१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीमा प्रहरीको हत्या गर्ने नाै जनालाई जन्म कैदको फैसला

कैलाली धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द वि.क.र प्रहरी जवान रामबहादुर साँउदको हत्यामा संलग्न ९ जनालाई जिल्ला अदालत कैलालीले जन्म कैदको फैसला सुनाएको छ। न्यायाधिश जयानन्द पनेरुको एकल ईजलाशले मंगलवार प्रहरीको हत्या भएको मुद्दामा ९ जनालाई जन्म कैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार राईभान कुन्जेडाले बताए।

मुख्य योजनाकार धनगढी उपमहानगरपालिका १० का ३५ वर्षीय सुक बहादुर भनिने अमर बहादुर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गव्वर भनिने राजकुमार राना, राम निवास राना, दलराम राना, वडा नम्वर ११ का गोपाल राना र रोहित राना लाई जन्म कैद सुनाइएको उनले बताए।

प्रहरी हत्याको मुद्दामा क्रुर रुपमा हत्या गरेर जघन्य अपराध गरेको भन्दै आजिवन कैद सजाय मागदावी गरिएपनि अदालतले जन्म कैदको मात्र सजाय सुनाएको हो। जन्म कैदमा २५ बर्ष जेल सजाय हुने उनले बताए।

मटर तस्करी गराउने हत्याका मतियार भनिएका व्यापारीलाई सफाई

प्रहरीको हत्यामा संलग्नहरुलाई भारततिर तस्करी गर्नका लागी मटर उपलब्ध गराउने आरोप लागेका व्यवसायी राजिव गुप्तालाई न्यायधिश पनेरुको ईजलाशले सफाई दिने फैसला सुनाएको छ। यस अघि गुप्तालाई १ लाख ५० हजार धरौटीमा छोडिएको थियो। 

प्रहरीको हत्यामा संलग्नहरुलाई मटर उपलब्ध गराउने व्यवसायि गुप्ता पनि प्रहरी हत्याका मतियार रहेको भन्दै उनका बिरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्धा दर्ता गराएको थियो। ‘प्रहरीको हत्या हुदाँ गुप्ता घटनास्थलमा नभएपनि उनी हत्याको मतियार भएकाले हामीले कर्तव्य ज्यान मुद्धा दर्ता गरेको हौं’ तत्कालिन प्रहरी उपरिक्षक अनुप शमशेर जवराले भनेका थिए।

के थियाे घटना?

२०७७ कात्तिक १ गते राती ८ः३० बजे खाना खाएर असई गोविन्द प्रहरी जवान साउँदलाई मोटरसाईकलमा पछाडी वसालेर गस्तीमा निस्के। अस्थाई पोष्टदेखि करिब ५ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा पुगे। यो सधै तस्करी भैरहने नाका हो। तस्करहरुले समान ओसार्ने वाटो नजिकै एउटा झ्याङमा असई र प्रहरी जवान वसिरहे। राती १०ः३० बजेतिर भारततर्फ लैजान गोरुगाडामा मटर राखेर ९ जनाको समुह आयो। 

असई र प्रहरी जवानले गोरुगाडालाई रोकेर समान नियन्त्रणमा लिन खोजे। शुरुमा उनीहरुले प्रहरी जवान र असईलाई पैसा दिएर समान छुटाउन कोसिस गरे। समान छोड्न नमानेपछि तस्करहरुको समुहले असई र प्रहरी माथी लठ्ठी र फरुवाले आक्रमण गरेर हत्या गरे। असईसँग पेस्तोल थियो। तर उनले पेस्तोल समेत झिक्ने मौका नपाउदै उनीहरुले आक्रमण गरेर हत्या गरे। फरुवाले बिभत्स रुपमा घाँटी काटेर दुवैको हत्या गरेका थिए। 

हत्या गरेपछि कोही फेला नपारुन भनेर तस्करहरुले नदीको बीच भागमा खाल्डो खनेर असई र साउँदको शव गाडेका थिए। करिब ५० मिटरको दुरीमा अलग अलग ठाउँमा खाल्डो खनेर दुवैको शव गाडीएको थियो। 

खाल्डो माथिको वालुवा नदीले बगाउँदा एउटा खु्ट्टा माथी देखिएकाले दोश्रो दिन कात्तिक २ गते असई बि.कको शव फेला परेको थियो भने खाल्डोमा नदी भित्र गाडिएकोले प्रहरी जवान साउँदलाई भेट्टाउन सकिएको थिएन। पक्राउ परेकाहरुले देखाएपछि मात्र कात्तिक ४ गते बीच नदी भित्र गाडेको अवस्थामा प्रहरीको जवान साउँदको शव फेला परेको थियो। 

प्रकाशित: १० कार्तिक २०७८ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App