४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भरियाका माध्यमबाट सुन तस्करी

तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन तस्करी भइरहेको छ। सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन। सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन्। कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन्। तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रूपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन्।  

अरू मुलुकबाट पनि छिटफुट मात्रामा अवैध रूपमा आइरहेको भए पनि दुबईबाट आएको सुन बढी बरामद हुने गरेको छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्‍याइएको चार किलो सुन बरामद भयो। विमानस्थलको आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ। प्रहरीका अनुसार सो सुन विदेशबाटै आएको हो। यस प्रकरणमा पक्राउ परेका व्यक्ति भरिया हुन्। विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव लक्ष्मी निरौलाका अनुसार धेरैजसो भरियामात्रै पक्राउ परेका छन्। ‘प्रहरीले पक्राउ गरेको र भन्सार कार्यालयमा आएका मुद्दा हेर्ने हो भने पहिलो व्यक्ति (मुख्य कारोबारी/तस्कर) एकजना पनि पक्राउ परेका छैनन्, पक्राउ पर्नेहरू भरियामात्रै हुन्। पक्राउ परेका भरियालाई पनि कानुनबमोजिम कारबाही गर्नुपर्छ’, निरौलाले भने।

विमानस्थल कार्यालयको अभिलेखअनुसार तस्करीको सुन बोकेर आउनेबाट ५० ग्रामदेखि ११६५ ग्रामसम्म सुन बरामद हुने गरेको छ। विगत ९ महिनामा विमानस्थलबाट करिब १२ केजी सुन बरामद भएको छ। विदेशबाट आउँदा एक सय ग्रामसम्म सुन ल्याउन पाइन्छ। एक सय ग्रामसम्म सुन भन्सार शुल्क नतिरी ल्याउन पाइने भएकाले पनि तस्करले त्यसको फाइदा उठाउने गरेका छन्। उनीहरूले विदेशबाट नेपाल आउनेलाई केही रकम दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन्। विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोला पनि तस्करीको मूल व्यक्ति पक्राउ नपर्ने तर भरियामात्रै समातिएको स्वीकार गर्छन्। ‘सबैभन्दा बढी सुन दुबईबाट नेपाल आएको पाइयो तर मुख्य तस्करभन्दा पनि भरियामात्रै पक्राउ परेका छन्’, उनले भने।  

भन्सार कार्यालयले दिएको विवरणअनुसार साउन २१ गते बिहान साउदी अरबबाट काठमाडौं आएका सिरहाको धनगढीमाई नगरपालिका– ८ का २४ वर्षीय ऋषभ महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ परेका थिए। भन्सार कार्यालय र प्रहरीको संयुक्त पहलमा उनी पक्राउ पर्दा प्रहरीले ८ वटा बाला र २ वटा औंठी गरी ४७४ ग्राम सुन बरामद गरेको थियो। उनको साथबाट बरामद भएको सुन त्यसदिनको बजार मूल्यअनुसार करिब ३७ लाख ३८ हजार ६ सय ७५ रूपैयाँको थियो। त्यस्तै, साउन १२ गते दुबईबाट काठमाडौं आएका गोरखाका पदम परियारको साथबाट १ किलो १६५ ग्राम सुन बरामद भएको थियो। 

हिमालय एयरको उडानबाट आएका उनको सुटकेसको भन्सार जाँच क्रममा एक्सरेले शंकास्पद देखाएको थियो। त्यसपछि त्यहाँका कर्मचारीले प्रहरीको रोहबरमा सुटकेस खोलेर हेर्दा कफी बनाउने मेसिनमा सुन फेलापरेको थियो। तीनवटा पत्र रहेको मेसिनको बीचको भाग सुनको थियो। ‘तस्करले नयाँनयाँ उपाय लगाएर सुन ल्याउने गरेका छन्। कोहीले थर्मसको कभरभित्र, कोहीले प्रेसर कुकर त कोहीले कफी बनाउने मेसिनभित्र राखेर ल्याएको पाइयो’,निरौलाले भने।  

विमानस्थल प्रहरी कार्यालयका अनुसार गत फागुन २ गते काभ्रेपलान्चोकका राजीव लामाले टर्च लाइटभित्र लुकाएर ६०० ग्राम सुन ल्याएका थिए। फ्लाई दुबईको उडानबाट आएका लामाको सुटकेस भन्सार एक्सरेमा जाँच गर्दा टर्च लाइटमा चकलेट आकारमा सुन भेटिएको थियो। वैशाख १३ गते दुबईबाटै आएका धादिङका सन्दीप तामाङले टेबुल फ्यानभित्र सुन फिट गरेर ल्याएका थिए।  

करिब तीन वर्षअघि त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुन हराएपछि सरकारले छानबिन समिति बनाएर अनुसन्धान गरेको थियो। अनुसन्धान गर्दा केही प्रहरी पनि दोषी पाइए। दोषी पाइएका केही प्रहरी अधिकारी अहिले पनि कारागारमा छन्। छानबिन समितिले ७ सय ७२ पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। सो प्रतिवेदनमा विभिन्न समयमा गरी ३८ क्विन्टल सुन विमानस्थलबाट भित्रिएको उल्लेख छ। त्यसयता हवाई मार्गबाट केही मत्थर भएको सुन तस्करी फेरि सुरु भएको छ।  

विगत १० वर्षयताको तथ्याँक हेर्ने हो भने २०७० असारदेखि २०७१ असारसम्म नेपालमा सुन तस्करीको क्रम ह्वात्तै बढेको बरामद सुन परिमाणले देखाउँछ। २०६९/७० मा ६९ किलो सुन बरामद भएकोमा ०७०/७१ मा १४१ किलो बरामद भएको थियो। त्यसयता पनि प्रहरीले सुन बरामद गर्दै सरकारलाई बुझाएको छ। तीन वर्षअघि भित्रिएको तस्करीको ३३ किलो सुनबारे अनुसन्धान गर्न बनेको समितिले विभिन्न समयमा गरी ३८ क्विन्टल सुन तस्करी भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो। चूडामणि शर्मा गोरेको समूहले २०७२ असार साउनयता खेपखेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिले ठहर गरेको थियो। छानबिन प्रतिवेदनअनुसार तस्करले प्रहरी, अध्यागमन, गुप्तचर सबैसँग सेटिङ मिलाएर विदेशबाट सुन ल्याउँछन्प/ठाउँछन्। सेटिङमै विमानस्थलबाट सुन बाहिरिने गरेको छ। 

तर भन्सार कार्यालय प्रमुख निरौला भन्सारमा आएका सबै सामानको जाँच हुने र सिसी टिभीले सबै छर्लंग देखाउने बताउँछन्। भन्सार अधिकारी र एक्सरे मेसिनले शंकास्पद देखाए तुरुन्तै प्रहरीको रोहबरमा जाँच हुने उनी बताउँछन्। ‘पहिला केके हुन्थ्यो त्यो मलाई थाह भएन तर अहिलेको अवस्था भने सबै पारदर्शी रहेको छ’, निरौलाले भने। प्रहरी प्रमुख एसएसपी बाँस्तोलाले पनि शंकास्पद लागे जाँच र पक्राउ गरिने र पार्किङलटमा समेत निगरानी गर्न थालिएको बताए। 

तर शुक्रबार भने त्रिभुवन विमानस्थलबाट कसरी सुन बाहिरिएर नेपालगन्ज पुग्यो भन्ने विषय भने अनुसन्धानकै पाटो रहेको उनले बताए। ‘अहिले यो अनुसन्धानको विषय बनेको छ। एसपीको नेतृत्वमा छानबिन समिति बनेको छ’, उनले भने। उनका अनुसार एसपी नान्तीराज गुरुङको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। विदेशबाट आएको सुन आन्तरिक उडानमार्फत नै नेपालगन्ज पुगेपछि छानबिन समिति बनाउनुपरेको हो। उनका अनुसार पुसयतामात्रै विदेशबाट नेपाल आउँदा अवैध रूपमा सुन ल्याएका ३७ जनालाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ। त्यसमध्ये दुई महलिा पनि छन्।

भन्सार ऐनमा १० लाख रूपैयाँसम्मको सुन ल्याउनेलाई थुनामा नराखी बिगोबराबरको धरौटी बुझाएर छाड्ने व्यवस्था छ। ऐनअनुसार जति मूल्यबराबरको सामान बरामद हुन्छ, त्यति नै रकम जरिवाना हुन्छ। १० लाखदेखि २५ लाख रूपैयाँसम्म भन्सार छली गर्नेलाई जरिवाना र बढीमा एक महिना कैद सजाय हुने व्यवस्था छ। २५ लाखदेखि ५० लाख रूपैयाँसम्म भन्सार छल्नेलाई ३ महिनासम्म कैद र जरिवाना हुन्छ। ५० लाखमाथि एक करोड रूपैयाँसम्मको भन्सार छल्नेलाई भन्सार कार्यालयले एक वर्षसम्म कैद गर्न सक्ने व्यवस्था छ। ‘उता (खाडीलगायत मुलुक) बाट आउनेलाई तस्करले दुई चार हजार रूपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन्। उताबाट ल्याउनेलाई सुन पठाउने मानिस र यता बुझ्ने मानिसबारे पनि थाहा हुँदैन। उताबाट पठाउने मानिस र यता बुझ्ने मानिस पक्राउ नपरेपछि ल्याउने नै कारबाहीको भागीदार हुन्छन्’, भन्सार कार्यालयका प्रमुख निरौलाले भने।

प्रकाशित: २० भाद्र २०७८ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App