१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वर्षाले सडक भत्काएपछि आधा दर्जन गाडी बाटैमा अलपत्र

केही दिनअघि लगातार ३/४ दिनसम्म परेको अविरल वर्षाले पहाडी भेगका सडक ध्वस्त भएपछि आधादर्जन बढी यात्रुबाहक तथा मालबाहक सवारी साधन बाटोमै अलपत्र परेका छन्।

निरन्तरको वर्षाले सडक भत्काउनुका साथै पहिरोले पुरेपछि सवारी साधन बाटोमै थुनिनु परेको हो।

वर्षाले सडक बिगारेपछि सदरमुकाम र गाउँबीचको नियमित यातायात आउजाउ रोकिन पुगेको छ भने बीच बाटोमा थुनिएका साधन निकाल्न सडक मर्मतमा व्यवसायी आफै लागेका छन्। वर्षाले भत्काएपछि गाईघाट–मुर्कुची–पुँवारे–भुटार–लाफागाउ्ँ खण्डको सडकमा रोकिएका दुईवटा यात्रुबाहक बस साता दिनयता त्यहीँ अड्किएका छन्। ती बस निकाल्न सोमबार मात्र सदरमुकामदेखि स्काभेटर पठाइएको हिमाली केन्द्रका महासचिव उमेश बस्नेतले बताए।

उनका अनुसार त्यसैगरी अड्किएका २/३ वटा बस तथा ट्याक्टर भने दुई दिनअघि निकालिएको छ। यातायात व्यवसायीहरु आफ्नै खर्चमा स्काभेटर लगेर सडक मर्मत गरी थुनिएका बस र ट्याक्टर निकाल्न सफल भएको बस्नेतले बताए। लाफागाउँ–जाँते खण्डको सडक दुवैपट्टि भत्केर आउजाउ रोकिएपछि दुईवटा बस सडकमै अलपत्र पर्नु परेको हो। सडक बिग्रेर बस बीच बाटोमै रोकिएपछि यात्रुहरु पैदल हिडेर गन्तव्य पछ्याएको तर, बस भने त्यहीँ रोकिनु परेको हो।

अहिले बिग्रेको सडक मर्मत गर्ने क्रम चलिरहेको हुनाले बुधबारसम्ममा बस निकाल्न सकिने संभावना रहेको बस्नेतले बताए। धेरै ठाउँमा सडक बिग्रे भत्केको हुनाले बनाउँदै जादा समय लाग्न सक्ने बस्नेतले बताए। बस रोकिएको ठाउँ भुटारदेखि २०/२५ किलोमिटर उत्तरमा पर्ने तर, स्काभेटर त्यहाँसम्म पुग्न पनि आधा दर्जन बढी ठाउँमा मर्मत गर्नु पर्ने भएकाले समय लाग्नसक्ने केन्द्रले जनायो।

स्थानीय तहहरुले मर्मत गर्नुपर्ने सडक बेवास्ता गर्नाले व्यवसायी र यात्रु दुवैलाई कठिनाई परेको गुनासो छ। गाउँगाउँमा सरकार भए पनि दायित्व पूरा गर्नेतर्फ जनप्रतिनिधिले चासो कम दिँदा सडकको दुरावस्था कायमै रहेको व्यवसायीहरु बताउँछन्। सडक भत्केर बस थुनिएको यतिका दिन बितिसक्दा पनि जनप्रतिनिधिले चासो नदिएपछि सदरमुकामदेखि स्काभेटर पठाउनुपरेको हिमाली यातायात केन्द्रले जनाएको छ।

व्यवसायीका अनुसार वर्षाले सदरमुकामँग जोडिएका थुप्रै पहाडी भेगका सडकहरु कामै नलाग्ने गरी भत्किएका छन्। पहाडका सडकहरु बिना इन्जियिरिङ बनेका र कच्ची भएकाले सामान्य वर्षाले नै भत्काएर यातायात अवरुद्ध हुन पुग्ने गरेको छ। धेरैजसो सडकहरु माटो काटेर मात्र बनेका कारण सामान्य वर्षामै बगेर भत्कने गरेको छ भने कतिपय सडकहरु चाही नाला नहुँदा पानीले चिरा पार्ने गरेर गाडी चल्न नसक्ने अवस्थामा पुगेका छन्। केन्द्रका अध्यक्ष छिमेकी जिल्ला खोटाङलाई सोझो याताायतले जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग ठाउँठाउँमा भत्कन पुगेर यातायात अवरुद्ध हु्न पुगेको छ भने त्यससँग जोडिएका शाखा उपशाखा सडकहरु पनि सबै ध्वस्त हुन पुगेपछि यातायात अवरुद्ध हुन पुगेको हो।

गाईघाट–दिक्तेल सडकसँग जोडिएर उदयपुरका साविक खाँबु, रौता, आँपटार, रसुवा, बलम्ता, जाँते, ताम्लीछा जोडिएका कच्ची सडकहरु सबै भत्केर आवागमनमा कठिनाई आएको छ। त्यस्तै लिमचुङबुङ गाउँपालिका र रौतामाईका आन्तरिक सडकहरु भत्केर ध्वस्त भएका छन्। उता ताप्ली र उदयपुरगढी गाउँपालिकाका आन्तरिक सडकहरु पनि अस्तव्यस्त भएका छन्। वर्षाले आन्तरिक सडक भत्काएका कारण ताप्ली गाउँपालिका केन्द्र रुपाटारसम्म पुग्नसमेत हम्मेहम्मे भएको अध्यक्ष उद्धवसिंह थापाले बताए।

प्रकाशित: ९ कार्तिक २०७८ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App