२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सीमानाका बन्द, तस्करी निर्वाध

कोभिड महामारी बढ्दै गएपछि २०७६ चैतमा बन्द भएको नेपाल–भारत सीमानाका अझै खुलेको छैन तर मधेसका जिल्लाहरुमा भने सीमानाकाबाट निर्बाध तस्करी भइरहेको छ। हरेक सीमानाकामा सुरक्षाकर्मी तैनाथ रहे पनि तस्करीको सामान समातिन नछाडेकोले पनि तस्करी भएको पुष्टि हुन्छ।

चाडपर्वहरु नजिकिदै गएपछि भारतबाट नेपाल र नेपालबाट भारततिर हुने तस्करीमा झन् वृद्धि भएको छ। कपडा, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी–राँगा, विस्फोटक पदार्थ पटाका लगायतका विभिन्न सामानहरु भारतबाट तस्करीको माध्यमबाट नेपालमा भित्रिने गरेको पाइएको छ। यसै गरी नेपालबाट सुकुमेल, कालो मरिच, सेतो केराउ, मदिरा रक्सी, छहोरा, डिजेल, पेट्रोल, गिटी–बालुवा तथा काठ लगायतका सामानहरु भारततर्फ तस्करीको माध्यमबाट जाने गरेको पाइएको छ।  

बारा, रौतहट तथा सर्लाहीका नाकाहरु सर्वसाधारणका लागि बन्द रहे पनि नाकाबाटै तस्करहरुले सामान ओसारपसार गरिरहेको स्थानीयको भनाइ छ। वाराको सिम्रौनगढ, कचोर्वा, डुगरीदेवीमाई, पिपरपाती, खजानी, झवानी, अमरपुर, सनुवाही, कवलपुर, अमरपुर, कवही, फुलवरिया, वेल्दारी, मटिअर्वा, बलपुर, निलकण्ठवा र मुसहर्वा नाका भएर खुलेआम तस्करी भइरहेको स्थानीयको भनाइ छ।  

तस्करी नियन्त्रण गर्न नसकेपछि सशस्त्र प्रहरीले बाराको विभिन्न बिओपिबाट इन्स्पेक्टरहरुलाई तानेर अरुलाई जिम्मेवारी दिएको छ। तस्करी नियन्त्रण गर्न नसकेकोमा बाराको बिओपि गोलागंजबाट विष्णु श्रेष्ठलाई तानेर मुकुन्द श्रैष्ठ तथा बिओपि पिपरपातीबाट इन्स्पेक्टर कृष्ण आले मगरलाई तानेर कमल पन्थीलाई पठाइएको विश्वस्त स्रोतको भनाइ छ।

बाराको सिम्रौनगढ नाकाबाट दिन र रात तस्करी भइरहेको स्थानीय बताउँछन्। सिम्रौनगढ नजिक रहेको गोलागंज नाकाको ढाठ नै राति हटाइने गरेको र तस्कारीको सामान लोड गरेका सबारी साधनहरु रातभर आवतजावत गर्ने गरेको स्थानीयको भनाइ छ। सर्वसाधारणलाई साइकल मोटरसाइकलमा दैनिक उपभोग्य वस्तु ल्याउन लैजान नदिने सीमानाका प्रहरीहरुले भने राति ढाठ नै हटाउने गरेकामा स्थानीय आक्रोशित छन्।

रौतहटमा नेपाल प्रहरीको प्रमुखमा नयाँ एसपि आएपछि तस्करी कम भएको देखिएको छ। नयाँ एसपि विनोद घिमिरेभन्दा पहिलेका दुई प्रहरी प्रमुख विवादमा परेर तानिएपछि नयाँ एसपिले तस्करी नियन्त्रणमा पनि चासो देखाएका छन्। घुमुवा नै परिचालन हुने गरेको रौतहटमा एसपि घिमिरे आएपछि सबै घुमुवालाई हटाएका छन्। तर पनि रौतहटको विभिन्न नाकाबाट तस्करी भइरहेको बुझिएको छ। रौतहटको सदरमुकाम गौरस्थित मुख्य भन्सार गौर, वेलविछवा, बंकुल, औरैया, रामपुरखापबाट अझै पनि धेर  थोर तस्करी भइरहेको छ। एक हप्तादेखि रौतहटको खुलेआम तस्करी केही रोकिएको स्थानीयको भनाइ छ।  

तस्करी रोक्न सन्तोषजनक काम नगरेको भन्दै सशस्त्र प्रहरीले रौतहटका विभिन्न बिओपिबाट प्रमुखलाई तानेको छ। रौतहटको गौर भन्सार बिओपिका प्रमुख इन्स्पेक्टर बिमल बानियाको ठाउँमा सुबास केसी, बिओपि रामपुर खापका पंकज सिंहको ठाउँमा देवेन्द्र रोक्का, बंकुलका किरण केसीको ठाउँमा सुदर्शन अर्याल त्यसपचि भरत गौतमलाई पठाइएको छ। सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपि सूर्यसेन ओलीले सन्तोषजनक काम नगर्नेलाई तानेर अर्कोलाई जिम्मेवारी दिने गरेको बताएका छन्। रौतहटको सशस्त्र प्रहरी प्रमुखमा एसपि ओली आएदेखि करिब सात करोडको तस्करीका विभिन्न सामानहरु नियन्त्रणमा लिएर भन्सार चलान गरेका छन्। यसबाट पनि जिल्लामा तस्करी व्यापक मात्रामा चलेको बुझ्न सकिन्छ।  

तस्करीको लागि सर्लाही स्वर्णभूमि बन्न पुगेको छ। नेपाल–भारत जोड्ने सर्लाहीका झन्डै सबै नाकाबाट निर्बाध तस्करी हुने गरेको देखिएको छ। सर्लाहीको बलरा लक्ष्मिपुर, सिमरा फेनहरा, बहादुरपुर, मलंगवाको झिम नदी किनार, त्रिभुवननगर र सग्रामपुर नाकाबाट साँझ परेपछि तस्करी व्यापक मात्रामा मौलाएको स्थानीयको भनाइ छ। दिनभर बन्द रहने ढाठ साँझ परेपछि तस्करीको लागि खुल्ने गरेको स्थानीयहरु बताउँछन्। सुरक्षाकर्मीहरुको साँठगाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुको रहेको छ।  

सर्लाहीको बलराको बलरा नाका भएर रातिको समयमा ५० भन्दा बढी भैसी, १५ देखि २० बटा मोटरसाइकलमा कपडाहरु, चिनी, खाद्यान्न सामग्रीहरु निर्वाध रुपमा आउने गरेको स्थानीय राजाराम सिंहको भनाइ छ। सिमामा लगाइएको ढाँट सर्वसाधारणको लागि भएको तर साँझ परेपछि तस्करहरुको लागि ढाँट हटाएर तस्कारी गराउनमा सुरक्षाकर्मीको साँठगाँठ तस्करसंग रहेको हुँदा कसैले केही गर्न सकिने अवस्था नरहेको सिंहको आरोप छ।  सर्लाहीमा सीमानाकामा बेथितिले हद पार गरिसकेको सिंहको भनाइ छ।  

सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको तर सशस्त्र बलरा लगायत जिल्लाको अन्य नाकामा आएपछि तस्करी झन् मौलाएर गएको स्थानीयको आरोप रहेको छ। सुरक्षाकर्मीको संलग्नतामा व्यापारीहरु मालामाल भइरहेको तर साधारण किसानले धानखेतीको लागि मल ल्याउँदा समातेर भन्सार बुझाउने गरेको कार्यबाट सर्वसाधारण पिल्सिनु परेको सिंहको आरोप छ।

सर्लाहीको फेनहारा नाका भएर मकैया भने व्यक्तिले चिनी, चुलबुल साहले किराना, लखिन्दर रायले कपडा, अरवीन्द यादवले किराना मटर स्याउ, सुरेश यादव कपडा, तनविर पेट्रोलियम पदार्थको तस्करी गर्दै आएको छ भने बलरा नाकाबाट फटन यादवले भैसी, सन्तोष साहले कपडा, नागेन्द्र महतोले गिटी बालुवा ओसार्ने गरेको एक स्थानीयले बताएका छन्। दैनिक रुपमा केही व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा व्यापक तस्करी गरिरहेको सीमा क्षेत्रका बासिन्दाको आरोप रहेको छ।

सर्लाहीकै त्रिभुवननगर नाकामा भन्सार कार्यालय र नेपाल प्रहरीको मिलोमतोमा खुलेआम तस्करी भइरहेको छ। भन्सार कार्यालयका कार्यालय सहयोगी अमरनाथ यादव र स्थानीय प्रहरी चौकीका प्रमुख मनोज यादवको सेटिङमा दैनिक लाखौको तस्करी निर्बाध हुने गरेको छ।

भन्सार कर्मचारी यादव  नाकामा कुर्सीमा बसेर पैसा असुल्छन् भने प्रहरी सहायक निरीक्षक निरीक्षक यादवले तस्करीको सबै तारतम्य मिलाउने गरेका छन्। त्रिभुवन नगर नाकामा सई राख्ने ठाउँमा असई यादवलाई नै जिम्मा दिई तस्करीको वातावरण मिलाउन पठाइएको विश्वस्त स्रोतको भनाइ छ। पहिले घुमुवा रहेका प्रहरी हवलदार सुजित यादवलाई हटाएर असई यादवलाई तस्करीको तारतम्य मिलाउनकै लागि पठाइएको र असई यादवले सबै किसिमको तस्करी आफैले मिलाउने गरेका छन्। त्रिभुवन नगर नाकाका साथै तस्करहरुलाई सजिलो हुने गरी अन्य नाकाबाट पनि सामान पास गराउन असई यादवले ठेक्का नै लिने गरेको कारोबारीहरु बताउँछन्। असई यादवले जिल्लादेपि प्रदेशसम्म सबै तारतम्य मिलाएकाले जिल्लाको जुनसुकै नाकाबाट सामान ओसारपसार गराउने गरेको विश्वस्त स्रोतको दाबी छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपि सन्तोष सिंह राठौरले तस्करीमा प्रहरीको संलग्नतालाई अस्वीकार गर्दै लामो खुल्ला सिमाना भएको तथा ठूलाबडा नेताहरुको जिल्ला भएकोले तस्करी नियन्त्रणमा केही समस्या भएको बताउँछन्। तस्करी नियन्त्रणमा सर्लाही प्रहरी क्रियाशील रहेको बताउँदै एसपि राठौरले लाखौको सामान बरामद गरेको बताउँछन्।

सर्लाहीका विभिन्न बिओपिमा सशस्त्र प्रहरी प्रमुखले सन्तोषजनक काम नगरेपछि तानेर अर्कोलाई पठाउने सशस्त्र प्रहरी बल कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको त्रिभुवननगर बिओपि प्रमुख इन्स्पेक्टर सन्जित सिंहलाई तानेर उत्सव विष्ट, बिओपि फेन्हाराका इन्स्पेक्टर विकास श्रेष्ठलाई तानेर इन्द्रजंग थापालाई पठाइएको छ तर पनि सर्लाहीमा तस्कारी कम नभएको स्थानीयको भनाइ छ।  

प्रकाशित: ५ आश्विन २०७८ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App