७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय सरकारको पाँच वर्ष: डुङ्गा विस्थापनको मुद्दा जस्ताको तस्तै

कर्मदेवघाटमा डुङ्गा मार्फत नदी पार गर्दै । तस्बिर: योगेश रावल

कैलालीको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीको चुनावी नारा मध्ये डुङ्गा विस्थापन पनि एक हो। उनी पाँच वर्षे कार्यकालको अन्त्यतिर छन्। तर डुङ्गा विस्थापनको मुद्दा भने जस्ताको तस्तै छ।

स्थानीयका अनुसार अहिले पनि कन्द्रा नदीका विभिन्न ठाउँमा डुङ्गा सञ्चालनमा छन्। वडा नं. ५ मिलनपुर र वडा नं. ३ जवलपुर, वडा नं. ५ लालबोझी र वडा नं. १ भजनी, वडा नं. ५ कुटी र वडा नं. १ भजनी, वडा नं. ९ भुरुवा र वडा नं. ४ कुँडीका साथै वडा नं. ५ कौवाखेडा र वडा नं. ३ कुसुमघाटमा अहिले पनि डुङ्गा सञ्चालन भैरहेको स्थानीय गणेश बुढाले जानकारी दिए।

वडा नं. ५ लालबोझी र वडा नं. ३ जोड्ने कर्मदेवघाटमा भने ठेकेदार भीम विकले केही दिन अघि मात्रै काठको अस्थायी पुल निर्माण गरेका छन्। काठको अस्थायी पुल निर्माण भएसँगै कर्मदेवघाटमा डुङ्गा सञ्चालन रोकिएको छ।

काठको अस्थायी पुल हिउँदसम्मका लागि मात्रै हो। बर्षा लागेपछि नदीमा पानीको सतह बढेसँगै फेरि डुङ्गा सञ्चालन हुने ठेकेदार विकले जानकारी दिए। उनले काठको अस्थायी पुल तारे बापत सर्वसाधारणसँग रकम असुल्ने गर्छन् उनले यो अस्थायी काठे पुल डुङ्गाको विकल्पको रुपमा निर्माण गरेका हुन्।

नगरवासीले कन्द्रा नदीमा मात्रै हैन काँडा नदीका केही ठाउँमा समेत डुङ्गाको प्रयोग गर्छन्। उनीहरु नगर कार्यपालिकाको कार्यालयमा सेवा लिन र खरिद बिक्रीका भजनी बजार आउनुपर्ने बाध्यता छ। यहाँका बासिन्दाले यस्तो बाध्यता वर्षौदेखि भोग्दै आएका छन्।

उनीहरुलाई स्थानीय सरकारको स्थापनासँगै वर्षौदेखिको समस्याबाट मुक्त हुने आशा जागेको थियो। यही मुद्दालाई अघि सारेर चुनाव जितेका मेयरबाट नगरवासीले ठूलो अपेक्षा समेत गरेका थिए। स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा समेत वर्षौको समस्या समाधान हुन नसकेको प्रति नगरवासी चिन्तित बनेका छन्।

‘आफ्नै सरकार प्रति ठूलो भरोसा थियो तर कुनै उपलब्धि हुन सकेन’, स्थानीय हरि चौधरीले भने, ‘डुङ्गा विस्थापनको चुनावी नारा फेरि लाग्ने भयो।’

मेयर चौधरी भने डुङ्गा विस्थापनको मुद्दा यही वर्ष भित्र साकार हुने दावी गर्छन्। उनले दुई ठाउँमा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आईसकेको र अन्य दुई ठाउँमा निर्माणका क्रममा रहेको बताए। उनका अनुसार कन्द्रा नदीको कुँडी र पहलमान तथा काँडा नदीको रजवार र पल्टुपुर जोड्ने ठाउँमा निर्माण भएका झोलुङ्गे पुल सञ्चालनमा आईसकेको बताए।

उनले कौवाखेडा र कुसुमघाट तथा मिलनपुर र जवलपुरमा झोलुङ्गे पुल निर्माणको काम भैरहेको जानकारी दिए। ‘बाँकी सबै ठाउँमा यसै वर्षभित्र झोलुङ्गे पुल निर्माण हुन्छन्’, उनले भने, ‘डुङ्गा विस्थापनको मुद्दा साकार हुन्छ।’

हुलाकी राजमार्ग अन्तर्गत कन्द्रा नदीमा पक्की पुल निर्माण भैरहेको छ। सो पुल विगत नौ वर्षदेखि निर्माणकै क्रममा छ। पुल समयमा निर्माण सम्पन्न हुन नसकेका कारण समेत नदीका धेरैजसो ठाउँमा डुङ्गा सञ्चालन भैरहेका छन्।

हुलाकी राजमार्ग अन्तर्गतको सो पुल निर्माण भएसँगै आसपासका क्षेत्रमा सञ्चालनमा रहेका धेरैजसो डुङ्गा विस्थापन हुने विश्वास स्थानीयको छ। तर उनीहरु पुल निर्माणमा भैरहेको ढिलाई प्रति चिन्तित छन्।

प्रकाशित: १ कार्तिक २०७८ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App