बिहानैदेखि गाउँमा अलग रौनक थियो। अलिबेरमा बाजा बज्न थाल्यो। बिस्तारै स्थानीयहरु जम्मा हुदै गए। एकथरी बाजा बजाउन व्यस्त थिए भने अर्को थरिले हातमा फुल र माला लिएर कसैको प्रतिक्षामा थिए। पूर्वी रोल्पाको दुर्गम गाउँ जेलवाङमा अलग रौनक थियो। २४ वर्ष अघि ज्यान मारेको झुटा मुद्दामा भारतको अदालतबाट आजिबन काराबासको सजाय पाएका नरेन्द्र रोका मगर गाउँ आउँदै थिए।
वैसाख १६ गते दाङ हुदै रोल्पा पुगेका नरेन्द्रको परिवारलाई गाउँलेले गाउँ भन्दा तल रहको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनको घरमा राखे। ‘घर जान दिएनन्। भोली गाउँमा स्वागत गर्ने तयारी छ भन्दै तलै बस्न भन्नु भो।’ नरेन्द्रकि छोरी शिलाले भनिन् ‘अर्को दिन मात्र माथि गाउँमा गयौँ। गाउँभरिका सबै जम्मा भएर बाजा गाजा, फुल मालाले स्वागत गर्नु भो।’ गाउँलेले स्वतस्फुर्त रुपमा नरेन्द्रलाई स्वागत र अभिनन्दन गरेका थिए।
२०५४ सालमा माओवादी द्वन्द्वले रोल्पाका गाउँहरु आक्रान्त थिए। त्यहि बेला नरेन्द्रको छाती दुख्न थाल्यो। गाउँमा रहेको उपस्वाथ्य चौकिको उपचारले काम गरेन। छिमेकी आफन्तको सल्लाह सहयोगमा उनि भारतको सिमला पुगे। १९ जनवरी १९९८ मा बिरामीले थलिएका नरेन्द्र घाम तापेर सुतिरहेका थिए। तर होस आउँदा उनि प्रहरीको घेरा भित्र अस्पतालको शय्यामा थिए। उनको अगाडि पट्टीको एउटा दाँत झरेको थियो। टाउको भरी १६ टाका लगाइएको थियो।
उनि सुतेको बेलामा उनकी काकी कमलादेवी भनिने दुण्ठी रोकालाई कसैले मारेको रैछ भने सुतेका नरेन्द्रलाई मरणाशन्न हुनेगरि कसैले पीटेको कारण उनि बेहोस भएछन्। १९ जनवरीमा अस्पताल भर्ना भएका उनि २७ जनवरीमा डिस्चार्ज भएर पुलिस कस्टडीमा पुर्याईए। त्यसपछि उनलाई उनलाई ज्यान मारेको अभियोगमा सिमलाको कैठू सब जेल चलान गरियो।
१ अगस्त १९९८ मा सिमला अदालतले हत्यारा साबित गर्दै नरेन्द्रलाई आजीबन काराबासको सजाय सुनायो। ८ सेप्टेम्बर २००० मा उनलाई हाई कोर्टले पनि जिल्ला कै सजाय सदर गर्यो। ११ मार्च २००२ मा सुप्रिम कोर्टले पनि पुरानै फैसला सरद गरेपछि नरेन्द्रलाई सिमलाको काण्डा जेल पुर्याईयो। २०१२ मा जेल जीबनको १४ वर्ष पुरा भए पछि गरिएको माफी मिनाह असफल भयो तर १३ अप्रिल २०२१ मा सुप्रिम कोर्टमा गरिएको विशेष अपिलका आधारमा राजकिय आदेशमा उनी २४ वर्ष पछि नाहानबाट जेल मुक्त भए।
उपराष्ट्रपति नन्द बहादुर पुनका प्रमुख स्वकीय सचिव शुकबहादुर रोकामार्फत नरेन्द्र जेल मुक्त भएको खबर पाए पछि श्रीमती ढुंगी रोका केहिबेर अवाक बनिन्। एकदुई पटक भारतको जेलमा श्रीमान भेट्न पुगेकी ढुंगी रोकाका लागि जीवनकै सुखद दिन बन्यो। आफू एक वर्षको हुँदा बुवा देखेकी छोरी शिला रोका अहिले २५ वर्ष पुगिन्। बुवा हुनुहुन्छ भन्ने सुनेकीउनलाई बुवाको माया थाहै थिएन। ‘बाबा कस्तो हुनुहन्छ भन्ने खुलदुली लागेको थियो। सुकबहादुर अंकलले फोन गरे पछि बुवा छुटेको थाहा भयो। हो कि हैन भन्ने भो।’ शिला भन्छिन ‘खुसीले आँशु आयो। बुवा संग २४ वर्ष पछि पहिलो भेट वैसाख ४ गते सुनौलीमा भएको हो।’
‘मम्मी र छिमेकीसंग सुनौली गएका थियौं। त्यहाँ भेट हुँदा बुवा मम्मी दुवै भाबुक हुनु भयो। गाउँमा कोरोना ल्यायो होला भन्छन् भनेर दाङ घोराही १५ दिन बसेर गाउँ आएका हौं।’ शिलाका अनुसार गाउँमा नरेन्द्रलाई बाजा बजाएर स्वागत गरियो। घर आए पछि स्वागतको अर्को दिन परिवारले रांगा र खसी काटेर गाउँभरिकालाई भोज खुवाएका थिए।
छोरा संगको भेट
एकदुई पटक जेलमा भेट्न आएकी श्रीमती ढुंगीसँग फोनमा कहिले कसो कुरा गर्ने मौका मिले पनि छोरा छोरी संग सम्पर्क थिएन। लामो समय जेल बसेका उनले मातृभाषा समेत बिर्सेका थिए। ढुंगीलाई पनि खाम बाहेक अर्को भाषा आउँदैन थियो। एकदिन जेलमा आएका एक युवाले ढोक गरे। ति युवक चार वर्षको हुँदा घरमा छुटेका उनका छोरा थिए। उनि भारतीय सेनामा भर्ती भएर बाबुलाई भेट्न जेल पुगेका थिए।
स्थानीय स्वास्थ्य चौकिमा अनमि पदमा जागिर गर्ने बुहारी प्रेमकुमारी बुढाका अनुसार नरेन्द्र घरमा अलमलाएर बस्छन्। ‘खाना पकाउनु हुन्छ। एकोहोरो जस्तो हुनुभाछ। खाम, हिन्दी र नेपाली मिसाएर बोल्नु हुन्छ।’ लामो समय जेलको अध्याँरोमा थुनिएका नरेन्द्रलाई कहिले कसाे खुला आकाश मुनि पनि उकुसमुकुस हुने गरेको बताउँछन्। गतिलोसंग नेपाली वा खाम समेत बोल्न नजान्ने उनलाई गाउँलेहरुले ईमानदार र सोझो व्यक्तिकारुपमा चिन्ने गरेका छन्।
अनाहकमा बिना कारण २४ वर्षको उर्जाशिल उमेर बिदेशी जेलमा बिताएका ५० वर्षीय नरेन्द्रले बाँकी जीवन के गरेर बिताउने अझै निर्णय लिन सकेका छैनन्। उनि जस्ता कति नेपाली बिना कसुर आज पनि भारत र अन्य देशका जेलहरुमा कैद छन् भन्ने आकँडा राख्न नसकेको राज्य जनता प्रतिको उत्तरदायित्व बहनमा चासो नदेखाएको तथ्य यो घटनाले पुष्टि गर्दछ।
प्रकाशित: २ भाद्र २०७८ ०४:३५ बुधबार