coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्थानीय तहको बेथिति: निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे

गनापुरस्थित पिप्रहवा चोकदेखि एक किलोमिटर पश्चिममा भत्किएको कालोपत्रे।तस्बिर: अर्जुन/नागरिक

बाँकेको गनापुरस्थित पिप्रहवा चोकदेखि खजुराको नहर चोकसम्म जोड्ने ‘बाइपास’ सडकको कालोपत्रे एक महिनामै भत्किएको छ। जानकी गाउँपालिका कार्यालयले उक्त सडक खण्डमा कुल ७.२ किलोमिटर कालोपत्रे गर्नुपर्ने भए पनि गत असारमा करिब दुई किमिबराबरको क्षेत्रमा कालोपत्रे निर्माण गरेको थियो।  

ठेकेदार कम्पनी ‘अमर÷सिस्ने जेभी’ ले निर्माण गर्ने जिम्मा लिएको उक्त सडक एक महिनामै भत्किएको स्थानीयले बताए। एक त साँघुरो सडक, त्यसमा पनि कमसल निर्माण सामग्री भएकाले कालोपत्रे सडक एक महिनामै भत्किएको स्थानीय विजयसिंह चौहानले सुनाए। ‘सडक कालोपत्रे हुँदा खुसी भएका थियौं, तर बाटो कत्ति पनि राम्रो भएन, यति चाँडै भत्किएपछि यसको गुणस्तरमाथि अहिले प्रश्न उठिरहेको छ,’ उनले भने, ‘कालोपत्रे त केही दिन देखाउनलाई मात्रै बनेको रहेछ, एक महिना पनि राम्ररी टिकेन।’

गाउँपालिकाले उक्त सडकलाई ठूलो योजनाको सूचीमा राखेको छ। गाउँपालिकाले पहिलो चरणमा गत वर्ष उक्त सडकमा माटो पटान, ग्राभेल, नाला निर्माण, कल्भर्ट निर्माणलगायत काम गर्न करिब सवा ८ करोड खर्च गरेको थियो। दोस्रो चरणमा यस पटक कालोपत्रे मात्रै गर्न ठेकेदारसँग मुअकर (भ्याट) र पिएससहित ४ करोड ६१ लाख ५१ हजार ५ सय ७९ रुपैयाँ २५ पैसामा ठेक्का सम्झौता गरिएको छ। २०७७ माघ २५ गते भएको सम्झौताको म्याद २०७८ फागुन १ गते सकिनेछ।

करिब १०/१२ ठाउँमा सडक भत्किएको, भास्सिएको र चर्किएको स्थानीय बताउँछन्। साविक गनापुर गाविसका पूर्वअध्यक्ष दुखिराम लोनियाले पिप्रहवादेखि खजुरा जोड्ने बाइपास सडक निर्माणको काम सम्पन्न नहुँदै ठाउँ–ठाउँमा भत्किएको बताए। ‘गाउँपालिकाले सडक कालोपत्रे गरेको मात्रै देखाइदिएको रहेछ,’ उनले भने, ‘सडक यति छिट्टै जीर्ण भइसक्यो, यसमा कति पैसा लगाएका छन्, कति बजेट आएको छ, कुन बजेट हो, त्यो पनि जनतालाई थाहा छैन।’ कमसल निर्माणका कारण यति चाँडै कालोपत्रे भत्किएको पुर्वगाविस अध्यक्ष लोनियाले जिकिर गरे। उनले थपे, ‘यसमा हाम्रो घोर भत्र्सना छ, यसको दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, चाहे ठेकेदार होस्, चाहे जोकोही होस्, चाहे जनप्रतिनिधि हुन्।’  

जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवले भने कालोपत्रे सडक निर्माणमा लापरबाही हुन नदिन समय समयमा अनुगमन गर्दै आएको बताएका छन्। ‘कालोपत्रेको काम राम्रो तरिकाले अगाडि बढिरहेको छ, हामी अनुगमन पनि गरिरहेका हुन्छौं, कतै त्यस्तो समस्या छैन,’ उनले भने। उक्त सडकको कालोपत्रे सम्पन्न भएपछि पिप्रहवा चोकदेखि खजुरा नहर चोकसम्म सहज रुपले आवत–जावत गर्न सकिने बताए।  

सिक्टा सिचाइँ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ। नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको उक्त सडक भएर दैनिक सयौंको संख्यामा मालवाहक टिपर, ट्रक तथा ट्याक्टर गुड्छन्। सोही सडकको आसपासमा साना, ठुला उद्योग सञ्चालनमा छन्। सडकमा दैनिक गुड्ने मालवाहक सवारीको क्षमता अनुसार कालोपत्रे नगरेर कमिसनको चक्करमा कमसल काम गरिँदा सडकको अवस्था नाजुक बनेको कांग्रेस नेता छब्बन खाँले ठोकुवा गरे।  

‘कति भ्रष्टाचार भएको छ भन्ने कुरा यसैबाट पुष्टि हुन्छ, यो रोडमा एक इन्ची मात्रै कालोपत्रे भएको छ,’ उनले भने, ‘यो सडकको गुणस्तरको विषयमा हामीले पटक–पटक प्रश्न उठायौं, तीन÷चार पटक त सूचना माग गर्न पनि गाउँपालिका गयौं, तर हामीलाई सूचना नै दिएनन्।’ उक्त सडक निर्माणबारे अधिकांश जनता अनविज्ञ रहेको र यसमा गाउँपालिकाको आफ्नै मनोमानी चलेको नेता खाँले सुनाए। ‘गाउँपालिकाको आफ्नै मनोमानी चलेको छ, प्रत्येक गाउँमा गएर हेर्नुस्, विकास भएको छैन, बरु आफ्ना मान्छेलाई मात्र उपभोक्ता समितिमा राखेका छन्, अनुदान पनि आफ्नै कार्यकर्तालाई दिएका छन्,’ उनले भने। कालोपत्रे सडकमा भएको अनियमितता एउटा उदाहरण मात्र भएको नेता खाँले बताए।

उक्त सडकमा ठेकेदारले करिब २ किलोमिटर जति कालोपत्रेको काम गरे पनि अझै ५ किमि बराबर क्षेत्र बाँकी रहेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख (इन्जिनियर) प्रजेश आलेले जानकारी दिए। ‘यो सडकमा ७.२ किमि कालोपत्रे बन्ने हो, अहिलेसम्म दुई किलोमिटर जति सम्पन्न भएको छ,’ उनले भने, ‘बर्खा भएर मात्र बीचमा रोकिएको हो, अब फेरि काम अगाडि बढ्छ।’ सडक कालोपत्रे गरिसकेपछि एक÷दुई ठाउँमा मात्र समस्या आएको इन्जिनियर आलेले सुनाए। 

‘एक त बाटो साघुँरो छ, त्यसमाथि गाडी धेरै चल्छन्, त्यहाँ एक/दुई ठाउँमा मात्र समस्या आएको छ, बाँकी त राम्रै छ,’ उनले भने। इन्जिनियर आलेका अनुसार सम्झौताअनुसार ठेकेदार कम्पनीले चार मिटर चौडाइको सडकमा २ इन्च अर्थात् ५ सेन्टिमिटर गहिराइमा कालोपत्रे गर्नुपर्छ। कालोपत्रेको काम ठेकेदारले सम्झौता अनुसार नै गरेको उनको जिकिर छ। ठेकेदारले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्ने आलेले बताए।  

तर, यहाँका स्थानीयले ठेकेदारले सम्झौता अनुसार कामै नगरेको जिकिर गरेका छन्। कर्मचारी, जनप्रतिनिधि र ठेकेदारको मिलेमतो बिना सडकको कालोपत्रे यति चाँडो भत्किन नसक्ने उनीहरूको तर्क छ। सडक निर्माणमा भ्रष्टाचार भएको स्थानीयको आरोप छ। गनापुरका स्थानीय जगदीशप्रसाद हरिजनले कालोपत्रे गर्ने क्रममै चरम लापरबाही भएको र अहिले पुष्टि भएको बताए। ‘पहिले गरेको लापरबाहीको प्रमाण अहिले देखिएकै छ, धेरै ठाउँमा रोड भास्सिएको र फुटेको अवस्था छ,’ उनले भने, ‘यो धेरै गाडी चल्ने व्यस्त सडक हो, यसको कालोपत्रे बलियो नबनाउँदा टिक्दैन भन्ने थाहा पाउँदा पाउँदै पनि कमिसनको चक्करमा कमसल काम गरियो, मिलेमतो बिना यस्तो काम हुनै सक्दैन।’

प्रकाशित: ६ भाद्र २०७८ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App