१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नमूना संसदमा उठ्यो जयसिंह धामीको मुद्दा

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीका युवाले सञ्चालन गरेको नमूना युवा संसद । तस्बिरः बिरा/नागरिक

दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्दा महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य छानबिनको लागि युवा सांसदले नमूना संसदमा सरकारसँग माग गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीका युवाहरुले नमूना युवा संसद अधिवेशनमा तुइन घटनाको सत्यतथ्य छानबिनको माग गरेका हुन्। 

प्रतिपक्ष दलका नेताको रुपमा बोल्दै दिनेशप्रसाद जोशीले भने, ‘नेपालको अतिक्रमण भूमि लिम्पियाधुरा, लिपुलेक नक्सामा कहिले आउँछ हामीले हाम्रो भूमि भनेर कहिले भन्न पाउँछौं सरकार।’ सांसदहरुले कोरोना खोप, युवाका समस्याबारे नमूना युवा संसदमा प्रश्न तेर्स्याए।

बैतडीको गोठालापानीस्थिति समुराई होटलको हलमा झट्ट हेर्दा अनौठो लाग्ने नयाँ बानेश्वरको संसद भवनजस्तै एकाएक रोमान्चित दृश्य देखियो। जहाँ युवा सांसदहरूले संसदको अभ्यास गरेका थिए।

सभामुखको दायाँतिर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए। संसदहलमा जब बैठक सुचारु भएको जनाउ घण्टी बज्छ। हल बाहिर भएका माननीयज्यूहरुको पनि हलभित्र प्रवेश हन्छ। लगत्तै हलमा सांसद, प्रधानमन्त्री, मन्त्री, मर्यादापालक, दर्शकदीर्घामा रहेका सबै एकैसाथ उभिन्छ्न्। सँगै राष्ट्रिय धुन पनि बज्छ। सभामुखले संसदको क्रमशः शून्य र विशेष समय सुरू भएको जानकारी गराएपछि सांसदहरुलाई बोल्न एक मिनेट र तीन मिनेटको समय दिन्छ।

सांसदहरुले देशको समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, रोजगारी,युवा नीति निर्माण, सामाजिक विकृति र विसंगति, लागूपदार्थ दुर्व्यसनी, युवा सीप रोजगार, युवामा सूचना प्रविधिको पहुँच, स्वास्थ्य समस्या लैंङ्गिक विभेद, विद्यार्थीको सेवा सुविधा, युवा स्वरोजगार कार्यक्रम प्रजनन स्वास्थ्यलगायतका क्षेत्रमा सरकारको काम आफ्नो धारणा तथा प्रश्नहरु राखे। प्रधानमन्त्री र मन्त्रीहरुले सम्बन्धित सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन थाले। 

संसद बैठकजस्तै देखिने यो दृश्य अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडी सदरमुकाममा आयोजना गरेको नमूना युवा संसद अभ्यास तथा प्रस्तुतीकरण कार्यक्रमको हो। राष्ट्रिय युवा परिषद नेपाल, युएनएफपिए, रेडक्रस, फाया नेपाल लगायत संस्थाको सहयोगमा नमूना युवा संसदको अभ्यास गरिएको हो।  

सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने, सत्ता पक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिनेलगायतका यावत कुराहरु सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन्। तन्नेरीहरुलाई संसदीय प्रक्रियामार्फत राजकीय सत्ता सञ्चालनको अभ्यास गराइएको सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न यस्ता अभ्यास आवस्यक रहेको बताए।

स्थानीय तहदेखि केन्द्रसम्म युवाको नेतृत्व आवश्यक भएकाले भोलिका दिनमा भावी नेतृत्व गर्नसक्ने पुस्ता तयार गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले बताए। युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेकाले युवालाई अग्रसर गराउँदै संसदलाई सुझाव दिन सक्ने युवा तयार पर्नाको लागि यस्ता कार्यक्रम नियमति हुनु पर्ने राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोश जोशीले बताए। 

नमूना युवा संसदले साच्चिकै संसदकै झझल्को दिएकाले युवाहरु नेतृत्वको लागि तयार रहेको उनले जानकारी दिए। युवा अवस्थामा यस्तो खाले तालिम प्रयोगात्मक हुँदा युवालाई देशको नीति निर्माणमा समेत सहज भूमिका खेल्न सक्ने विश्वास उनले गरे। 

प्रकाशित: २८ श्रावण २०७८ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App