मोरङको सुन्दरहरैंचाकी एक युवतीले आफ्नो घरको चार तलाबाट हामफाल्दा मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–९ की १८ वर्षीया रुवी मुखियाको चार तलामाथिबाट हामफाल्दा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
शनिबारराति साढे ८ बजेतिर चार तला घरमाथिबाट हामफाल्दा मुखिया गम्भीर घाइते भएकी थिइन् । तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको र उनको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
मुखियाले छतबाट हामफाल्दा बुवा छतमै सुतेको र भाइ दोस्रो तलमा साथीहरूसँग मोबाइलमा गेम खेलिरहेको प्रहरीले जनाएको छ। एक्कासी आँगनमा ठूलो आवाज आउँदा भाडामा बसेका व्यक्ति र भाइले हेर्दा रुवी लडेको देखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
डिएसपी श्रेष्ठका अनुसार दिदी लडेको देखेर बुवालाई बोलाउन जाँदा बुवा निदाएका रहेछन् भने आमा भरतपुर उपचारका लागि गएकी थिइन् । उनका अनुसार युवतीले आफ्नै घरबाट किन हामफालेकी हुन् भन्ने बारेमा खुल्न बाँकी छ। पोष्टमार्टमपछि शव परिवारका सदस्यले बुझेर लगेको र घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ४ आश्विन २०७८ ०३:४७ सोमबार