१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सम्पदा र संस्कृति संरक्षण महानगरको प्राथमिकता

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण नगर्नेले अबको चुनावमा जित्न नसक्ने बताएका छन्। काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सकेमात्रै यो नगरको अस्तित्व कायम रहने विचार पनि उनले राखे।  

नेपाल भाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकामा आफूहरू निर्वाचित भएर आइसकेपछि यहाँको संस्कृति, सम्पदा र भाषा संरक्षणमा धेरै लगानी गरेको बताए। उनले भने, ‘कुमारी संस्कृति अहिले विश्वमै परिचित नेपालको संस्कृति हो। त्यसैले यो संस्कृतिमा कुनै पनि प्रकारको समस्या नआओस् भनेर हामीले वर्तमान जीवित देवी कुमारीका लागि मासिक ५० हजार, जीवित देवता गणेश र भैरवका लागि मासिक ३०–३० हजार रूपैयाँ विशेष भत्ताको व्यवस्था गरेका छौं। त्यस्तै भूतपूर्व कुमारीका लागि मासिक १५ हजार र गणेश तथा भैरवका लागि मासिक १२–१२ हजार रूपैयाँँ भत्ता दिने व्यवस्था गरेका छौं। कुमारीको हेरचाह गर्ने चिताइदार परिवारका लागि पनि मासिक ५० हजार रूपैयाँ दिने गरेका छौं।’

काठमाडौं महानगरपालिकाले हालै कक्षा १ देखि ८ सम्म सुरु गरेको नेपाल भाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पठाउन सुरु गरेको छ। पछि आउने जनप्रतिनिधिहरूले यस पाठ्यक्रममा नयाँनयाँ विषयवस्तु थप्दै लाने विश्वास व्यक्त गर्दै शाक्यले भने, ‘जसले त्यसो गर्छ, अबको चुनाव उसैले जित्छ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको संस्कृति नै विश्वमा नेपालको संस्कृति भनेर परिचित रहेको र यो संस्कृतिलाई काठमाडौंका नेवार समुदायले बचाउँदै आएका कारणले नेवार समुदायको भाषा, संस्कार, संस्कृतिको संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताइन्।  

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले अहिले त्रिविले नेपालको पहिचान स्थापित गर्ने भाषा, कला, संस्कृति, सम्पदासम्बन्धी विषयको अध्ययनलाई पनि प्राथमिकतामा राखेको बताए। उनले यो क्षेत्रमा काठमाडौं महानगरपालिकाले गर्दै आएका कार्य अत्यन्त प्रशंसनीय रहेको पनि बताए।

नेपाल भाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण कुँवरले पनि धारणा राखेका थिए।

कार्यक्रममा नेपाल भाषामा स्नातकोत्तर विषयको पठनपाठन सुरु भएको ४१ वर्ष पुगेको उपलक्ष्यमा नेपाल भाषाका महाकवि सिद्धिादास महाजुका सम्पूर्ण कृतिहरूको संकलन ‘सिद्धिमाः’ लगायत विभिन्न शोधग्रन्थको पनि सामूहिक विमोचन गरिएयो। सोही कार्यक्रममा नेपाल भाषा केन्द्रीय विभागमा संग्रहित करिब ३० हजार पुस्तकलाई डिजिटाइज गरी ई–पुस्तकालयमा रूपान्तरण गर्न काठमाडौं महानगरपालिकाले ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिइएको थियो।

प्रकाशित: ५ भाद्र २०७८ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App