम्लाको तापक्रममा पनि वृद्धि भइरहेको बताए। जुम्लामा मच्छर लाग्न थालेका छन्। सिमी खेती वर्षमा दुई पटक गर्न सकिन्छ। रत्नलालले थपे, ‘गहुँबाली मंसिरमा छरेर कात्तिकमा भित्र्याउने गरन्थ्यो। अहिले असार महिनामै पाक्छ।’

पहिले लेकाली क्षेत्रमा पाँच फुट हिउँ परिरहेको हुन्थ्यो। सिँचाइको कुनै समस्या हुँदैनथ्यो। हिउँ पग्लेर बगेको पानीले धान खेती हुन्थ्यो। अहिले आकाशे पानीको भरमा रोपाइ चल्छ।

तराईमा हुने अनार फल्छ। बेसार खेती हुन्छ। अंगुर राम्ररी पाक्छ। केराको बोट उम्रिन थालेका छन्। अदुवाको खेती हुन थालेको छ। बदाम पनि पाक्छ। उतिबेला घरबाट निस्कँदा हिउँले घरको ढोका पुरिएको हुन्थ्यो। जेठको महिनासम्म हिउँ देख्न पाइन्थ्यो। जमिनमा चिस्यान रहिरहँदा खेतीपाती राम्रै हुन्थ्यो। अहिले वैशाख जेठ महिनामा असिना पर्छ तर हिउँदमा हिउँ पर्दैन।

जुम्लामा पहिले देखिने चरा लोप भइसकेका छन्। अहिले जंगलमा सुगा बास्न थालेका छन्। यो पटक सुगा कराएको आवाज सुनिएको थियो।

स्वास्थ्यका क्षेत्रमा डरलाग्दा रोगहरु देखिन थालेका छन्। उतिबेला स्वास्थ्य उपचारको व्यवस्था थिएन। मानिस हट्टाकट्टा हुन्थे। शुद्ध अर्गानिक खान्कीले रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्थ्यो। अहिले आयातित विषादीयुक्त खानाको प्रयोग भइरहेको छ। जसका कारण टाइफाइट र मलेरिया जस्ता रोगपनि देखिन थालेको छ। कमलपित्त र मधुमेह देखिन्छ।

गाउँबस्तीमा खानेपानीका मुहान सक्दैछन्। वनजंगल मासिँदै छ। जंगलमा कस्तुरी भेटिँदैन। अहिले रतुवा गाउँबस्ती नजिकैसम्म आउने गरेको छ। रतुवा जुम्लाका अधिकांस गाउँमा हुँदैनथ्यो। डाँफे लोप भइसक्यो। कालिज टन्न हुन्थ्यो। गिद्द लोप भयो। स्याल फस्टाएको छ। बाघ देखिन छाडेको छ। जनवारको वासस्थानमा प्रभाव पारेको छ।

'जलवायु परिवर्तनको कारक मानवजाति नै हो', उनले भने,‘अब जलवायुको संरक्षण गरेर मानवजातिको विकासमा नयाँ उमंग ल्याउन जरुरी छ। घरमा गोब्बर ग्यासले खाना पकाउनुपर्छ। सोलार प्रयोग गरेर विजुली उत्पादन गर्नुपर्छ। विजुली बत्तिको व्यवस्था हुनुपर्छ। जंगलमा वृक्षारोपण गर्नुपर्छ। हिजोको जंगल अहिले खेतीयोग्य जमिन छन्। प्लाष्टिकजन्य वस्तुको व्यवस्थापन हुनुपर्छ। अहिले टेक्ने ठाउँ छैन। हिजोको पुस्ता नांगै हिँड्थ्यो। प्लाष्टर भएको ठाउँमा अन्नपात हुँदैन। टन्न अन्नबाली उत्पादन गर्न गह्रा सुधार हुनुपर्छ। खोरिया खन्न दिनुहुँदैन।’

मार्सी धानमा रोगकिराको प्रकोप छ। वर्षदिन पाक्ने बाली छोटो समयमै पाक्छ। जलवायु परिवर्तनको असर कम गर्न स्थानीय सरकारले खासै चासो नदिएको स्थानीय बताउँछन्। पहिले काठमाडौँ बसेर कर्णालीका योजना बने। अहिले गाउँपालिकामै बसेर गाउँका योजना बन्छन्। स्थानीय चेतबहादुर खत्रीले भने,‘गाउँमा सरकार छ। योजना छैन। जथाभावी डोजर प्रयोग गर्नुलाई विकास ठानिन्छ। प्राकृतिक सुन्दरता कुरुप बन्दै गइरहेको कसैलाई थाहा छैन।’

नदीमा माछा लोप हुँदैछन्। घरभित्र र शौचालयको फोहोर सिधैँ नदीमा फालिन्छन्। जलवायु परिवर्तनका असर रोक्न केही गाउँमा खोरिया खन्न बन्देज छ। घरघरमा शौचालय छन्। सुधारिएका चुलोको व्यवस्था छ। प्लाष्टिक जन्य वस्तुको व्यवस्थापन गर्न महिनामा सरसफाइ हुने गरेका छन्। त्यो दिन जलवायु परिवर्तनको असरबारेमा छलफल हुन्छ।

जलवायु परिवर्तनको असर रोक्न योजना निर्माण होस। जनचेतनामुलक कार्यक्रम गरोस् भन्ने चाहना जुम्लावासीको छ। जुम्लामा विभिन्न सामाजिक संघसंस्थाले जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका छन्। नाङ्गा पाखामा वृक्षारोपण गर्ने, छरिएको पानीलाई एकीकृत गर्न सिँचाइ कुलो बनाउने, तटबन्ध निर्माण गर्नेदेखि पहिरो तथा भूक्षय रोक्नको लागि पहल गरिरहेका छन्।

जलवायु अनसारको बेमौसमी खेती गर्न पनि किसानलाई उत्प्रेरित गरेको छ। जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा जलवायु परिवर्तनले निकै ठूलो हलचल ल्याएको बताउँछन्। उनले भने, ‘सबै मिलेर जलवायु परिवर्तनको असर रोक्न पहल गर्नुपर्छ।'

प्रकाशित: १४ कार्तिक २०७८ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App