७ वैशाख २०८१ शुक्रबार
समाज

प्रतिष्ठित खेलाडीको हत्या आरोपित सामान्य तारेखमा रिहा

प्रतिष्ठित खेलाडी उपेन्द्र दास बैरागीलाई गोली हानी हत्या गरिएको दश वर्षपछि पक्राउ परेका हत्या आरोपित व्यक्तिलाई रौतहट जिल्ला अदालतले सामान्य तारेखमा रिहा गरेको छ । रौतहट जिल्ला अदालतको १ नम्बर इजलाशका न्यायाधीश काजीबहादुर राईको इजलाशले शुक्रबार सामान्य तारेखमा छाड्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०६८ असार २३ मा सदरमुकाम गौरमै गोली हानी हत्या गरिएका प्रतिष्ठित खेलाडी बैरागीको हत्यामा आरोपित सोनफी पासवानलाई साधारण तारेखमा छाड्ने आदेश अदालतले दिएको हो ।

सन् १९९९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुद साफमा कुस्तीतर्फ कास्य पदक जितेका उपेन्द्र दास वैरागीलाई प्रधानमन्त्रीसहित विभिन्न संघसंस्थाले सम्मानित गरेका थिए । अन्तर्राष्ट्रियस्तरका खेलाडी बैरागीलाई गोली हानी हत्या गरिएपछि चारैतिरबाट विरोध गरिएको थियो ।

हत्यामा संलग्न रहेको भन्दै बैरागीको परिवारले हजरासमेत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । खेलाडी बैरागीको हत्या भएको समयदेखि नै फरार रहेका आरोपित हजरालाई रौतहट प्रहरीले बुधबार सदरमुकाम गौरबाट पक्राउ गरेको थियो । दश वर्ष लगाएर पक्राउ गरेको हत्या आरोपीलाई जिल्ला अदालतले दुई दिनमै साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

पक्राउ परेका आरोपितलाई जिल्ला अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएपछि पीडित परिवारले दुखेसो पोखेको छ । निकै लामो समयसम्म न्यायको लागि आफूहरु पर्खेको भए पनि घटनामा संलग्न रहेको आरोपितलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिँदा चित्त नबुझेको परिवारजनको भनाइ छ ।

प्रकाशित: २९ श्रावण २०७८ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App