१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा

इन्द्रजात्राको अन्तिम दिन शुक्रबार भक्तपुरमा पुलुकिसी जात्रा मनाइएको छ। स्थानीयहरु यसलाई बोलीचालीमा पुलुकिसी भनी भन्दछन्। पुलुकिसीको अगाडि बसेर घण्टा बजाइने र त्यसको आवाज ‘तानाङ तानाङ’ आउने भएकाले यहाँं यसलाई पुलुकिसी तानाङ तानाङ भनी बोलीचालीको भाषा प्रयोग गरिन्छ।  

जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हात्ती नगर परिक्रमा गराइएको थियो। बाँसलगायतबाट हात्तीको आकार दिई बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराइएको थियो। बाँसबाट हात्ती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराई जात्रा चलाउने गरिन्छ।

पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एकजना मानिसले अगाडि बसेर घण्टा बजाउने गरिन्छ। घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिंदै पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ। यो क्रममा ठाउँंठाउँं, चोकचोकमा पुलुकिसीलाई ओहोरदोहार गराउने चलन छ। साथै पुलुकिसीसँग हिँडेका मानिसले अगाडि छ्वाली बालेर अगाडि बढ्ने चलन यद्यपि छदैँछ।

यो जात्रा हेर्न नगरभरि ठूलो भीड लागेको थियो। पुलुकिसी हिँडाउने नगरका बाटोभरि यो दिन बाटोभरि भीड लाग्छ। विशेष गरी गल्ली गल्लीभन्दा पनि चोकचोक, जहाँं पुलुकिसीलाई ओहोरदोहोर गरिन्छ, त्यस्ता ठाउँंमा हजारौ दर्शकको भीड लाग्छ। विशेषगरी भक्तपुर दरबार स्क्वायर, टौमढी, दत्तात्रयलगायतका चोकहरुमा यो दिन जात्रा हेर्नेको विशेष भीड लाग्छ।  

जात्रा लाकुलाछेंबाट सुरु भई त्यही पुगेर टुंगिन्छ। यो बीचमा लाकुलाछेंबाट गाईजात्राको क्रममा नगर परिक्रमा गराउने मुख्यमख्य बजार भई पूरै नगर परिक्रमा गराइन्छ। लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछेँ, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गरिन्छ। दरबार स्क्वायरबाट पुनः बालाखु, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दत्तात्रयमा ल्याइन्छ। त्यहाँंबाट पुनः इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइन्छ र लाकुलाछेमै पुगेर जात्रा सम्पन्न हुन्छ।  

पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ। नगर परिक्रमा गराउँंदा सुँडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वास छ तर हिजोआज उच्श्रृंखल युवाहरु त्यही सुँड समातेरै पुलुकिसीसँंगै हिँड्छन्।  

प्रकाशित: ८ आश्विन २०७८ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App