४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागार बैतडीको जिर्ण भवन क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएका छन्। तस्बिरः नागरिक

जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा बन्दीहरुलाई समस्या भएको छ। २५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ जना कैदीबन्दी राखिएका छन्। क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए।

कैदीबन्दीहरुलाई बसोबासको समस्या भएपछि कारागार परिसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको उनले बताए। उनले भने ‘कैदी बन्दीहरुलाई बसोबासकै समस्या रहेको छ। क्षमता भन्दा बढी कैदी बन्दी हुँदा हामीलाई व्यवस्थापनमा निकै समस्या भएको छ।’ कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन् भने कोठाहरुमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको तिवारीले बताए।

१० जना टेन्टभित्र बसिरहेका छन् भने बाँकीलाई कोठाभित्र बसोबासको व्यवस्था मिलाइएको छ। जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नहुँदा कैदीबन्दीले बेलाबेलामा गुनासोसमेत गर्ने गरेका छन्। विसं २०४० मा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भए पनि कोठा थपिएको छैन। एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ।

पुरानो जिर्ण भवनमा कैदीबदीलाई सास्ती हुने गरेको छ। चिसो मौसममा टेन्टमा राखिएका कैदीलाई समस्या हुने देखिएको छ। पुरानो भवन पनि जीर्ण भईसकेकाले कैदी बन्दीहरुलाई बसोबासका लागि निकै समस्या भएको छ। जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता रही आएको छ। क्षमता भन्दा बढी कैदी बन्दी हुँदा अन्य व्यवस्थापनमा पनि समस्या भएको जेलर तिवारीले बताए।

प्रकाशित: १३ आश्विन २०७८ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App