९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

दुई जना प्रहरी अधिकृतलाई सर्वोत्कृष्ट पुरस्कार

६६ औं प्रहरी दिवसका अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। प्रहरी दिवसको अवसरमा बुधबार विराटनगरमा प्रदेशभर अपराध अनुसन्धान, सेवा प्रवाहमा उत्कृष्ट कार्य गर्ने विभिन्न दर्जाका प्रहरीलाई सम्मान गरिएको हो।  

सो अवसरमा १ लाख धनराशिको ८ औं ‘साधनादेवी प्रहरी पराक्रम’को पुरस्कार दुई जना प्रहरी अधिकृतले प्राप्त गरेका छन्। ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रहरी निरीक्षक योगराज खतिवडा र १ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का पुरस्कृत भएका हुन्। उनीहरुले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे।भदौमा संखुवासभाको मादीमा एकै परिवारका ६ जना सदस्यको हत्या भएको घटनाको सफल अनुसन्धान गरे वापत दुवै जनालाई पुरस्कृत गरिएको हो।  

त्यस्तै, प्रदेशका विभिन्न ठाउँमा रहेर निष्पक्ष काम, कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई नगद तथा कदरपत्र प्रदान गरिएको थियो। देशभरमा कार्यरत उत्कृष्टमध्ये यस प्रदेशका प्रहरीलाई पुरस्कृत गर्नुका साथै एसइईमा उत्कृष्ट अंक ल्याउने पूर्व तथा बहालवाला प्रहरीका छोराछोरीलाई छात्रवृत्ति, विभिन्न ठाउँमा प्रहरी  भवन बनाउका लागि निःशुल्क जग्गा प्रदान गर्ने दातालाई सम्मान गरिएको थियो।  

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लीलाबल्लभ अधिकारी, प्रदेश प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीलगायतले अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा बोल्दै मुख्यमन्त्री भीमप्रसाद आचार्यले देश र जनताको सेवा तथा सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीलाई श्रद्धाञ्जली दिँदै नागरिकको सुरक्षाका लागि २४ सैं घण्टा सेवा प्रदान गरेकाले सबै नागरिकको मनमा बस्न सफल भएको हुँदा थप संवेदनशील भई काम गर्नुपर्छ।  

प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारी, प्रहरी दिवसका अवसरमा आयोजित विभिन्न खेलकुदका इभेन्टका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो। १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष चारु कोइराला बिसीले अमर प्रहरीका परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिन्।  

प्रकाशित: २० आश्विन २०७८ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App