२ असार २०८१ आइतबार
image/svg+xml
समाज

सूर्यविनायक मन्दिरको लोपोन्मुख जात्रा सूचारु

काठमाडौ उपत्यकामा रहेका प्रमुख चार गणेशस्थान मध्येको भक्तपुरको सूर्यविनायकस्थित गणेश(इनरे गणेद्यो)को लोपोन्मुख जात्रा सुचारु गरिएको छ। सो मन्दिर व्यवस्थानका लागि गठित सूर्यविनाक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबले जात्रालाई निरन्तरता दिएको हो। स्थानीयहरुको सक्रियतामा गणेश चतुर्थीका दिन परापूर्व कालदेखि मनाउँदै आएको जात्रालाई यो वर्षदेखि सूचारु गरिएको हो।  

‘गणेश चतुर्थीका दिन चल्दै आएको जात्रालाई यो वर्षबाट पुनः जीवन्त बनाएका छौं’, प्रबन्ध समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापामगरले भने। सूर्यविनायक नगरपालिकाको वडा नं. ८ र ६ को सिमानामा अवस्थित पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुई वडाले २/२ लाख बजेट विनियोजन गरेको थियो।

बजेट व्यवस्थापनसँगै परम्परादेखि चल्दै आएको जात्रालाई निरन्तरता दिन सहज भएको स्थानीयहरु बताउँछन्।स्थानीय हरिशरण बस्नेतले जात्रालाई व्यवस्थित रुपले सञ्चालन गर्नका लागि समितिले अगुवाई गरेको जानकारी दिए।

जात्रा अन्तर्गत स्थानीय ढल्चा भजन, दाफा खलः तथा गुठीयारहरुको सहभागितामा सूचारु जात्राअन्तर्गत गणेशका मूर्ति सहितको खट यात्रा गरिएको थियो। मन्दिरबाट सुरु खट यात्राले तीनधारा, पिपलबोट, गुन्चा टोललगायतका स्थान परिक्रमा गरेको थियो। सिन्दुर जात्रा, बाजागाजासहित गरिएको सो जात्राबारे नयाँ पुस्तालाई जानकारी दिन र पर्यटकीय महत्व बोकेको सूर्यविनायकको प्रचारका लागि पनि सो जात्रा गरिएको सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजकुमार जोशीले बताए।

 सो मन्दिरमा काठमाडौँ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलबार  दर्शनका लागि पुग्ने गर्दछन्।

प्रकाशित: २५ भाद्र २०७८ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App