६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कृशला हत्याबारे अनुगमन गर्न थारु आयोग टोली उदयपुरमा

जंगलमा हत्या गरी गाडिएको अवस्थामा भेटिएकी मृतक कृशलाको फाईल तस्बिर ।

यहाँकी किशोरी कृशला चौधरीको हत्याबारे अनुगमन गर्न थारु आयोगको टोली मंगलबार उदयपुर आएको छ। गत साउन १३ गते हत्या गरेर जंगलबीच रुखको टोड्कामुनि फालेको अवस्थामा भेटिएको त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षीया कृशलाको हत्या कसरी भयो भन्ने विषयमा बुझ्न आयोग टोली उदयपुर आएको हो।  

हत्या भएको सातादिनपछि १९ गते भेटिएको शवबारे भईरहेको अनुसन्धान, पक्राउमाथिको कारबाही प्रक्रिया र पीडित परिवारको अवस्थाबारे बुझ्न आयोग टोली उदयपुर आएको हो। १३ गते घरबाट हिडेकी कृशलाको सडिसकेको शव सोही वडाको राजदेवी सामुदायिक वन उपभोक्ता समूहको रातमाटे खोलामा १९ गते बेवारिसे अवस्थामा फेला परेको थियो। उनको शव घाँस दाउरा गर्न गएका स्थानीयले दुर्गन्ध पछ्याउँदै जाँदा सडिसकेको अवस्थमा भेटेर प्रहरीलाई खवर गरेका थिए।  

प्रहरीले उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको बेवारिसे शवको बायाँ हातको घडी, घाँटीमा लगाएको बुटी र लुगाको टुक्रा हेरेर २० गते बाबु प्रेमकुमार चौधरीले शव आफ्नी छोरी कृशलाको भएको पहिचान गरेका थिए। शव भेटेको सातादिन बितिसक्दासम्म अपराधी पत्ता नलगाएको भन्दै प्रहरी प्रशासनमाथि अधिकारकर्मी, विद्यार्थी, युवा, र राजनीतिक दलनिकट महिला संस्थाहरुले चौतर्फी दबाब दिएको कुरा सञ्चारमाध्याममा आएपछि आयोगको ध्यानाकर्षण भएर टोली अनुगमन गर्न आएको सदस्य भोलाराम चौधरीले बताए।  

सदस्य चौधरीले अहिले हत्या आरोपमा प्रहरीले २ युवामाथि दोस्रोचोटी अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको जानकारीमा आएको बताए। हत्यारा पत्ता लागेको भनिए पनि पछिल्लो अवस्थाबारे बुझ्न आफूहरु घट्नास्थल आएको बताए। टोलीले घट्नास्थल, मृतकका बाबुआमा, आफन्त, छिमेकीसँग मंगलबारै छुट्टाछुटै भेटर अन्तरक्रिया गरेको छ। त्यसैगरी प्रशासन, प्रहरी र नागरिक अगुवा, प्रदेश सांसद सुनिताकुमारी चौधरी, त्रियुगा नगरपालिका १३ नं. वडाध्यक्ष पशुपति चौधरी, थारु पत्रकार संघ उदयपुरका अध्यक्ष सुखीलाल चौधरीलगायतसँग पनि भेटेर छलफल गरेको जनाएको छ।    

आयोगका अर्का सदस्य शान्तिकुमारी चौधरीले घट्नाबारे अझै सत्यतथ्यबारे बुझ्न तथा पीडित पक्षले न्याय पाउने सवालमा कुनै कमीकमजोरी हुन नदिन अनुगमन टोली घट्नास्थल आएको बताईन्। कृशलाको हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाईसकेको भए पनि अरु घट्नामा संलग्नहरु अरु पनि हुनसक्ने हुनाले वास्तविक दोषी कोही अरु पनि भए पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्ने आयोगको धारणा सुनाईन्।

प्रहरीले कृशला हत्यामा संलग्न भएको आरोपमा सप्तरीको सुरुङ्गा नगरपालिका १ का उचितलाल सदा र बिसे सदालाई सातादिनअघि नै पक्राउ गरेर पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ। उनीहरुमाथि दोस्रो चोटी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढिरहेको प्रहरी कार्यालयले जनाएको सदस्य चौधरीले बताईन्।  

कृशला हत्या प्रकरणमा सत्यतथ्य पत्ता लगाउन पत्रकार, अधिकारकर्मी, स्थानीयवासी सबैले साथ दिन पनि आयोगका सदस्य चौधरीद्वयले अनुरोध गरेका छन्। घट्ना उदयपुरको भएकाले यहीका नागरिक, प्रहरी, पत्रकार, अधिकारकर्मी र स्थानीयलाई वास्तविकताबारे बढी थाहा हुने भन्दै चौधरीद्वयले यथार्थ कुरा पत्ता लगाउन उदयपुरकै सहयोग चाहिनेमा जोड दिएका छन्। उनीहरुले कृशलाको हत्या निर्मला पन्तकै अर्को श्रृङ्खला हुनसक्ने अनुमान पनि गरिएको बताएका छ्न्।  

कृशलाको बलात्कारपछि हत्या भएको अनुमान गरिए पनि प्रहरीले यसबारे केही बोलेको छैन। आयोगको टोलीले बलात्कार भए नभएको भन्ने कुनै कुरा नखुलेको, हत्यारामा अरु पनि संलग्न भए नभएको विषय अनुसन्धानपछि मात्र खुल्ने प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। जसरी भए पनि कृशलाको हत्या निर्मम तरिकाले भएको र उनलाई न्याय मिल्नुपर्ने कुरामा आयोग प्रतिबद्ध भएको उनीहरुले जनाएका छन्।

प्रकाशित: ८ भाद्र २०७८ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App