२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बालविवाह घटाउन अभिभावकले आफ्नो अनुभव सुनाए

बालविवाह न्यूनीकरण गर्न दैलेखको गुरासँ गाउँपालिकामा बालबालिका र अभिभावक एउटै कार्यक्रममा सहभागी भए। त्यो पनि दलित समुदायका अभिभावक र बालबालिकाहरु। यसरी बालबालिका र अभिभावकलाई एउटै कार्यक्रममा सहभागी गराएर बालविवाह न्यूनीकरण गर्न सम्वाद गर्ने प्रचलन प्रायः हुँदैन। तर, दैलेखको गुराँस गाउँपालिका–२ को डुडापोखराको दलित बस्तीका २५ घरधुरीका अभिभावक र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुसँगै बसेर बालविवाह कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर सम्वाद गरेका हुन्।

कलिलै उमेरमा बिहे गरेका कारण भोगेका अनुभव अभिभावकहरुबाट सुन्दा बालबालिकाको मन बहकिएको थियो। यसअघि उनीहरुले अभिभावकका यस्ता अनुभव कहिल्यै सुनेका थिएनन्। सानै उमेरमा विवाह गर्दा भएका असरको बारेमा सुन्दै गर्दा बालबालिकाहरुले बालविवाहले पार्ने सामाजिक तथा आर्थिक समस्याको बारेमा बुझ्ने अवसर पाए। सामाजिक, आर्थिक र राजनितिक रुपमा पछाडी परेको यो समुदायका किशोरकिशोरीहरु १५÷१६ वर्षकै उमेर बिहे गर्छन्। माध्यमिक शिक्षा उर्तीण नगरुन्जेल कमाउनका लागि विद्यालय छोडेर भारत जाने प्रायः समस्या छ।

सम्वादकै क्रममा गाउँकै ३२ वर्षीया मोतिकला नेपालीले आफूले १२ वर्षको उमेरमा बिहे गरेको बताइन्। आफू हुर्किन नपाउँदै बाबुआमाले राम्रो केटा भनेर मागी बिहे गरिदिए। उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘सानै उमेरमा बिहे गरेका कारण मेरो स्वास्थ्य कमजोर छ। कमाएको पैसा औषधी उपचारमै खर्च गर्नुपर्ने बाध्यता छ।’

उनका केही बच्चा गर्भमै तुहिए। केहीको जन्मदा जन्मिदै मृत्यु भयो। उनीसँग अहिले १ छोरा र १ छोरी छन्। जुन अप्रेशन गरेर जन्माएका हुन्। उनले आँशु झार्दै भनिन्, ‘मैले सानै उमेरमा बिहे गर्दा एकातिर स्वास्थ्य कमजोर भयो भने, अर्काेतिर पढाइ पनि बिग्रियो।’ उनी अचेल बालविवाह विरुद्धकी अभियन्ता भनेर समाजमा उभिएकी छिन्। उनको नेतृत्वमा धेरै बालविवाह रोकिएको छ।

आमाको दुःख सुन्दै गर्दा वर्ष १५ कि मोतिकलाकी छोरी सुस्मिताले उमेर नपुगी बिहे नगर्ने बताइन्। सुस्मिता अहिले कक्षा १० मा अध्ययनरत छिन्। यसअघि उनले कहिल्यै आमाले भोगेका अनुभव सुन्न नपाएकी सुस्मिता आमासँगै भावुक बनिन्। ‘बालविवाह कानुनी अपराध हो भन्ने त मैले सुनेकी थिएँ। तर, यति असर पर्ला भनेर सोचेको थिइनँ्,’ सुस्मिताले भनिन्, ‘आमाको भोगाई सुन्दा मलाई लाग्यो कि अब, उमेर नपुगी बिहे गर्दिनँ।’  

त्यसैगरी १५ वर्षको उमेरमा बिहे गरेकी डिलु नेपालीका पनि ३ वटा बच्चा छन्। उनी अहिले २५ वर्षकी भइन्। आमाले दोस्रो बिहे गरेको र आर्थिक अवस्था कमजोर भएपछि कलिलै उमेरमा बिहे गर्नुपर्ने बाध्यता भएको आफ्ना छोरा–छोरीमाझ सम्वादमा डिलुले आफ्नो अनुभव सुनाइन्।

पहिला मागेर हुने बालविवाह अहिले आफै गर्ने प्रचलन बढेको छ। कलिलो उमेरमै विवाह गर्ने कारण पारिवारिक संंस्कारले पनि प्रभाव पार्ने जानकी पुन मगरको अनुभव छ। स्नातक तहमा अध्ययनरत २४ वर्षीया जानकीले अझै कोसँग कहिले बिहे गर्ने निर्णय गरिनसकेको बताइन्। ‘मसँगका साथीहरुले २÷३ वटा केटाकेटी जन्माईसके। मैले अझै विवाह गर्ने निर्णय गरिसकेकी छैन्’ जानकीले भनिन्।

विवाह छिटो हुनुमा आर्थिक समस्या पनि एक प्रमुख कारण भएको सामाजिक सेवा केन्द्र(सोसेक) नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए। गरिबीसँगै दिनप्रतिदिन बढ्दै गएको टेक्नोलोजीको प्रयोग पनि बालविवाहको कारण रहेको बालसंरक्षण अधिकृत अधिकारीले बताए।

प्रकाशित: १० कार्तिक २०७८ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App