५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिममा बाढी पहिरोले २० को मृत्यु, २४ जना बेपत्ता

सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर २० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। २४ जना वेपत्ता भएका छन्। सयौँ परिवार विस्थापित भएका छन्। सयौँ चौपाया मरेका छन्। बाढी पहिरोले डोटीमा १३ जना, बैतडीमा ४ जना र डडेल्धुरामा २ र बझाङमा १ जनाको  मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक बिक्रम चन्दले बताए।

डोटी सायल गाउँपालिका ६ मेल्लेखमा सोमबार राती घर भत्किँदा १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ। यसैगरि डोटी जोरायल ४ नवलपुर वस्ने ६३ वर्षीय जोगी सार्कीको घरमाथि पहिरो खस्दा उनी र उनको ५५ वर्षीय पत्नी झुपरी सार्कीको मृत्यु भएको छ।

यसैगरि जोरायल ४ सयलगडामा एकै घरमा ४ जनाको मृत्यु भएको छ। ४३ वर्षीय शेर बहादुर विक, उनका छोरा मोहन र छोरी १३ वर्षीय पवित्राको मृत्यु भएको छ। मामाघर आएका १६ वर्षीय रविन विकको पनि उक्त घरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी शिखर नगरपालिका ११ मा गोपघाटबाट घर जाने क्रममा पहिरोसँगै माथीबाट आएको ढुंगाले लागेर गम्भीर घाइते भएकी ३६ वर्षीय मन्धरा वलायरको मृत्यु भएको छ। सुजन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै पहिरोमा परेर सायल गाउँपालिका ५ गुरेना डमरीका ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुंगेलको मृत्यु भएको छ। सोही ठाउँका सायल गाउँपालिका १ का ७४ वर्षीय विरे रोकायको छत्रेश्वर खोलाले बगाउँदा मृत्यु भएको छ।

बोगटान फुडसिल गाउँपालिका ५ उपल्ला गाउँमा आएको पहिरोमा परेर चन्द्रा नेपालीको मृत्यु भएको छ। यसैगरी बैतडी शिवनाथ गाउँपालिका, ६ वसेडीमा पहिरोले घर बगाउदाँ ३ जनाको मृत्यु भएको छ। १८ वर्षीय पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र ३ वर्षीय सोम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै  

बैतडी सुर्नैया ५ मा घर भत्कदाँ ७१ वर्षीय परुदेवी महराको मृत्यु भएको छ। माथीबाट सोमबर राती आएको पहिरोले घर पुरिदाँ डडेल्धृुरा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको छ भने डडेल्धुरा गन्यापधुरा गाउँपालिका, ३ का ६५ वर्षीय नरपता शाहीको खोलाले बगाएर मृत्यु भएको छ।  बझाङमा पहिरोमा परेर ७३ वर्षीय धनराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी ११ जना घाइते भएका छन्। डोटीमा बिरबहादुर कुन्जेडा, बासुदेवी कुन्जेडा र बिन्दु कुन्जेडा, रमेश लुहार, भीम लुहार, करी डुंगेल घाइते भएका छन् भने डडेल्धुरामा देवकी रावल र ग्रिस रावल घाइते भएका छन्। बैतडीमा सरस्वती बिष्ट र माया बिष्ट घाइते भएकी छन्। बझाङमा पदमा जोशी घाइते भएकी छन्।

बझाङमा पहिराले घर बगाउदाँ वेपत्ता २३ जना अझै फेला परोनन्  

मंगलबर बिहान ५ बजेतिर पहिराले घर पुरिदाँ बेपत्ता भएका बझाङ थलारा गाउँपालिका डिक्लाको सितलका २३ जना अझै फेला परेका छैनन्। पहिरोमा परेर गगने सार्कीका परिवारका १८ जना बेपत्ता भएका छन्।

उनका परिवारका दाजुभाइ, भाइबुहारी, छोराछोरी, नातिनातिना पहिरोमा परेर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा हर्क सार्की, धनगिरी सार्की, सीता सार्की, प्रभा सार्की, भुमिका सार्की, ईश्वरादेवी सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सविना सार्की, सरोज सार्की, सिम्जिवी सार्की रहेको प्रहरीले जनाएको छ।

गगने सार्की बरोजगारीको शिलशिलामा भारतमा रहेका छन् भने उनका माईला छोरा काले सार्की भने सकुशल रहेका छन्। यसैगरी नरबहादुर पार्कीका घरका ५ जना वेपत्ता भएका छन्। बेपत्ता हुनेमा उजली पार्की, किहासु पार्की, आयुुस पार्की, सिमा पार्की र हिमा पार्की रहेका छन्। पहिरोले ७ घर बगाएको प्रहरीले जनाएको छ।

बेपत्ताहरुको उद्धार खोजीका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्धार गर्न सुरक्षाकर्मीको बुधबार घटनास्थलमा पुगेको छ।

यसैगरी कैलालीमा माछा मार्न गएर सम्पर्कविहीन भएका लम्कीचुहा नगरपालिका वडा नं ३ का ६१ वर्षीय खडकबहादुर घर्तिमगर, ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगरलाई जानकी गाउँपालिका ललटपिया टापुबाट बुधवार सकुशल उद्धार गरिएको छ।

आइतबार माछा मार्न गएर सम्पर्कविहीन रहेका उनीहरुलाई वडा सदस्य सहित स्थानिय १० जनाको टोलीले  उद्धार गरेको हो।

प्रकाशित: ३ कार्तिक २०७८ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App